खेल

आइपीएलः राजस्थानविरुद्ध सन्दीपकाे सम्भावना

आइपीएलः राजस्थानविरुद्ध सन्दीपकाे सम्भावना

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्दैछ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि दिल्लीमा शुरु हुँदैछ । राजस्थानसँगको पहिलो खेलमा मौका नपाएका सन्दीप आज भने टिममा अटाउने सम्भावना छ । 


दिल्लीले १३औं खेलमा चेन्नई सुपर किंग्ससँग लज्जास्पद हार बेहोरेकाले आज टिममा फेरबदल गर्नेछ । यदि यसो भएमा सन्दीपले अन्तिम–११ मा मौका पाउन सक्छन् । यति मात्रै होइन टिममा कागिसो रबाडा नभएकाले पनि सन्दीपले स्थान पाउने सम्भावना बढेको छ । साथै, चेन्नईविरुद्ध दिल्लीका विदेशी खेलाडीको प्रदर्शन सन्तोषजनक नरहेकाले लामिछाने टिममा पर्न सक्छन् । 

 

दिल्लीले प्रायः उनलाई आफ्नो घरेलु मैदानमा खेलाइरहेको छ । सन्दीपले जारी आइपीएलको ६ खेलमा ८ विकेट लिएका छन् । दिल्ली आइपीएलको ‘प्लेअफ’ मा पुगिसकेको छ । तालिकाको तेस्रो स्थानमा रहेको दिल्ली सात वर्षपछि प्लेअफमा स्थान बनाउन सफल भएको हो । यता राजस्थान भने ११ अंकासाथ तालिकाको छैठौं स्थानमा छ । प्लअ‍ेफमा पुग्न राजस्थानलाई यो खेल जित्नैपर्ने दबाब छ । उसले यो दिल्ली विरुद्धको खेल हारेमा ‘प्लेअफ’ दौडबाट बाहिरिने छ । 

 

आजै हैदरावाद र बैंग्लोर भिड्दै
शनिबार नै रोयल च्यालेन्जर्स बैंग्लो र सनराइजर्स हैदरावाद खेल्दै छन् । यी दुई टिमबीचको खेल राति ८ः१५ बजेदेखि बैंग्लोरमा शुरु हुँदैछ । ‘प्लेअफ’ पुग्ने सम्भावना बाँकी राख्न आज हैदरावादलाई जित्नैपर्ने दबाब छ । तालिकामा हैदरावाद चौंथो स्थानमा छ । यता विराट कोहली नेतृत्वको बैंग्लोर भने लिग चरणबाटै बाहिरिएको छ । 

आइपीएल दिल्ली भर्सेस राजस्थान