मनोरञ्जन

‘पहिलो फिल्मको पारिश्रमिक २० हजार पाएँ’

‘पहिलो फिल्मको पारिश्रमिक २० हजार पाएँ’

काठमाडौं । कलाकारितामा सानैदेखि रुचि थियो । कलेजमा छँदा पनि सिनेमा हेर्थेंँ । आर्ट मुभी मन पथ्र्यो । तर, फिल्म खेल्ने कुनै योजना थिएन । मैले फिल्म खेल्नु संयोग थियो । मेरो बुबा भारतस्थित नेपाली राजदूतावासमा हुनुहुन्थ्यो । हाम्रो परिवारै उतै बसिरहेको थियो । त्यो वेला नेपालमा खासै फिल्म बन्दैनथ्यो । भारतमै केही काम गर्ने सोचिरहेको थिएँ । 

 

०४७ तिर व्यक्तिगत काम लिएर काठमाडौं आएँ । दीपक रायमाझी सोभियत संघमा फिल्म निर्देशन पढेर भर्खरै आउनुभएको थियो । उहाँ मेरी आमाको मामाको छोरा हो । फिल्म बनाउने सोचमा हुनुहुँदोरहेछ । मलाई देखेपछि भन्नुभयो, ‘म फिल्म बनाउने योजनामा छु, तिमी हिरोजस्तो रहेछौ, तिमी काम गर ।’ उहाँले ३०–४० दिनमा नै सुटिङ सकाउने बताउनुभयो ।

 

फिल्म सकेर मात्र भारत फर्किने सोचमा बसेँ । त्यो समय बलिउडमा आमिर खान र सलमान खानले फिल्म खेलिसकेका थिए । शाहरूख खान अर्को वर्ष मात्र फिल्ममा आए । यता, मैले सुटिङ थालेँ । मेरो अपोजिटमा कृष्टि मैनाली हुनुहुन्थ्यो । सुटिङका लागि दक्षिणकाली पुगेका थियौँ । यति धेरै काम गरिएछ कि म त घामले डढेर कालो भएको थिएँ । फिल्मको सुट ‘तीन पाते डाँडा काटेर’ गीतबाट भएको थियो । पछि गोदावरी, कुरिनघाटलगायत स्थानमा सुटिङ भयो । 

 

हामीले रिङरोडमा पनि सुटिङ गर्यौँ । त्यतिवेला जाम नै हुँदैनथ्यो । फाइटको सिन गर्नुपर्यो, मोटरसाइकल चलाउनुप¥यो भने रिङरोड जान्थ्यौँ । गाडी ५–१० मिनेटमा मात्र आउने हुनाले रोक्नु नै पर्दैनथ्यो । त्यही कारण मोटरसाइकलले लखेटेको, गाडीले लखेटेको दृश्य खिच्न रिङरोडमै पुग्थ्यौँ । ‘युगदेखि युगसम्म’ रिलिज भएपछि नेपाली फिल्म विस्तार भयो । दर्शकको माया पनि उत्तिकै पाएँ । तर, फिल्म एकदम पातलो बन्थ्यो । एउटा फिल्म बनेपछि दोस्रो फिल्म कहिले बन्छ, पत्तो हुँदैनथ्यो । दुई वर्षमा एउटा बन्थ्यो । काम पाउनेनपाउने निश्चित हुँदैनथ्यो ।

 

त्यतिवेला न पर्याप्त प्राविधिक थिए, न क्यामेराम्यान । युगदेखि युगसम्म बनेपछि फिल्म बन्ने वातावरण सिर्जना भयो । प्राविधिक र क्यामेराम्यान जन्मिए । अन्य जनशक्ति जन्मिए । पर्दामा पनि बाबु र आमाको भूमिका गर्नेसमेत व्यस्त हुन थाले । म एउटा फिल्म गरेर फर्किने मनस्थिति त्यागेर निरन्तर फिल्म गर्न थालेँ । पहिलो फिल्म सुटिङ गरेको पनि ३० वर्ष भइसकेछ । मैले पहिलो फिल्म गर्दा नेपाली फिल्म कसरी अगाडि जान्छ भन्ने थाहै थिएन । रहरैरहरले खेलेँ । २० हजार पारिश्रमिक लिएको थिएँ । यो धेरै रकम त होइन, तर नेपाली फिल्ममा कति लिने भन्ने नै थिएन । पारिश्रमिक लिने प्रचलन पनि त्यति थिएन । 

 

त्यो वेला नेपाली फिल्म बनाउन अहिलेभन्दा निकै महँगो थियो । धेरै खर्च लाग्थ्यो । मेरो पहिलो फिल्म ३५ लाखमा बनेको थियो । रिल प्रयोग हुन्थ्यो । बम्बई गएर डबिङ गर्नुपथ्र्यो । त्यसले गर्दा अहिलेको अनुपातमा महँगो थियो । फिल्मको ‘मास क्रेज’ भने अत्यधिक थियो । अहिले मल्टिप्लेक्समा महँगो टिकट काटेर हेर्नुपर्छ । त्यो वेला बाल्कोनीको टिकट नै १५–२० रुपैयाँमा पाइन्थ्यो । कतै महँगो भए २५ रुपैयाँ पथ्र्यो । बाल्कोनीबाहेक त पाँच रुपैयाँमा हेर्न पाइन्थ्यो । त्यति हुँदा पनि लगानी उठ्थ्यो । हलमा फिल्म लाग्दा दर्शक उर्लेर लाठीचार्ज गर्नुपथ्र्यो । यो सामग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

राजेश हमाल