राजनीति

नेकपा पोलिटब्युरो सदस्यको सूची तयार, २२ जना नयाँ अनुहार

नेकपा पोलिटब्युरो सदस्यको सूची तयार, २२ जना नयाँ अनुहार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आठ जनवर्गीय संगठनको नेतृत्व बाँडफाँड टुंगो लागेको छ । साबिक एमालेले विद्यार्थी, मजदुर, किसान र अपांगता महासंघ तथा माओवादीले युवा, प्रेस संगठन, जनजाति महासंघ र महिला संगठनको नेतृत्व लिने गरी नेतृत्व टुंगो लागेको हो ।

जनसंगठनको नेतृत्व बाँडफाँडमा सहमति जुटे पनि संयोजक र सहसंयोजकको मोडलमा जाने कि अध्यक्ष र सचिवको मोडलमा जाने विषयमा अन्तिम टुंगो लागेको छैन । साबिक अध्यक्षमध्येबाटै नेतृत्व बनाउने कि केही संगठनका अध्यक्षलाई बिदा गरेर नयाँ अध्यक्ष बनाउने भन्नेबारे सहमति हुन बाँकी रहेको उच्च स्रोतले जनायो । 

पूर्वएमालेको भागबन्डामा परेको विद्यार्थी संगठन अनेरास्ववियुमा नवीना लामा र ऐन महरमध्ये अध्यक्ष ओलीले महरको नाम अघि सारेका छन् । तर, उपाध्यक्ष रश्मि आचार्यसहित अरू पनि दाबेदार रहेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले व्यक्तिभन्दा पनि विधिमा आधारित भएर टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डले युवा संगठनमा रामप्रसाद सापकोटालाई संयोजकका रूपमा अघि सारेका छन् । मजदुरमा पूर्वएमालेले विनोद श्रेष्ठ, माओवादीले महेश्वर दाहालको नाम अघि सारेको छ ।

 १४७ पोलिटब्युरोको सूची टुंगियो

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँगको परामर्शमा एक सय ४७ सदस्यीय पोलिटब्युरो सदस्यको सूची तयार गरेका छन् । सचिवालय बैठकमा प्रस्ताव गर्ने गरी अध्यक्षद्वयले सूची टुंगो लगाएका हुन् । एक सय ४७ जनामा साबिक एमालेबाट ८१ र माओवादीबाट ६६ सदस्य छन् । तत्कालीन एमालेबाट २२ जना नयाँ अनुहार थपिएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

नेकपा पोलिटब्युरो