विचार

ज्ञानेन्द्रको एक वाक्यले हल्लिने गणतन्त्र !

ज्ञानेन्द्रको एक वाक्यले हल्लिने गणतन्त्र !

राजा ज्ञानेन्द्रले जनताको अधिकार खोसेर आफ्नो हातमा लिए, मुलुकमा गणतन्त्र आयो । अहिले सरकारले प्रेसको अधिकार कुण्ठीत गर्ने विधेयक संसदमा लगेको छ । अधिकारमा बञ्चरो हान्नमा राजामात्रै होइनन् जनतबाट निर्वाचितहरु पनि पछि पर्दैनन् भन्ने यो एक उदाहरण हो । 

 

यो गणतन्त्रमा सबैभन्दा बढी कसैले केही गुमाएको छ भने गुमाउने व्यक्ति पूर्वराजा नै हुन् । उनले आफ्नो राजपाठ नै गुमाए । यो गणतन्त्रमा सबैभन्दा संयमित कोही छ भने निश्चय पनि पूर्वराजा ज्ञानेन्द्र नै हुन् । सत्ताको बागडोर सम्हालेका मानिसहरु उटपट्याङ केटौले काम गर्न थालेपछि जो कोही पनि बोल्छन् । विरोध गर्न, लेख्छन्, कराउँछन्, प्रदर्शनमा उत्रिन्छन् । लोकतान्त्रिक व्यवस्थामा यस्ता स्वतन्त्रता हुन्छन् । जब जब पूर्वराजाले कुनै पनि विषयमा सामान्य मात्रै टिप्पणी गर्छन्, हाम्रो गणतन्त्रको जग हल्लिन थाल्छ । 

 

मुलुकमा गणतन्त्र त आयो, तर कसलाई कसरी कसरी आयो भन्ने विषय बढी रोचक छ । मुलुकमा गणतन्त्र आउँदा पूर्वराजा फुर्सदिला भएका छन् । राजाको ठाउँमा जनताकी छोरी विद्यादेवी भण्डारी पुगेकी छिन् । राष्ट्रपति बस्ने कुर्सीलाई कुर्सी नै भनिन्छ । राजा बस्ने सिंहासन हुन्छ । अहिलेको सरकार र राष्ट्रपतिको केमेस्ट्री यति मिल्छ कि सरकार राष्ट्रपतिलाई राजमाताको रुपमा स्थापित गर्न प्रयत्नशील छ । राष्ट्रपति भण्डारी पनि राजमाताको गुण, हाउभाउ, शैली सिको गर्न प्रयत्नशील छिन् । उपाय नभेटेर मात्रै हो नत्र राष्ट्रपति बस्ने कुर्सीलाई सिंहासन घोषणा भइसक्थ्यो । 

 

राजा छँदा उनले ‘मेरो सरकार’ भन्थे । प्रचलनमा पनि ‘श्री ५ को सरकार’ भन्ने गरिन्थ्यो । गणतन्त्रमा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्न थालेकी छिन् । अब प्रचलनमा ‘राष्ट्रपतिको सरकार’ भन्ने किन नल्याउने ? 

 

यो गणतन्त्रको चिन्ता एकाध नेताहरुलाई छ । नेताहरुको चिन्ताले गणतन्त्र जोगिने होइन । केहीले राजतन्त्रको वकालत गर्दैमा गणतन्त्र जाने पनि होइन । यो व्यवस्था कसरी जोगाउने भनेर चिन्तन नै सबैभन्दा अनावश्यक हो । परिस्थितिले आफैं व्यवस्था  निर्धारण गर्छ । राजाको कदमले गणतन्त्र निर्धारण गर्यो । यो शिशु गणतन्त्र फुस्किने भयो भने वर्तमानमा राजषी ठाँटमा रमाउन चाहने  नेता र शासकहरुकै कारण फुस्किेनछ । 

 

यो व्यवस्था चाँडै सिध्याउने हो भने अलोकप्रिय, निरंकुश र नागरिक स्वतन्त्रताविरोधी काम सरकारले गर्नुपर्छ । उल्लेखित तीनै किसिमका काम सरकारले गरिरहेको छ । तर कसरी यस्तो गरिरहेको छ भन्ने आम जनताले बुझिरहँदैनन् । टाउको दुखाएर बुझ्ने प्रयत्न गर्ने सबैलाई फुर्सद पनि छैन । 

 

यो गणतन्त्र पारिवारिक  मस्तितन्त्रमा रुपान्तरण भएको छ । प्रचण्डले छोरीलाई मेयर र बुहारीलाई मन्त्री बनाउँदा मात्रै परिवारवाद हावी भयो भन्ने देख्नु दृष्टिदोष हो । केपी ओलीको घर रुंग्ने गोकुल मन्त्री हुनु, विद्यादेवी भण्डारी राष्ट्रपति हुनु पनि परिवारवाद कै पराकाष्ठा हो । 

 

यस्ता केही परिवारहरु छन् जसलाई यो गणतन्त्र वशन्तको हरियाली भएर आएको छ । उनीहरुको दृष्टिबाट हेर्ने हो भने यो गणतन्त्र सुनौलो बिहानी हो । यो बिहानीको रात कहिले पनि पर्नु हुँदैन । बिगतमा जति संघर्ष गरे पनि अब त्यसको ब्याज बसी बसी, हाँसी हाँसी, रमाई रमाई खान पाउने व्यवस्था गणतन्त्र हो ।

 

यस्तो गणतन्त्रमा जनताको पीडा, दर्द, अभाव, रोग, शोक, भोकको उच्चतम् ख्याल गरिन्छ । तर जनता भन्ने शब्दको परिभाषा अलिकति फरक पारिनु भने पर्छ । नेताहरुले महिला आरक्षण दिनु पर्दा आफ्नी पत्नीलाई मात्रै महिला देख्छन्, त्यसै गरि सिमित घेराका मानिसहरुलाई मात्रै जनताको वर्गमा राखेर गरिने व्यवस्था गणतन्त्र भएको छ । 

 

सरकारी निकाय, पदाधिकारी, संयन्त्र निकम्मा भइरहने हो भने यो गणतन्त्र किन चाहियो ? विदेशमा श्रम गर्ने नेपाली युवाले श्रममन्त्रीलाई चिन्दैनन्, रवि लामिछानेको जयजयकार गर्छन् । मन्त्रीलाई राज्यले आवास, गाडी, सुरक्षा, उपचार, तलव, भत्ता, सम्मान सबै दिन्छ । तर पीडितको दर्द बोलिदिने कामसमेत सरकारीले गरिदिँदैनन् । रवि स्थापित हुन्छन् । यसरी राज्यको संयन्त्र निकम्मा हुने, निकम्मा पार्ने, जनताप्रतिको जिम्मेवारी पूरा गर्न नपर्ने, मनलाग्दी गर्न पाइरहने हो भने यो व्यवस्था कसरी जनताले आत्मसात गर्छन् ? 

 

तर पनि दूनियाँमा प्रजातान्त्रिक व्यवस्था नै तुलनात्मक रुपमा सफल भएको छ । यसकारण आउनुहोस्, गणतन्त्र दिवस मनाऔं । गणतन्त्र दिवसको शुभकामना ।