विचार

प्रधानमन्त्री चाम्रा कि हाम्रा !

प्रधानमन्त्री चाम्रा कि हाम्रा !

‘दक्षिणतिर झर्केर, उत्तरतिर फर्केर’ हुने व्यवहारले नेपालमा टिक्न मुस्किल छ भन्ने धेरैलाई लाग्छ । केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सिस्नुपानीको व्यंग्यमा यस्तै हरफहरुले प्रचण्डको उछितो काढिएको थियो । माओवादी र एमालेबीच एकताभएपछि एमालेनिकट सिस्नुपानीले प्रचण्ड कम पोल्न थालेकोछ । 

 

त्यो बेलाको ब्याजस्वरुप दोस्रोपटक केपी ओली प्रधानमन्त्री भए । अहिले फेरि पुरानै प्रवृत्ति फर्किने हो कि भनेर शंका गर्ने आधारहरु विकास भइरहेका छन् । वर्तमान सरकार गठन हुन नदिन योगेश भट्टराईलगायतका नेताहरु शुरुमै लागिपरे । तर त्यसो हुन सकेन । रहस्यमय ढंगले ओली सरकारलाई राजपाले समेत समर्थन दियो । फोरम त सरकारमै छ । तर अहिले एक वर्ष बितिसक्दा ओली सरकारसँग राजपा छैन । फोरम पनि आज हो कि भोलि हो भन्ने स्थितिमा छ । 

 

आफ्नो पार्टी भन्दाबाहिरबाट त कम्युनिष्टहरुको सरकार बिरलै ढल्छ । ढाल्ने त आफ्नैले हुन् । माधव नेपाललाई गलहत्याएर झलनाथ सत्तामा पुगे । अघिल्लो पटक माधव नेपालले ओलीलाई खसाल्न भूमिका खेले । कांग्रेससँग सत्ता साझेदारी गरिरहँदा एमालेसँग पार्टी एकता गर्ने, चुनावमा मिलेर जाने निर्णय गर्ने अद्भूत क्षमताका प्रचण्ड अहिले शान्तप्रायः देखिएका छन् । यो शान्ति तुफान आउनुअघिको सन्नाटा जस्तो पनि हुन सक्छ । 

 

अघिल्लो पटक ओलीका लागि छिमेकी मुलुक भारत दाहिना थिएन । मधेसीहरुले त मानवताको घाँटी निमोठ्न नाकाकब्जामा गरि बसेका थिए । कांग्रेस बलियो प्रतिपक्षी थियो । तर पनि उनले जनताको मन जिते । धेरैकुरा प्रतिकुल हुँदा हुँदै पनि बहुमत ल्याउने आधारभूमि बनाउन ओली सफल भए । अहिले धेरैजसो विषयहरु ओलीका लागि अनुकुल छन् । जस्तो कि न्यायालयमा आफ्ना एसम्यानलाई न्यायाधीश बनाएका छन् । प्रधानमन्त्री कार्यालयको पियनले जति पनि प्रभाव देखाउन नसक्नेलाई अख्तियार जिम्मा लगाएका छन् । जासुसी गर्ने निकाय आफ्नै मातहतमा राखेका छन् । दुई तिहाईको समर्थन प्राप्त छ । कमजोर प्रतिपक्षी पाएका छन् ।

 

कहिँ कतै कसैले सरकारको आलोचना मात्रै गर्‍यो भने पनि अरिंगाल खन्याउन पनि उनी सक्षम छन् । सरकार गठन हुनुअघि नै भारतसँग सेटिङ मिलाएको खबर बाहिरिएको थियो । प्रतिकुल अवस्थामा लोकप्रिय ओली अनुकुल अवस्थामा अलोकप्रिय हुने दिशामा छन् । 

 

अलोकप्रियताको ग्राफ उँभो लाग्नुको कारण 

प्रधानमन्त्री केपी ओलीका व्यक्तिगत केही कारणहरु अलोकप्रियताको मुख्य कडी बनेका छन् । प्रधानमन्त्री ओली अत्यन्त चाम्रा छन् । उनी जे ठान्छन्, त्यसको विपक्षमा संसार उभिए पनि उनलाई फरक पर्दैन  । यस्तो स्वभावका मानिसले विकासको संकल्प लिने हो भने देश पाँच वर्षमा अर्कै बन्छ । दूर्भाग्य यो छ कि विकासका लागि भनेर छुट्टयाएको पैसा खर्च गर्न नसकेर उनी आफै लाचारी व्यक्त गरिरहेका थिए । विकास बजेट खर्च गर्न नसक्ने अनि हास्य कलाकारलाई मगन्ते बनाएर रंगशाला बनाउन जिम्मा दिने उनको शैलीलाई कसरी ठिक मान्ने ? 

 

ज्ञानमा अहंकार गर्ने नेपालका कम राजनीतिक विश्लेषक मध्येका एक हुन् सौरभ  । उनले केपी ओलीका अतिप्रिय मन्त्री गोकुल बास्कोटालाई एक अन्तर्वार्तामा ‘लिच्चड’ नै भने । यो शब्द शोभायमान त छैन । तर मन्त्री बास्कोटामा धेरैले प्रधानमन्त्रीकै छायाँ महसुस गर्छन् । मन्त्री बास्कोटासम्बद्ध समाचारहरुमा पाठकहरुको प्रतिक्रिया हेर्दा पनि उनी नम्रताविनाका ठेउका मानिस लाग्छन् । 
गिरिराजमणि पोख्रेल र चक्रपाणि खनाल जस्ता पात्रलाई कृषि र शिक्षा जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ । सिद्धान्तमा, व्यवहारमा, पर्फमेन्समा फेल भइसक्दा पनि यिनीहरु जागिर खाइरहेका छन् । बीना मगर, मातृका यादव, रघुवीर महासेठ लगायत पनि निराशाका प्रतीक बनिसकेका छन् । 

 

‘वाइडबडीकाण्ड’ ‘सुनकाण्ड’ ‘बालुवाटारकाण्ड’ ‘मेरो सरकारकाण्ड’ ‘एनसेलकाण्ड’ ‘बुढीगण्डकीकाण्ड’ ‘गीतकाण्ड’ ‘राजनारायण पाठककाण्ड’ जस्ता काण्डमा वर्तमान सरकार कुनै न कुनै ठाउँमा चुकेको छ । यस्ता काण्डबाट जोगिन पनि नसक्ने, संसदमा प्रतिपक्षभन्दा अफेन्सिभ हुने, सत्ता साझेदारसँग कुनै ट्युनिङ नमिल्ने, आफ्नै पार्टीमा पनि गुटभन्दा बाहिरका प्रति सदैव नकारात्मक भइरहने हो भने सत्तायात्रा सजिलो छैन । त्यसमाथि अन्त जुँगा चल्दा नेपालमा नेताहरुको गीतको भाका नै फेरिन्छ भन्ने पनि छ । 

 

अर्कोतिर कर्मचारी युनियनमा ७० प्रतिशत पार्टीकै झोलेहरुले चुनाव जितेका छन् । छ वटा प्रदेशमा कम्युनिष्टको सरकार छ । अधिकांश स्थानीय सरकारमा पनि कम्युनष्टिको पकड छ । समयमै बजेट पनि आएकै हो । शक्तिशाली सरकार पनि छ । यति हुँदा पनि जनजनको गाँस खोसेर जम्मा गरेको बजेट विकासमा खर्च पनि गर्न नसकेपछि प्रधानमन्त्रीले तमाम विषयमा फूर्ति लगाउन मिल्छ र ?