विचार

दूर्याेधन–सूयोधन, युधिष्ठिर–जुवाडे 

दूर्याेधन–सूयोधन, युधिष्ठिर–जुवाडे 

मानिसहरुले भाषाको माध्यमबाट एकआपसमा संवाद गर्न र आफ्ना कुरा अभिव्यक्त गर्न थालेको ७ हजार वर्षपछि महाभारत भन्ने महाकाव्यको रचना भएको थियो । धर्मशास्त्रलाई आधार मान्ने हो भने ८ लाख ६४ हजार वर्षको द्वापर युगमा घटित घटना महाभारत थियो । 

 

द्वापर युगको अन्त्यपछि कलियुग शुरु भयो । यो युगको आयु ४ लाख ३२ हजार वर्ष छ । विज्ञानका तथ्यहरुलाई आधार मान्ने हो भने मानव विकास शुरु भएको धेरै भएको छैन । 

 

पाँच हजार वर्षअघि भारतवर्षमा महाभारतको सिर्जना भयो । यस्तो महाकाव्य विभिन्न समयका व्यासहरुले सिर्जना गरे । नमिलेका कथा, प्रशंग र घटनाक्रम पटक पटक संशोधन गर्दै मिलाउँदै तयार भयो महाभारत महाकाव्य । महाभारतमा वर्णित कहानी वास्तवमै पृथ्वीमा भएको थियो त ? धर्ममा विश्वास राख्नेहरुका लागि भएको थियो । जुन अघिल्लो युगमा भयो । 

 

महाभारतका विषयमा यति धेरै विद्वानहरुले यति धेरै टिप्पणी र चर्चा गरेका छन् कि लाग्छ यो क्रम कहिले पनि समाप्त हुनेवाला छैन । 

 

महाभारतका केही विशाल र शुक्ष्म विषय अहिले पनि सामान्य मानिसले पनि पहिल्याउन सक्छ । पतिको मृत्युपछि पत्नीनाई जिउँदै पतिकै चितामा जलाउनेदेखि महिलालाई बहुपति राख्ने छुटसमेत दिने यो महाकाव्यमा छ । पाण्डुपत्नी माद्री सती गएकी थिइन्, द्रोपदीका पाँच पति थिए । 

 

त्यतिमात्रै होइन  महिलाको दृष्टिकोणबाट हेर्ने हो भने यो महाकाव्य आदर्श पनि हो, श्राप पनि हो । कुन्तीले विवाह अघि नै शारीरिक सम्बन्ध बनाएर कर्णलाई जन्म दिएकी थिइन् । त्यो त्यही बेला बर्जित भयो, तर शारीरिक सम्बन्ध राखे मृत्यु हुने श्राप पाएका पाण्डुले फेरि तिनै कुन्तीलाई धर्मराज, वायुदेव र इन्द्रसँग सहवास गर्ने अनुमति भने कुन्तीलाई दिन्छन् । 

 

त्यसअघि नै विचित्रवीर्यको सन्तानहीन भएर मृत्यु भएपछि उनका विधवा रानीहरुलाई उनकै जेठाजुले शारीरिक सम्बन्ध राखेर क्रमशः धृतराष्ट्र र पाण्डुलाई जन्म दिन्छन् । जुन राजमाता सत्यवतीको इच्छाबमोजिम हुन्छ । 

 

खासमा महाभारतमा कुरुवंशको चर्चा छ । तर कोही पनि कुरु वंशका भने होइनन् कि भन्ने प्रश्न गर्ने प्रशस्तै आधार छन् । सत्यवतीका प्रथम पुत्र व्यास फरक ऋषिबाट जन्मेका थिए । उनीबाट जन्मेका पाण्डुका पाँच सन्तान पनि पाण्डुका थिएनन् । उनीहरुका बाबु फरक फरक थिए ।

 

दूर्योधनले पाण्डवहरुलाई आफ्ना काकाका सन्तान होइनन् भन्नुको अर्थ पनि यहि थियो । तर महाभारत पाण्डवहरुको पक्षबाट लेखियो, जसका कारण दूर्याेधन खलनायक देखिए । यदि कौरवहरुको पक्षबाट लेखिएको भए युधिष्ठिरलाई एक नम्बरको जुवाडे भनिने थियो होला । दूर्याधनको नाम सूयोदन हुने थियो होला । 

 

युधिष्ठिरले आफ्नी पत्नीसहित चारै भाइलाई जुवामा हारिदिन्छन् । अझै उनले त आफैंले आफूलाई दाउमा राख्छन् । आफैंलाई हारेपछि उनी दासमा परिणत हुन्छन् । दासमा परिणत भइसकेपछि उनले इन्द्रप्रस्थकी महारानी द्रौपदीलाई पनि दाउमा लगाउँछन् । एक दासको कत्रो हिम्मत कुनै राज्यकी महारानीलाई नै दाउमा राखिदिने । 

 

मानव रुपमा जन्मेका पाण्डवहरु मासु खान्थे । सिकार गर्न जान्थे । कुन जनावरको मासु खाने नखाने भन्ने विषय पनि विवादको विषय थिएन । अहिले उहाँ उल्लेख गर्दा समाजअनुकुल नहुन सक्छ तर महाभारतमा गाईको मासु उपभोग गर्ने प्रशंग पनि  छ । 

 

विभिन्न अध्ययन, दस्तावेज र प्रशंगहरुले हिन्दुहरु पनि गाईको मासु खान्थे भन्ने दावी गर्ने भारतमा धेरै विद्वानहरु छन् । तर कुन कालखण्डबाट र किन गाईको मासु उपभोग गर्न छाडियो भन्ने स्पष्ट हुन सकेको छैन ।