समाचार

परीक्षा नहुँदै जागिर पक्का, विद्यार्थीभन्दा कर्मचारी धेरै !

परीक्षा नहुँदै जागिर पक्का, विद्यार्थीभन्दा कर्मचारी धेरै !

डडेलधुरा । विद्यार्थी संख्या ४०, प्राध्यापक र कर्मचारी संख्या ७७ । विभिन्न समयमा कर्मचारी भर्नाका लागि सूचना जारी हुँदा आवेदक प्रशस्तै हुन्छन् । तर, परीक्षा नहुँदै क्याम्पस प्रशासन, राजनीतिक दल र प्रशासनका प्रतिनिधि बसेर नेताका श्रीमती, बुहारी र छोराछोरीको जागिर पक्का गर्छन् । बेथितिको चपेटमा परेपछि डडेलधुरा बहुमुखी क्याम्पस अहिले संकटमा छ । कुनै बेला उच्च शिक्षाका लागि सात पहाडी जिल्लाको मुख्य केन्द्रका रूपमा ख्याति आर्जेको यो क्याम्पसको साख निरन्तर ओरालो लागेको छ ।

 

२०६४ पछि काम गर्न थालेका ४० भन्दा बढी प्राध्यापक र कर्मचारी भनसुनकै भरमा जागिरे छन् । कुनै समय यहाँ सुदूर पहाडका विभिन्न जिल्लाका ५ हजार जनाभन्दा बढी विद्यार्थी अध्ययन गर्थे । प्राध्यापक र कर्मचारी नियुक्तिमा राजनीतिक हस्तक्षेप र भनसुन बढेयता पढाइको गुणस्तर पनि खस्किँदै गयो । विद्यार्थी पनि घट्दै गएर हाल नियमित अध्ययन गर्नेको संख्या घटेको छ । दलबाट सिफारिस कार्यकर्ता कर्मचारीका रूपमा भर्ना हुन थालेयता विद्यार्थी भर्ना घट्दै आएको हो ।

 

पछिल्लोपटक हालै क्याम्पसले तीनजना कर्मचारी भर्ना गर्न सूचना प्रकाशित गरेको थियो । नियुक्तिमा कर्मचारी भागबन्डा नमिल्दा क्याम्पसमा विवाद छ । तीनमध्ये एकजना नेकपाका कार्यकर्ता, एक कांग्रेस र एकजना प्रशासनिक निकायले सिफारिस गरेका व्यक्ति भर्ना हुने निश्चित भएको खुलासा भएपछि विद्यार्थीले क्याम्पसमा तोडफोड पनि गरे ।तोडफोडमा संलग्नताका आरोपीमध्येका स्ववियु सभापति जगत ऐरलाई प्रहरीले दुई दिन हिरासतमा पनि राखेको थियो । ‘लिखित परीक्षा हुनुअगावै ककसको जागिर हुने भन्ने निश्चित भएपछि आक्रोशित भएका विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन्’ विद्यार्थी नेता पुष्प भट्टले भने, ‘राजनीतिक भागबन्डाले सुदूर पहाडी जिल्लाको प्रतिष्ठित शैक्षिक संस्था ध्वस्त भएको छ ।’  क्याम्पस जागिर खाने र खुवाउने थलो मात्र भएको उनले आरोप लगाए । उनले भने, ‘राजनीतिक कारणले वर्षैपिच्छे क्याम्पस प्रमुखसमेत परिवर्तन हुने गरेको छ ।’ यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

विद्यार्थी डडेलधुरा बहुमुखी क्याम्पस