समाचार प्रदेश ७

पैंचोका भरमा प्रहरी

पैंचोका भरमा प्रहरी

बझाङ । बझाङको उत्तरी सीमास्थित धुली प्रहरी चौकीमा गत आइतबार बिहान प्रहरीहरूको फूर्तिफार्ती बेग्लै देखिन्थ्यो । एकजना प्रहरी जवान खरको झुप्रोमुनि भान्सामा भात पकाउँदै थिए । कोही आलुको तरकारी काट्दै थिए । एकजना सिलौटामा मसला पिस्दै थिए । प्रहरीका अनुहार चम्किलो हुनुको कारणबारे जिज्ञासा राखिनसक्दै जवान सुराज कुँवरले फ्याट्ट भनिहाले, ‘दुई छाकपछि भान्सामा भात पाक्दै छ। सब मुख मिठ्याएर बसेका छन्।’ 

 

गाउँभरि खोज्दा पनि चामल पैंचो नपाएपछि प्रहरीको भान्सामा अघिल्लो दिन दुई छाक भात पाकेको रहेनछ । उनीहरूले चाउचाउ खाएर रात बिताउनुपरेछ । आइतबार बिहान वडाध्यक्षको घरबाट एक बोरा (४० किलो) चामल पैंचो खोजेर ल्याएपछि भात पाकेको रहेछ। ‘विकट ठाउँ छ सर पैंचो पाएको दिन भात खाने हो, नभए चाउचाउ, बिस्कुटले नै चलाउँछौं’ हवल्दार भवानीदत्त भट्टले भने।

 

जिल्लाकै विकट साइपाल गाउँपालिका र चीनको तिब्बतसँग जोडिएको उत्तरी सीमाको सुरक्षाका लागि बझाङ जिल्लाको अन्तिम मानव बस्ती धुलीमा सीमा प्रहरी चौकी छ । यो चौकीका प्रहरीहरू चामल र नुनका लागि स्थानीय बासिन्दाले दिएको पैंचोमा भर पर्छन्। यो बस्तीबाट खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनको अस्थायी वितरण केन्द्र रहेको काँडागाउँसम्म आउजाउ गर्न एक दिन हिंड्नुपर्छ । स्थानीय बजारमा मोटो चामल प्रतिकिलो १ सय ८० रुपैयाँ पर्छ। मसिनो चामलको मूल्य २ सय ५० देखि माथि छ । नुन प्रतिकिलो ८० रुपैयाँ पर्छ। ‘यहाँको मूल्यमा नुन, चामल किनेर खान सकिँदैन। पैंचो मागेर खान्छौं’ सीमा प्रहरी चौकीका इन्चार्ज वीरेन्द्रसिंह कार्कीले भने, ‘हामीसँग जनशक्ति कम भएकाले भनेका बेला नुन, चामल ढुवानी गर्न सकिँदैन।’ 

 

सीमा प्रहरी चौकीमा २३ जना प्रहरीको दरबन्दी रहेको भए पनि कोही बिदामा र धेरैजसो काजमा रहेका कारण १२ जना मात्र छन्। कहिले ३ दिनको पैदल दूरीमा रहेको उत्तरी सीमा त कहिले चौकीबाट २ दिन टाढा रहेको धलौन गाउँमा केही न केही कामले यहाँका प्रहरीले दौडधुप गरिरहनुपर्छ । नुन, चामलको जोहो गर्ने फुर्सत विरलै हुने उनीहरूको भनाइ छ।

 

‘एउटा गाउँबाट अर्को गाउँ पुग्न पनि कम्तीमा एक दिन पूरा हिंड्नुपर्छ। कतै न कतै प्रहरीको काम परेकै हुन्छ’ कार्की भन्छन्, ‘अन्त काम नपरेका बेला काँडाको डिपोबाट नुन, चामल ल्याएर गाउँलेको पैंचो तिर्छौं ।’ यहाँका गाउँलेको घरमा पनि पर्याप्त नुन, चामल नहुने भएकाले पैंचो नपाउँदा चाउचाउ, बिस्कुट खाएर छाक टार्ने गरेको उनले बताए। यहाँका बासिन्दालाई पनि नुन, चामलको सास्ती उस्तै छ। ‘हाम्रै सुरक्षाका लागि आएका हुन् भनेर कहिलेकाहीं आफू नखाएर पनि पुलिसलाई पैंचो दिने गरेका छौं’ स्थानीय माथवीर रोकायाले भने। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

बझाङ प्रहरी