विचार

टेलिभिजन ‘टक-सो’ किन विवादमा पर्छन् ?

विजयकुमार बन्न खोज्दा विवाद

टेलिभिजन ‘टक-सो’ किन विवादमा पर्छन् ?
  • कृष्ण मल्ल

नेपाली टेलिभिजनका टक-सो अर्थात् अन्तर्वार्ताका कार्यक्रमको गुणस्तर खस्किदै गएको गुनासो आजभोलि बढी आउने गरेको छ । टेलिभिजनको संख्या बढेसंगै जसले पनि अन्तर्वार्ता लिने तर गुणस्तर कायम गर्न नसक्ने अवस्था आएपछि यो प्रकारको गुनासो बढी आएको हो ।

कुरा के हो भने अहिले पनि विजयकुमार पाण्डेले कुनै अन्तर्वार्ता लिए भने त्यो उच्चस्तरको अन्तर्वार्ताका रुपमा लिइन्छ । प्राविधिक विषयलाई छोडेर विषयवस्तु र संचालकको प्रस्तुतिमा पनि कमजोरी भेटिएलान,  तर खुलेआम विजयकुमार विरुद्ध बोल्ने आँट न हिजो कसैले गरे, न आज गर्न सक्छन् ।

यो विजयकुमारको व्यक्तित्वको कारणले हो । उनको विषवस्तु र पात्र छनोट, अध्ययन, अनुभव, विश्लेषण, हाउभाउ, अनुहारको अभिव्यक्ति, वाकपटुता, शब्द संयोजन, बोलीको लवज, आरोह अवरोह लगायतका विषय अन्तर्वार्ताका प्रमुख आकर्षण हुन् ।

त्यति मात्र होइन पर्दाभित्र विजय जति हिरो देखिन्छन्, पर्दा बाहिरको जिन्दगी पनि उनले त्यही अनुसार मेन्टेन गरेका छन् । संस्थाको दुरुपयोग, कसैसँग अनावश्यक साँठगाँठ, चरित्रमा आँच वा कसैसँग मोलमलाइ गरेका विषय उनीसँग कहिल्यै जोडिएनन् ।

भलै उनलाई धेरैले घमण्डी भन्छन् । यो आरोप उनीमाथिको इर्ष्या वा डाहबाहेक केही होइन । किनभने हरेक मानिस घमण्डी हुन्छ । आफनो पेशा व्यवसाय, इमान, विचार र अनुशासनमा सबैलाई घमण्ड हुन्छ ।

मुख्य कुरा हो, अरुको बिगार गर्नु भएन । विजयकुमारले जति बिगारे आफ्नै बिगारे होलान्, तर यति लामो जिन्दगीमा उनीमाथि यस्तो आरोप लागेको अहिलेसम्म थाहा छैन । म विजयका कारण वर्वाद भएँ भन्ने गुनासो अहिलेसम्म कसैले गरेको सुनिएको छैन ।

विजय कति पारदर्शी छन् भन्ने उनले लेखेको ‘खुसी’ पढेपछि प्रष्ट हुन्छ । विभिन्न सार्वजनिक मञ्चमा उनले दिएका मन्तव्य सुनेपछि छर्लंग हुन्छ । यी सबै कुराले विजयको व्यक्तित्व बनेको म ठान्छु ।

घरको जग बलियो भएपछि जस्तै भुँइचालो आए पनि केही फरक पर्दैन । विजय त्यो जगमा उभिएका छन् । आज हामीमध्ये कतिपयको जग बलियो छैन । कमजोर जगमा तलैतला उठाउन खोजेपछि घर गर्ल्यामगुर्लुम ढल्नुको विकल्प हुँदैन ।

आजको टेलिभिजन पत्रकारिताको अन्तर्वार्ताका विषयमा ‘लाइन सेटअप’ गर्ने यिनै विजयकुमार हुन् । उनले नेपाल टेलिभिजनमा अन्तर्वार्ता गर्ने बेला हामीमध्ये कतिपय त जन्मिएकै थिएनौँ । पछि उनकै टेलिभिजन कार्यक्रम हेरेर धेरैले अन्तर्वार्ता गर्न सिके । विजयकुमार पनि कतिपय आफ्ना पाहुना खासगरी नेताहरूलाई र्‍याखर्‍याख्ती पार्थे । नेताहरूलाई पेल्दा दर्शक तथा श्रोता खुशी पनि हुन्थे । गेष्टलाई सकेसम्म पेल्नुपर्छ भन्ने धेरैजसो टेलिभिजनका अन्तर्वार्ताकारहरूले विजयकै ‘कपी’ गरेको हो । आज पनि त्यो निरन्तर छ ।

