विचार

युवा मन विचलनको संघारमा

युवा मन विचलनको संघारमा
  • मन्जु मिश्र

बाटोमा बरालिएर हिड्दै थिएँ, अचानक दश वर्ष पहिले देखि हराईरहेकी एउटी साथी भेटें । अचानक उसंग भेट हुन्छ जस्तो सोचेकै थिइनँ । एक किसिमको आनन्द हुन्छ साथीभाई भेट्न पनि । झन नसोचिएको बेला । गम्ल्यांग अंगालो हालेपछि....... 

ऊ : के गर्दै छेस केटी आजकल, टन्नै पढिस् भन्ने पो सुने त मैले ?
म : अँ, त्यै समाज शास्त्र तथा मानवशास्त्रमा डिग्री गरे, अनि एलएलवि सकेर अधिवक्ताको लाइसेन्स पनि लिएकी छु । 
ऊ : अनि के गर्दै छेस सुना न काम ?
म : काम खोज्दै छु यार । पाको छैन ।
ऊ : तेरो विषयको त एनजिओ, आइएनजिओमा खुब माग छ नि, एप्लाई गरिनस् ?
म : एप्लाइ त कति गरें गरें नि, मेरो योग्यता अनुसारको पोष्टमा एप्लाई गर्दा सर्टलिस्ट नै गर्दैन, दश पन्द्र वर्षको अनुभव माग्छ । सानो पोष्टमा काम गरु भने पनि टेन प्लस टु पास गरेकाको लागि भनेर छुट्याएकोमा कसरी काम गर्नु ।
ऊ : अधिवक्ताको लाइसेन्स पनि छ भने त, ल फर्म खोले भैगो नि ! पैसा मालामाल कमाउछन् वकिलहरुले हैन? फेरी अचेल त देशैभरी नगरपालीकाहरु छन् एउटामा कानूनी सल्लाहकार बसे पनि त हुन्छ नि ?
म : ल फर्म खोल्न पैला राम्रा वकिलहरुसँग काम सिक्नु पर्छ नि, ठुला वकिलहरु काम सिक भन्छन एक पैसा दिदैनन् अनि पकेट मनि समेत पाईदैन । अर्कोतिर नगर पालिकामा हामी जस्ता अनुभव नभएका वकिलहरुलाई पत्याउदैनन् । 
ऊ : सोर्स फोर्स लागाईनस्, तेरो त पार्टीमा पनि राम्रै लिंक छ नि ?
म : सोर्स त कति लाए लाए । मेयर सावले सोर्स पनि टेरेनन् । उपमेयरलाई कानूनी सल्लाहकार नै चाहिदँैन अरे, आफै जान्नेबुझ्ने छिन्, जावो मिलापत्र गर्ने त हो नि ।
ऊ : हेर । बेस्ट आईडिया छ । सरकारले जापान र कोरीयाको लागि कामदार पठाउन राम्रो सम्झैता गरेको छ । थोरै पैसा लगानी गर्दा नै जापान पुगिन्छ । त्यै बेसिक भाष जान्ने त हो नि । तँ पढेलेखेकी मान्छे, भाषा टिपिहाल्छेस । म पनि त जापानिज भाषा सिक्दैछु नि, तीन महिना पछि काठमांडौमा परीक्षा हुन्छ । तँ पनि सिक, संगै जाउला जापान हुन्न ?

उसको सल्लाहले म झस्किए । आंत नै सुकेर आयो । मैले मेरो जीवनको एक चौथाई समय लगाएर, बाउआमाले एक छाक खाएर अर्को छाकले मेरा कापी किताब किनेर काठमांडौमा पढाएको जापान जानलाई हो त ? मलाई तरंगीत बनायो जापान जाने कुराले । एक मनले झोलाबाट डिग्री पासको सर्टिफिकेट र अधिवक्ताको लाइसेन्स देखाइदिएकी जस्तो पनि भयो । तर उसले पनि त मेजर अंगे्रजीमा डिग्री पास नै गरेकी थिई, त्यसो गरिन । म हतार छ भनेर उम्किए ।

बेलुकीपख घरबाट फोन आयो । ड्याडीले हालखबर सोधेपछि......... 

