राजनीति

प्रधानमन्त्री ओली लण्डन पुगे

प्रधानमन्त्री ओली लण्डन पुगे

लण्डन ।  प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मेको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त अधिराज्यको औपचारिक भ्रमणका क्रममा राजधानी लण्डन आइपुगेका छन् ।     
     
स्वीट्जरल्याण्डको जेनेभाबाट सोमबार राति लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा प्रधानमन्त्री ओलीलाई बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यान्केस्टरले स्वागत गरे । प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीका साथै दूतावासका अधिकारीहरु उपस्थित थिए ।     
     
प्रधानमन्त्री ओलीले मंगलबार आफ्ना बेलायती समकक्षी टेरिजा मे सँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । बेलायती संसद्मा नेपाल मामिला हेर्ने संसदीय समूहले प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम आयोजना गरेको छ । बेलायती राजपरिवारका सदस्यसँग पनि प्रधानमन्त्रीको भेटको कार्यक्रम छ ।     
     
प्रधानमन्त्रीसँग मंगलबार नेपाली दूतावासमा गैरआवासीय नेपाली सङ्गठन संयुक्त अधिराज्यका पदाधिकारी, पूर्वगोर्खा सैनिक सङ्गठनका प्रतिनिधि र प्रवासी नेपाली मञ्चका पदाधिकारीले भेट्ने कार्यक्रम छ ।

केपी शर्मा ओली