विदेश

  भारतमा मोदी मन्त्रको क्रेज 

  भारतमा मोदी मन्त्रको क्रेज 

लोकसभा चुनावको अभूतपूर्व सफलतासंगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एशियाका चामत्कारिक नेताको कोटीमा पुगेका छन् । चीन, मलेशिया र सिंगापुर कायापलट गर्ने अवसर पाएर इतिहासमा नाम अमर गराएका देङसियाओ पिङ,  महाथिर महम्मद र लिक्वान यूको समकक्षीमा पुग्ने अवसर नियतिले मोदीलाइ दिएको छ । अबको कार्यकालले उनलाई महामानव बन्ने कि चट्की त्यसको छिनोफानो गर्नेछ । राजनीतिशास्त्र भन्छ– सफल क्रान्तिकारी राजनेता बन्छ भने असफल क्रान्तिकारी अपराधी ।


मोदीका लागि पहिलो कार्यकाल यस्तो बन्यो कि उनी सवा अरब जनसंख्या भएको मुलुकमा एकछत्र सेलिब्रेटी बने । मोदीको अनुहार पहिचान नगरेका लाखौं, करोडौंले कमलको फूलमा भोट हाले । विकासको विकल्प विकास हर भारतीय नागरिकले मोदीसंग गर्ने अपेक्षा यही हो । भारतीय राजनीतिक इतिहासमा जवाहरलाल नेहरु यस्ता राजनीतिज्ञ थिए, जो परिवारका तीनपुस्तासंग उत्तिक्कै लोकप्रिय थिए । उनी दिवंगत हुँदा सडकमा आँसु खसाल्दै तीनै पुस्ता निस्किएको थियो । अहिले मोदी नेहरुकै हाराहारीमा पुगेका छन् । भारतीय जनता पार्टीको गठबन्धनले ल्याएको भोटमा झण्डै ४० प्रतिशत भोटमा मोदीको क्रेजले काम गरेको राजनीतिक पण्डितहरुको विश्लेषण छ । 


नोटबन्दी र आतंकवादविरुद्ध लिएको अडानले मोदीलाई सतिसाल बनायो । अघिल्लो चुनावमा  कमजोर देखिएको यूपीमा बीजेपीले अभूतपूर्व जीत हात पारेको छ । परिणामको गतिले आगामी सरकार बहुमतको बन्ने संकेत दिइसकेको छ । गठबन्धनको यसअघि चल्ने गरेका अभ्यास यसपल्ट मतदाताले रुचाएको देखिएन ।  यूपी, बिहार महाराष्ट्र और कर्नाटकजस्ता राज्यमा मोदीलाई धक्का दिने उद्देश्यले विपक्षी गठबन्धनले कसेको मोर्चा तासमहलजस्तै गल्र्यामगुर्लुम्म ढलेको छ । अर्कातिर जातजातिका नाममा राजनीति गर्दै आएका परम्परागत शक्ति यो पल्ट नराम्रोसंग बढारिएका छन् । कसरी सफल भए त मोदी ? 


यो विश्लेषण अहिले पेचिलो छ । मोदीको पहिलो कार्यकाल आर्थिक दृष्टिले निष्कलंक देखिए । उनी भारतीय जनतालाई विकासको सपना देखाउन सतप्रतिशत सफल भए । अन्तर्राष्ट्रिय मञ्चमा भारतको बलियो उपस्थिति बनाउन उनले उल्लेखीय भूमिका निर्वाह गरे । बीजेपीले  सर्वमान्य नेताको रुपमा बोकेर हिँड्यो । उनको छवि भारतीय राजनीतिमा यति शक्तिशाली देखियो कि टक्कर दिने अर्को व्यक्तित्व विपक्षीले फेला पारेन । राहुल गान्धी मोदी मेनियाका अगाडि रंगहीन देखिए । भारतीय मतदाताले जात, भूगोल, क्षेत्र र मुखियाखाले राजनीतिक शक्तिलाई पुरै बढारेर मूलतः विकास र समृद्ध भारत बनाउने मोदीको अभियानलाई विश्वास गरे । राष्ट्रवाद भनेकै मोदी हुन भन्ने सुनामी नाराले यो अवस्था ल्याउन सतप्रतिशत काम गर्यो । त्यसमाथि भारतबाहिर रहेका वैज्ञानिक, व्यापारी, उद्यमी, विद्यार्थीलगायत सबै तह र तप्का मोदीको शक्ति बनेर ब्याकअप बसेका थिए ।  


पुलवामा भएको आतंककारी हमलामा मोदी एक्सनले ठूलो काम गर्यो ।   भारतीय वायुसेनाले हवाई हडतालले मोदीको छवि उजिल्याउने काम गरेको छ । पाकिस्तानमा पसेर आतंकारी शक्ति ध्वस्त बनाउने उनको एक्सन चुनावी मसला बन्यो । मतदाताले उच्च सम्मानसाथ भोट दिएर सम्मानको कदर गरे । 
मोदी सरकारले तल्लो तहका जनतालाई लक्षित गरेर लोकप्रिय कार्यक्रम ल्याएको थियो । आयुष्माम भारत, उज्ज्वला, किसान सम्मान निधि, स्वच्छ भारतअन्तर्गत शौचालय निर्माण जनताका मन छुने कार्यक्रम बने । अझ आश्चर्य त के छ भने यी कार्यक्रममा अनियमितताको कुनै गन्ध नआई योजना सफल भए ।  

चुनावी रणनीतिमा बीजेपी अर्को बठ्याईं के गरेको थियो भने हरेक राज्यमा अलग अलग समीकरण गरिएको थियो ।  यूपी, बिहार, महाराष्ट्र, पश्चिम बंगाल, कर्नाटक उडिशामा परिस्थितिजन्य समीकरण गरियो । बंगालमा यही चलाखीले सधैं कब्जा जमाउँदै आएकी ममता बनर्जीको पार्टीको अवस्था बेहाल हुनपुग्यो । महाराष्ट्रमा बीजेपी र शिवसेनाको सहकार्य  अभूतपूर्व ढंगले फाप्यो । अघिल्ला चुनावमा यी दुई दलबीच शत्रुपूर्ण व्यवहार हुँदै आएको थियो । 


मोदीको तुलनामा प्रतिस्पर्धी अन्यन्तै कमजोर देखिनुले पनि बीजेपी गठबन्धनलाई यो सफलता अत्यन्तै सहज भयो । कांग्रेस अध्यक्ष राहुल गान्धी केटौले अपरिपक्व देखिए । व्यक्तित्व र बोल्ने शैलीका कारण पनि मोदीको प्रभाव तुलनायोग्य देखिएन । 
 

  भारतमा मोदी चामत्कारिक नेता