ड्याडीः वडा कार्यलयमा बेरोजगारको फारम खोलेको छ, सबैले धमाधम भर्दै छन् । छिटै आएर फारम भर फेरी म्याद गुज्रिन्छ । 
मः त्यो बेरोजगारको सूचना दिने फारम म जस्ता पढेलेखेका मान्छेको लागि होईन ड्याडी । त्यो त अरु नै यूवाको लागि हो । जो वर्षभरीमा काम गर्दापनि पेट पाल्न सक्दैनन् उनीहरुको लागि सरकारले डिजाईन गरेको हो ।
ड्याडी : रोजगार नपाए मैनावारी भत्ता पनि पाईन्छ, काम नपाउन्जेल आठ हजार पनि ठिकै हुन्छ नि । आऊ । 
म : त्यो आठ हजार त म काम गर्न थाले भने एकैदिनमा कमाउन सक्छु नि । पर्खनुस् न ।
ड्याडीसंग नाकनिक कुरा गरेर म एकछिन बेरोजगारीको फारम पो भरु की क्या हो भनेर सोच्न थाले । आफैं देखि लाज लाग्यो । प्रशस्त श्रम गरेर देश पनि बनाउनु पर्ने आफ्नो आर्थिक उन्नती पनि गर्नुपर्ने समयमा सरकारले यो युवालाई घरमै राखेर आठ हजार दिने कुरा किन निकालेको होला । फेरी मनै लाभ लिन थाल्ने हो भने ती पढेनलेखेका यूवाहरुलाई कसरी जिविकोपार्जन गराउनु ? उनीहरुको भाग किन खोस्नु मैले ? यो मेरो नैतिकता भन्दा बाहीरको कुरा थियो ।

बेलुका फेसबुक चहार्दा चहार्दै सिड्नीमा सेटल भएको एउटा साथी अनलाईन आयो । कुरैकुरामा ..........

ऊ : स्टुडेन्ट भिसा एप्लाई गरेर अस्ट्रेलिया आउ न तिमी, अचेल सजिलै छ अस्ट्रेलियाको भिसा ।
म : कहाँ बाट पाउनु नि २० लाख मैले । फेरी बैंकमा राख्नलाई घर जग्गा पनि हुनु पर्दैन र ?
ऊ : आयल्समा राम्रो स्कोर गरन, डिपेन्डेन्ट जतिपनि पाइहाल्छ नि । 
म : अब कसलाई खोज्नु नि डिपेन्डेन्ट पनि ?
ऊ : त्यो त कन्सल्टेन्सीले आफै खोजिदिन्छ । तिमीले खोज्नै पर्दैन । त्यहाँबाट पेपर म्यारिज गरेर आउने अनि यहाँ आएर डिभोर्स गर्ने । आफ्नो लाईफ सेटल गर्ने, कति धेरैले यस्तो गरेका छन् ।

उसलाई बाई बाई गरेपछि घोत्लिए, म किन जानु स्टुडेन्ट भिसामा । यत्रो पढीसके त । अब के पढ्न जानु, डिप्लोमा इन बिजनेस गर्न ? मेरो देशमा गरेको डिग्रीलाई उनीहरुकोमा लगेर रद्दीको टोकरीमा मिल्काउनु अनि घटेर पढ्नु । 

हिजो माइजु भन्दै हुनुहुन्थ्यो, “भान्जी इजरायल जानु तपाई पनि । यहा केही काम पाइदैन पनि । उता गएर केयर टेकरमा टन्न पैसा कमाइन्छ । ऊ दिदिले हेर्नु त पाँच तले घर बनाकी छ, त्यही इजरायल गएर त हो नि ।”

म : कसरी जानु माइजु इजरायल पनि । सरकारले प्रतिबन्ध लगाको छ । रिस्क हुन्छ नि ।माइजु : केही हुँदैन भान्जी यहाबाट होइन जाने, इण्डियाबाट पठाउछ मेन पावरले । चौध पन्द्र लाख तिर्नुपर्छ, गईहालिन्छ । यतिको मान्छेले डराएर हुन्छ ? 

मेरा एकजोडी साथी कोरीयामा छन् । फेसबुकमा आफ्नो कोरीयन ह्याप्पी लाईफ सेयर गरीरहन्छन् लोभलाग्दो गरी । एकदिन भन्दै थिइ, “आठ घण्टा त टोइलेट जान पनि फुर्सद हुँदैन यहाँ । कपालले आँखा छोप्यो भने, पन्छाउन समेत पाईदैन । तैपनि पैसा पाएपछि सबै थोक बिर्सीदो रहेछ ।” उनीहरु पनि दुबैजना डिग्री पास गरेर यहा काम नपाउने जस्तो भएपछि इपिएस पास गरेर गएका । मलाई भने कोरिया नाम सुन्दै डर लाग्छ ।

