प्रदेश ६

घट्ट जाने किशोरीले बालविवाह गर्न थालेपछि मिल सञ्चालन

घट्ट जाने किशोरीले बालविवाह गर्न थालेपछि मिल सञ्चालन

हुम्ला । बढ्दै गएको बलात्कार, बालविवाह र यौनजन्य घटना न्यूनीकरणका लागि हुम्लाको एउटा गाउँपालिकाले कुटानी पिसानी मिल सञ्चालन गरेको छ । परम्परागत घट्टमा गएर कुटानी पिसानी गर्दा रातिको समयमा महिला तथा किशोरीमाथि यौनहिंसा हुन थालेपछि त्यसको न्यूनीकरणका लागि हुम्लाको ताँजाकोट गाउँपालिका–४ ले कुटानी पिसानी मिल नै सञ्चालन गरेको हो ।

 

यौनहिंसा न्यूनीकरण गर्न वडा कार्यालयले डिजेलबाट सञ्चालन हुने मिल स्थापना गरेको वडाध्यक्ष धनरूप जैसीले बताए । स्थानीय सियाँली खोलामा पानी धेरै नहुँदा राति त्यही बस्ने गरी घट्ट जानुपर्ने बाध्यतामा थिए, स्थानीय महिला। जसले गर्दा महिलामाथि बलात्कारलगायत यौनजन्य हिंसा हुने गरेको र किशोरीले बालविवाह र बहुविवाह गर्नेजस्ता समस्या देखिन थालेपछि ९ लाख रुपैयाँको लागतमा डिजेलबाट सञ्चालन हुने कुटानी पिसानी मिल खरिद गरेर सञ्चालन गरिएको उनले बताए।

 

कुटानी पिसानीको काम महिलाले नै गर्नुपर्ने बाध्यता न्यूनीकरण गर्नसमेत मिल स्थापना गरिएको वडा सचिव विष्णुभक्त जैसीले बताए । यसअघि खोलामा पर्याप्त पानी नहुँदा कुटानी पिसानीका लागि लामो समय लाग्ने र रातभरसमेत बस्नुपथ्र्यो । त्यस्तै, मिल स्थापनापछि कुटानी पिसानीमा सजिलो भएको र यौनहिंसाको डरसमेत हटेको वडा ४ की जयसरा ढकाले बताइन् । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

हुम्ला मिल घट्ट