बेलाबेला नेपाली टेलिभिजनका अन्तर्वार्तामा देखिने ‘गेस्ट–होस्ट’ तनावका विषय यसैको उपज हो । अन्तर्वार्ताकारलाई गेष्टलाई जति पेल्न सक्यो, बेइज्जत गर्न सक्यो, त्यति आफू सफल भइन्छ भन्ने भ्रम छ । अझ, केही संचालक त गेस्टभन्दा आफू बढी जान्ने छु भन्ने देखाउन खोज्छन् । 'इनसाइक्लोपेडिया' पढ्यो, यसो दुई चार मिति, तथ्य याद गर्‍यो, अनि जसलाई विज्ञ भनेर बोलाएको हो, उसैको हुर्मत लियो । केही प्रस्तोतामा यो रोग देखिएको छ ।

कतिपय प्रस्तोता रहरले अन्तर्वार्ता गरिरहेका छन् । विषयवस्तुको खासै ज्ञान नभए पनि ठूलाठूला राष्ट्रिय मुद्दामा विज्ञहरुलाई बोलाएर चर्का कुरा गर्न खोज्छन् । बोलीमा तर्क छैन, आवाज मात्र चर्को हुन्छ । विनम्रता र मीठास छैन, आक्रामक भाव मात्र छ । यसले सम्बन्धित पाहुना र दर्शकलाई वितृष्णा उत्पन्न गराउने मात्र होइन टेलिभिजनमा हुने टक सोलाई समेत सस्तो बनाएको छ ।

मेरो अन्तर्वार्ता गरिदिनु पर्‍यो भनेर बारम्बार फोन गर्ने गेष्टहरु पनि प्रशस्त छन् । यीमध्ये कतिपयले प्रस्तोतालाई आर्थिक प्रलोभनमा पनि पार्छन् । आफूले सोचेको जस्तो भएन भने फलानो पत्रकारले पैसा खान्छ भनेर बेइज्जत पनि आफैँ गर्छन् ।

पछिल्लो समय टेलिभिजन अन्तर्वार्ताका क्रममा केही विवाद देखिएका छन् । यस्ता घटना हिजो पनि हुन्थे, आज पनि छन् र भोलि पनि हुने प्रवल सम्भावना रहन्छ । विश्वका विभिन्न देशमा यस्ता अप्रत्यासित घटना भएका भिडियो हामी यूट्युबमा मज्जाले हेर्न सक्छौं ।

कार्यक्रम संचालक र गेस्टका बीचमा विवाद हुनु अन्तर्वार्ताको राम्रो पक्ष हो । जे गेस्टले भन्यो त्यही हो भन्दै हिँड्यो भने त्यो के को अन्तर्वार्ता ? संचालक जुनसुकै विचार र आस्थाको भएपनि उसले गेस्टले उठाएका विचार र तथ्यमा फरक कोणबाट प्रश्न गर्छ । उसले विभिन्न तर्क, तथ्य र कारण दर्शाउँदै असहमतिका विषय पस्किन्छ । यो पत्रकारको धर्म हो । यसलाई संचालकको व्यक्तिगत विचारका रुपमा कसैले लिनु हुँदैन । अझ गेष्टले त आफ्ना विषयवस्तुलाई स्पष्ट गर्न सुन्दर मौका पाएको रुपमा ग्रहण गर्नुपर्छ ।

जहाँसम्म शिष्टताको कुरा छ, यो त जहाँ पनि आवश्यक पर्छ । अन्तर्वार्ताका क्रममा आउने आवेग र उत्तेजनामा पनि शिष्ट शब्दको प्रयोग हुनुपर्छ । कुरा बिग्रिने भनेको व्यक्तिगत तहमा ओर्लिएपछि हुने संवादले हो । सार्वजनिक महत्वको विषयबाहेक अन्य विषयमा व्यक्तिगत तहमा ओर्लिनु राम्रो होइन ।

आफूसंग यथेष्ट तथ्य, प्रमाण र ज्ञान नभइकन कुनैपनि व्यक्तिलाई गम्भीर आरोप लगाउने काम खराब प्रस्तोताले मात्र गर्छ । त्यो बेला परिस्थिति नियन्त्रण भन्दा बाहिर जान सक्छ । त्यसको दोष र जिम्मेवारी सम्बन्धित संस्था र प्रस्तोताले लिनुपर्छ ।

कतिपय गेष्ट ‘ओभर स्मार्ट’ बन्ने खालका हुन्छन् । जतिबेला पनि प्रस्तोतालाई होच्याएर बोल्ने । तपाईको अध्ययन पुगेन । अलि कुरा बुझेर मात्र अन्तर्वार्तामा बोलाउनुस् । तपाईको शिष्टता, बोल्ने शैली भएन ।  उनीहरु सहजरुपमा कुराकानी भइरहँदा पनि प्रस्तोताले थप स्पष्ट हुन बीचमा प्रश्न गरे यसरी जवाफ फर्काउँछन् ।

