विदेश यौन-शिक्षा मुख्य समाचार स्वास्थ्य

बेलायतीहरुको यौन सम्पर्क दर घट्दो

बेलायतीहरुको यौन सम्पर्क दर घट्दो

बेलायतीहरुले केही वर्षयता यौन सम्पर्क कम गर्न थालेको बृहत् राष्ट्रिय सर्वेक्षणले देखाएको छ । ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित प्रतिवेदनले करिब एक तिहाइ महिला तथा पुरुषले गत एक महिनामा यौन सम्पर्क नै नगरेको देखाएको छ । १६ देखि ४४ वर्षका आधाभन्दा कम महिला तथा पुरुषले सातामा एक पटकमात्र यौन सम्पर्क गर्ने गरेको बताएका छन् ।

 

 

३४ हजार मानिसमा गरिएको सर्वेक्षण तथ्यांकअनुसार २५ वर्ष माथिका वैवाहिक जोडी वा सँगै बसेका (लिभिङ टुगेदर) महिला तथा पुरुषको यौन क्रियाकलापमा गत २१ वर्षको समयावधिमा सबैभन्दा बढी गिरावट आएको छ। अनुसन्धानकर्ताहरुले बेलायतको यौन सम्बन्ध र जीवनशैलीबारे सन् १९९१, २००१ र २०१२ को राष्ट्रिय सर्वेक्षणको तथ्यांकलाई आधार मानेका हुन्। यसबाट बेलायतका नागरिकको यौन क्रियाकलापबारे आंकलन गरिएको हो। हालै प्रकाशित तथ्यांकअनुसार १६ देखि ४४ वर्षका आधाभन्दा कम (४१ प्रतिशत) मानिसले गएको महिनामा सातामा कम्तीमा एक पटक यौन सम्पर्क गरेको बताएका छन्।

 

गएको महिनामा एक पटक पनि यौन सम्पर्क नगर्ने महिलाको अनुपात सन् २००१ देखि २०१२ को बीचमा २६ प्रतिशतबाट बढेर २९.२ प्रतिशत र पुरुषको २६ प्रतिशतबाट बढेर २९.२ प्रतिशत पुगेको पाइएको छ। महिनाको १० पल्ट वा त्यो भन्दा बढी यौन सम्पर्क गर्ने महिलाको संख्या २०.६ प्रतिशतबाट घटेर १३.२ प्रतिशत छ भने पुरुषको २०.२ प्रतिशतबाट घटेर १४.४ प्रतिशत रहेको छ। ३५ देखि ४४ वर्षका औषत महिलाले गत महिनामा यौन सम्पर्क ४ पटक गर्ने गरेकोमा २ तथा पुरुषले ४ बाट ३ पटकमा झरेको अध्ययनमा देखिएको छ।

 


लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरुले कुमारित्व जोगाउने उद्देश्यभन्दा पनि पहिला यौन क्रियाकलाप बढी गर्ने मानिसहरु नै संख्यामा कमी आएको बताएका छन्। २५ वर्षभन्दा कम उमेरका अविवाहितले थोरै यौन सम्पर्क राखे पनि विवाहित तथा सँगै बस्ने जोडीको यौन क्रियाकलापमामा समेत उल्लेख्य कमी आएको जनाइएको छ।आधुनिक जीवनशैली, कार्यव्यस्तता तथा चिन्ताका कारण यसरी यौन क्रियाकलापमा ह्रास आएको जनाइएको छ।

 

जागिर, बालबालिकाको जिम्मेवारी, सामाजिक अवस्था आदि कारणले पनि यौनमा कमी आएको हुनसक्ने प्रतिवेदनमा छ। समाजमा महिला पुरुष समानताको मुद्दाका कारणले पनि महिलाहरु आफ्नो पतिको चाहनाअनुरुप यौन गर्न चाहँदैनन् भन्ने छ। कतिपयले सामाजिक सञ्जाल तथा विश्व आर्थिक मन्दीका कारण पनि यौन क्रियाकलाप घटेको हुनसक्ने औंल्याएका छन्।