विदेश प्रवास

नेपाली कामदारलाई अझैं खुलेन जापानको ढोका

नेपाली कामदारलाई अझैं खुलेन जापानको ढोका

काठमाडौं । आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ। नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति जुट्न नसक्दा जापान रोजगार अनिश्चित भएको हो। स्रोतका अनुसार सन् २०१९ भित्र कामदार जापान जान नपाउने निश्चितजस्तै भएको छ। कुन मोडालिटीमा कामदार पठाउने भन्ने विषय टुंग्याउन नसक्दा अझै ६ महिनाभन्दा अघि कामदार जापान जान सक्ने अवस्था न्यून छ। जापानले कुन संयन्त्रबाट कामदार लिने भन्ने विषयमा स्पष्ट खाका बनाउन सकेको छैन। संयन्त्रबारे जापान स्पष्ट हुन नसक्दा जापान रोजगारीमा अन्योलता छाएको हो।

 

जापानले सन् २०१९ अप्रिलदेखि विदेशी कामदार लिने नीति अबलम्बन गरेको थियो तर पछिल्लो समय विदेशी कामदार कुन संयन्त्रबाट भित्र्याउने भन्ने टुंग्याउन सकेको छैन। जापानले परीक्षणको रूपमा फिलिपिन्स र भियतनामबाट कामदार भित्र्याउन थालेको छ। भियतनाम र फिलिपिन्सको परीक्षण सफल भएपछि मात्र अन्य देशबाट कामदार लैजाने जापानको पछिल्लो रणनीति छ। नेपाल र जापानबीच गत चैत ११ गते श्रमिक आपूर्तिसम्बन्धी समझदारी भएको थियो। समझदारीपश्चात दुई देश सम्मिलित उच्च प्राविधिक टोलीबीच बैठकसमेत बस्न सकेको छैन। वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जापान रोजगारसम्बन्धी थप प्रक्रिया अघि नबढेको बताए। जापानबाटै भाषा र सीपको परीक्षण हुने भनिए पनि नटुंगिएकाले केही समय ढिलाइ भएको उनको बुझाइ छ। ‘जापान रोजगारी ईपीएसजस्तै मोडेलमा अघि बढ्छ’, उनले भने, ‘उताबाट टुंगेपछि वैदेशिक रोजगार विभागमा जापान युनिट स्थापना हुन्छ।’

 

जापान रोजगारीका लागि जापानका धेरै निजी कम्पनीले सहजीकरण गर्न चासो व्यक्त गरेका छन्। भाषा परीक्षा र सीप परीक्षणसँगै उनीहरूले रोजगारदाता र कामदारको म्याचिङ गराउन चाहे पनि जापान नै अन्योल हुँदा प्रक्रिया अघि बढ्न सकेको छैन। जापानले भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि जापान एसोसिएसन गठन गर्ने तयारी गरेको छ। इन्टरनेसनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसन फाउन्डेसन (आईएचएन) का अध्यक्ष यासिहारु कोमियामाले केही समयअघि नेपाल आएका बेला संयन्त्र निर्माण भइनसकेकाले तत्काल नेपालबाट कामदार जान नसक्ने बताएका थिए। भाषा परीक्षा लिन नेपालमा अझै कोही तयार नभएकाले जापान रोजगारी पर धकेलिएको उनको भनाइ थियो। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

जापान रोजगारी