यो भनेको प्रस्तोतालाई सिधै होच्याउन खोजेको हो । कार्यक्रम संचालक विज्ञ होइन । उसले जिज्ञासा राख्ने हो, आफनो विद्वता प्रकट गर्ने होइन । आफूले जानेको विषय पनि नजानेको जस्तो गरी प्रश्न गर्ने हो किनभने उसका प्रश्न आमजनताका जिज्ञासाका विषय हुन् । यस्ता अतिथिका कारण कहिलेकाहिँ प्रस्तोतालाई आवेग नियन्त्रण गर्न कठिनाइ हुन्छ । यो व्यक्तिगत स्वभावमा भर पर्ने कुरा हो ।

यस्ता केही समस्या म आफैले समेत भोग्ने स्थिति आएपछि एकपल्ट मैले विजयकुमारलाई सोधेँ, ‘सर ! कतिपय अतिथि त साह्रै रिसाउँछन्, प्रश्नको उत्तर पनि दिँदैनन्, आफनो मनमा लागेका कुरा मात्र भन्छन् । यस्तो बेला के गर्ने हो ? ’

उनले भने, ‘ हामीसँग एउटै उपाय छ । हामीले नरिसाउन अनुरोध गर्ने हो । हाँसेर नरिसाउनुस भन्ने ! ऊ जति चर्किएर बोल्छ, आफूले त्यति नै मन्द स्वरमा हाँसेर अनुरोध गर्ने । यही एउटा उपाय हो ।’

टेलिभिजन अन्तर्वार्तामा आक्रामक हुनुपर्छ भन्ने लाइन सेटअप गर्ने अर्का व्यक्ति हुन्– ईन्द्र लोहनी ।

कान्तिपुर टेलिभिजनमा प्रसारण हुने उनको कार्यक्रम ‘बहस’ पनि निकै चर्चित कार्यक्रम थियो । उनी विभिन्न क्षेत्रका मानिसलाई बोलाएर धुलोपीठो पार्थे । अझ दलका नेताहरुलाई त उनी साफ पार्थे । यसबाट पनि थुप्रै टेलिभिजन कर्मीले अन्तर्वार्ता भनेको आक्रामक हुनु हो भन्ने सिके र त्यही अनुसरण गरे ।

अहिले कतिपय साथीहरुलाई रातारात चर्चित हुने भोक जागेको देखिन्छ । विवादास्पद कुरो निकाल्यो, केही तिकडम गर्यो...चर्चित । दुईचारवटा यूट्यूव च्यानल र अनलाइनमा प्रचार गर्‍यो... सेलिब्रेटी । कुनै व्यक्ति वा सस्थालाई संचारमाध्यमबाट तथानाम गाली वर्षायो... लोकप्रियता ।

यो हाम्रो सामाजिक समस्या नै हो । जबसम्म चर्चित भइँदैन, त्यसले युट्यूबमा भ्यू पाउँदैन । त्यसले पैसा पनि कमाउँदैन । जति बढी भ्यू, त्यत्ति नै बढी चल्यो भन्ने मानसिकता छ । यसले पनि मानिसलाई सस्ता र विवादास्पद गतिविधि गर्न प्रेरित गरिरहेको छ ।

अहिले पनि नेपालका टेलिभिजन च्यानलहरुमा पढे लेखेका, गम्भीर, संवेदनशिल र व्यावसायिक पत्रकारहरु प्रशस्त छन् । कतिपय पर्दामा देखिन्छन्, कतिपय देखिदैनन् वा उनीहरुलाई मौका दिइएको छैन । जति देखिन्छन्, उनीहरुलाई राम्रो वातावरण र प्रोत्साहन दिइएको छैन  ।

गम्भीर र व्यायवसायिक पत्रकार ओझेलमा पर्दा समग्र संचार क्षेत्रप्रति नै नकारात्मक भावना पैदा गराएको छ । सरकारले मिडिया मिसन सम्बन्धी विधेयक ल्याउनुको कारणका लागि पनि यस्तै कारण अघि सारेको छ ।

टेलिभिजन टक सो अर्थात अन्तर्वार्तासम्बन्धी कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउन विजयकुमारले भने झैं सबैभन्दा बढी जिम्मेवार र विनम्र हुनुपर्ने हामी आफैँ ‘होस्ट’  हो । गेस्टले तथानाम गरे नाङ्गिने उ आफैँ हो ।

फलेको वृक्षको हाँगो न झुकेको कहाँ छ र ?

उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर !!

अन्तर्वार्ता टेलिभिजन टक-शो विवाद विजयकुमार