मेरो परिवार मेरो कथा सफलताको कथा

वैदेशिक रोजगार छोडेर कृषिसँगै भान्साघर

वैदेशिक रोजगार छोडेर कृषिसँगै भान्साघर

पाल्पा । युएईमा नेपालीको हितमा काम गर्ने पाल्पाली समाज युएईका महासचिव धनबहादुर क्षेत्रीले विदेशबाट फर्केर कृषिफार्म सञ्चालन गरेका छन्। युएईमा १३ वर्षसम्म काम गरेका क्षेत्रीले कृषिफार्म तथा भान्साघर सञ्चालन गरेका हुन्। सन् २००३ देखि २०१८ सम्ममा युएईमा कुकम्यान (खाना पकाउने मान्छे) का रूपमा काम गरेका थिए।

 

पाल्पा बगनासकाली गाउँपालिका–७ कहलाबारीका क्षेत्रीले अधिकांश समय पैसाका लागि विदेशमै खर्चिए। विदेशमा महासचिवको हैसियतमा काम, दाम र नाममा कमी थिएन तर, महासचिवका हैसियतले विदेशमा रहनुभन्दा स्वदेशमा नै केही काम गर्नुपर्छ भनेर विदेशको ६०/७० हजारको मासिक आम्दानी छाडेर उनी स्वदेश फर्किए।

 

विदेशबाट फर्केर गाउँपालिका–७ को गाईघाटमा स्वदेशमा नमस्ते कृषिफार्म तथा भान्साघर सञ्चालन गरे। उनको भान्साघरमा जैविक खाना तथा खाजा खान पाउने सुविधाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ। करीब दुई महीना अघिदेखि भान्साघर सञ्चालनमा आएको हो। कृषिफार्मको काम अघिदेखि सञ्चालन आए पनि भान्सा ढिलो गरी सञ्चालनमा ल्याइएको हो।

 

गाईघाट नेपालको ताजमहलका रूपमा परिचित प्रेमको प्रतीक रानीमहल जाने सडकमा पर्छ। आन्तरिक तथा बाह्य पर्यटकलाई स्वच्छ, ताजा खाजा खुवाउन पाउँदा क्षेत्री पनि खुशी देखिन्छन्। स्वदेशमा केही गर्दा युवालाई रोजगारी सिर्जना हुने र केही पैसासमेत आम्दानी हुने भएपछि विदेश छाडेर स्वदेशमा श्रीमतीका साथ नयाँ व्यवसाय अँगालेको उनको भनाइ छ।

 

कृषिफार्म उस्तै मेहनत

करीब रु दश लाखमा कृषिफार्म तथा भान्साघर सञ्चालित छ। कृषिफार्ममा करीब २० रोपनी जग्गामा स्थानीय प्रजातिका मौसमी तथा बेमौसमी तरकारी बाली उत्पादन भइरहेका छन्। गोलभेँडा, काउली, खुर्सानी, आलु, प्याज, लसुनलगायतका स्थानीय जातका तरकारी खेतमा उत्पादन भइरहेको छ। जैविक तरकारी उत्पादनका लागि श्रीमान् र श्रीमती नै खटिन्छन्। तरकारी उत्पादनले बाह्रै महीना हरियाली हुँदा निकै सुन्दर यस क्षेत्रमा पर्यटक टहलिन्छन्।

 

भान्सामा स्थानीय स्वाद

स्थानीय जातका परिकार नमस्ते कृषिफार्म तथा भान्साघरमा पाक्छ। ग्रामीण क्षेत्रमा बसोबास गरी शहरमा बसोबास गर्न बाध्य भएकाले गाउँघरको झल्को मेटाउँछन्। भान्साघरमा कोदो, फापर, मकै, रोटीको परिकार पाइन्छ। ढिँडो, गुन्द्रुक, मसौरा, ‘लोकल’ कुखुरा, खसीबोका, माछाको स्वाद लिन पर्यटकसँगै स्थानीय बासिन्दा पनि त्यहाँ पुग्छन्।

 

दूध, दही, घिउको स्वादले पर्यटक सधैँ यतातिर तानिन्छन्। गुन्द्री र काम्लोमा बसेर पर्यटकलाई खाना खुवाउने व्यवस्था छ। पर्यटकले स्थानीय जातका कुखुरा, खसीबोका खोरबाट रोज्न पाउँछन्।

 

माछामा सबैको नजर

माछा खान चाहना भएकालाई पोखरीको माछा निकालेर खुवाउने व्यवस्था छ। जसका कारण ताजा माछा खान पाउने भएपछि मानिस त्यहाँ पुग्छन्। यसरी दैनिक मानिस कृषिफार्मको अवलोकनसँगै जैविक खाजा खान त्यहाँ पुग्छन्। अहिले त्यस क्षेत्रका मानिस माछापालनको अवलोकन गर्नसमेत पुगेको भेटिन्छ।

 

क्षेत्रीले एउटा घरमा मिनी सङ्हग्राहलय पनि सञ्चालनमा ल्याएका छन्। सङ्ग्रहालयमा प्राचीनकालीन सिक्का देख्न पाइन्छ । विदेशी पर्यटकका लागि हलो, जुवा, ढिकी जाँतो, हतासोलगायतका परम्परागत प्रविधिप्रति आकर्षक छन्।

 

करीब दुई वर्षअघि सञ्चारकर्मी वसन्त कुँवरले गाईघाटमा रिसोर्ट सञ्चालनमा ल्याएसँगै त्यस क्षेत्रमा खाजा घरहरु बढेका छन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो खाजा खाने र केहीबेर टहलिन सहज भएको छ । स्थानीय बासिन्दा साँझ बिहान त्यहाँ आउँदा रमणीय क्षेत्रका रुपमा बदलिएको छ ।

कृषि