राजनीति

नेकपामा जनवर्गीय संगठनको टुंगो :  विद्यार्थी संगठनमा महर, युवामा दीपशीखा र महिलामा अमृता 

नेकपामा जनवर्गीय संगठनको टुंगो :  विद्यार्थी संगठनमा महर, युवामा दीपशीखा र महिलामा अमृता 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनहरुको नेतृत्व टुङ्गो लगाएको छ । बिहीबार बसेको सचिवालय बैठकले भागवण्डाका आधारमा जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेको हो ।

 

विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ तोकिएका छन् ।  मापदण्डअनुसार अखिलका वर्तमान अध्यक्ष नविना लामा हुनुपर्ने भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष जोड गरेपछि लामालाई पन्छाइएको बुझिएको छ । 

 

युवामा रामप्रसाद सापकोटा दीपशिखा संयोजक र रमेश पौडेल सहसंयोजक तोकिएको छ । दीपशिखाका बारेमा ओली नकारात्मक रहेको बताइएको छ । 

 

महिलाको संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेल तथा मजदुरको संयोजकमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा तोकिएका छन् ।

 

प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी तोकिएका छन् । प्रेसमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक, तथा बुद्धिजिवीतर्फ दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक तोकिएका छन् ।

 

यस्तै पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक तथा जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहायात्री सहसंयोजक तोकिएका छन् । यसैगरी मुस्लिम संगठनमा सराज महमद फरुकी संयोजक र अत्तहर हुसेन फारुकी सहसंयोजक तथा दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्मा सहसंयोजक तोकिएका छन् ।