म नेपालका केही महत्वपूर्ण मानिसहरुलाई चिन्छु पनि । मलाई भ्रम भएको छैन भने उहाँहरुपनि मलाई चिन्नु हुन्छ । केही संग नियमित जस्तो सम्पर्क हुन्छ । एक जना वर्तमान नेपाल सरकारको केन्द्रीय मन्त्री पनि हुनुहुन्छ । हाई हेल्लो पनि हुन्छ कहिलेकाही । मलाई अलिक हाईफाई मान्छेलाई फोन गर्न लाज लाग्छ । उनीहरु आफूलाई सम्झिएको हो वा आफ्नो पदलाई हो भनेर कनफ्युजन नहुन भनेर म उनीहरुको टचमा बस्दीन उतिसारो । सन्चो बिसन्चो सोध्न पनि निकै सकस पर्छ । स्वार्थी सोच्लान भनेर । त्यैपनि उहाँले एक सालिन भेटका क्रममा भन्नु भएको थियो, म मन्त्री भएपछि  तपाईका लागि केही सोच्छु भनेर । त्यही आशले एकदिन म्यासेज गरें । केही सोच्नु भयो कि भनेर । म्यासेज डेलिवर भाको तीन महिनामा पनि रिप्लाई आएको छैन । मैले पनि घच्घचाएको छैन् । 

एक पटक एकजना तत्कालीन प्रसिद्ध ब्यक्तीत्वलाई उहाँकै घरमा लिन जादा मेरो मोवाइल फुटेको थियो । उहाँ नेपालमा ठुलै नाम कहलिएको वर्तमान सरकारको मन्त्री पनि हो । त्यसपछिका भेटहरुमा उहाँ मलाई देख्ने बित्तिकै मेरो मोवाईल फुटेकोमा अफसोच गर्नु हुन्थ्यो । मोवाईल होइन तपाईका लागि राम्रै कुरा सोचेको छु भन्नु हुन्थयो । अचेल सम्पर्क छैन । उहाँहरु यति व्यस्त हुनुहुन्छ कि हामी जस्तालाई सम्झिने कुरै हुँदैन ।

अचेल प्रशस्त खबर सुन्न पाइन्छन् धेरै मानिसहरुले कृषि र पशुपालन गरेर मनग्गे आम्दानी गरेको कुरा । सबैले ठुलै कुरा ताकेर कृषि क्षेत्र ओझेलमा परेकाले पनि बेरोजगार बढेको अनुमान गरीरहन्छन् केही थान मानीसहरु । यसकारण म एकदिन एउटा सहकारीमा गएँ, जहाँ मेरो पनि साधारण सेयर सदस्य छ । मेरा कुरा सुनेपछि सहकारीका संचालक समितीका अध्यक्षले भने “तिमी जस्तो वकिलसावले पनि कृषिको काम गर्छु भन्ने हो । तिमीले खेतीपाती गर्‍यौ भने अड्डा अदालत कसले हांक्छ ? अनि नपढेलेखेकाले हामी माथी शासन गरे भन्दै रोइलो पनि गरीराछौ तिमी पढेलेखेका यूवाहरु । हामी अनुदानको रकम दिउँला, राम्रो अवसर पाएपछि बिचमै छोडेर भाग्न बेर छैन, यो तिम्रा लागि होइन नानी ”उनको कुरालाई नर्काने सार्मथ्य थिएन, म निस्किएँ । 

अध्यक्ष ज्यूका कुराले राजनिती पो गरुकी जस्तो लागीरहेको छ । फेरी सोच्छु, म कहीँ पनि सफल हुन नसकेको मान्छे कसरी देशलाई सफल बनाउन सक्छु राजनीति गरेर । विद्दार्थी जीवनमै गरेको राजनीतिको अप्रिय अनुभव पनि नभएको होईन । त्यसबेलाका गिद्धे नजर आजसम्म मेरा आखामा कैद छन् । फेरी तिनै मानिसको हातमा लोकल पार्टी छ । फेरी म उनीहरुकै हात समाउन जानु र ? नयाँ आएका पार्टीमा प्रवेश गरौं भनेपनि उनीहरुलाई म चाहिएको होईन पार्टी चलाउन चाहीने पैशा खर्च गर्न सक्ने एनआरएनहरु चाहिएका छन् । विप्लवहरुको राजनितीक अभ्यास मलाई मन पर्दैन । सिके राउतले पक्कै पहाडे भनेर मिसाउदैनन् होला । ठुला पार्टीहरुमा आफ्नै कार्यकर्ता ब्यवस्थापन गर्न नसकेर बेहाल छ । 

यस्तो बिचलनमा म एक्लै मात्र होईन अरु पनि तमाम साथीहरु फसेका छन् । उद्धार गर्ने कसले हो ?

युवा मन