विचार

झिँगा र मौरी हेर्दा उस्तैः एउटाले मह खोज्छ, अर्कोले रोग सार्छ

कल्पित सुवेदी

झिँगा र मौरी हेर्दा उस्तैः एउटाले मह खोज्छ, अर्कोले रोग सार्छ

संस्कार र संगत मानिसका सर्वप्रिय गहना हुन् । यी दुई चीज शिक्षाभन्दा धेरै माथि छन् । राम्रो शिक्षा भएर संगत र संस्कार भएन भने त्यो फगतः प्लास्टिकको फूलजस्तो कोरा  हुन्छ । जसमा मौरी झुम्मिदैन । यो आलेख पनि ३ करोड जनताको व्यवस्थापकीय जिम्मेवारी बोकेका दुई अभिभावक केपी ओली र प्रचण्डको विवादास्पद गतिविधिमाथि केन्द्रित छ । नेकपाका एउटा अध्यक्ष प्रचण्ड पत्नीको उपचारका लागि अमेरिका जानुभयो । मन्त्रीसरहको सुविधाप्राप्त नेपालका लागि अमेरिकी राजदूत नै यो कामका लागि खटिएपछि त्यसको अर्थ हुन्छ– राज्य नै उहाँ पछाडि छ ।

 

यति हुँदाहुँदै अमेरिकी विमानस्थलमा प्रकट चाल्र्स विलियम मेन्डिजको फोटो फ्रेममा उपस्थितिले आँखा बिझाउँछ । मन झस्काउँछ । अमेरिकी मूलका नेपाली पात्र जानेमानेका ‘पावर ब्रोकर’ हुन् । राजावादी, माओवादी, खाओवादीदेखि प्रजातन्त्रवादी भनिने उच्चतहका सवैसंग यिनको कुम जोड्ने सम्बन्ध छ । बैंकिङ कसुरको मुद्दासमेत भोगेका यिनी स्वतन्त्र तिब्बतका गतिविधि चलाउने अमेरिकी एजेन्टका रुपमा परिचय बनाएका व्यक्ति हुन् । यो भेट स्याल कराउनु र बाख्रो हराउनुमा मात्र सीमित छैन् । नेता यस मानेमा नेता हुन्छ कि उसका सम्पूर्ण चालढाल, गतिविधिले राज्यलाई फाइदा पुगोस् । अब भाषणमा क्रान्तिकारी, काममा आज्ञाकारी देखिने दोहोरो चरित्रको आयु बढी हुँदैन् । झूट आवरणमा बाँच्छ भने सत्य नाङ्गै जीवित रहन्छ । 

 

जहाजका अर्का क्याप्टेन ओली विवादास्पद चरित्र काँध हाल्न अझ माहिर हुनुहुन्छ । दुर्गा प्रसाईं नेपाली नागरिक हुन् । एउटा नागरिकले आफ्नो देशमा तोकिएको नियम कानुन पालना गरेर व्यापार व्यवसाय गर्ने हैसियत राख्नु जन्मसिद्ध अधिकार हो । तर उनको एटिच्यूड यति खराब भएका व्यक्ति हुन, जो ओली र प्रचण्डपछिको कित्तामा आफूलाई राख्न पछि पर्दैनन् । व्यवसायीभन्दा पनि पार्टी कार्यकर्ता भएको दम्भ बढी छ । माथिको फोटोमा प्रधानमन्त्री, गृहमन्त्री र प्रदेशमन्त्री बसेको पंक्तिमा असभ्य ढंगले बस्ने तिनै दुर्गा प्रसाईं हुन् । जो कानुनले तोकेको मर्यादाभित्र पर्दैनन् । यस्ता भूइँफुट्टाहरुले पाएको यसखाले महत्वले नेताको कद सगरमाथाबाट कचनाकेचल झर्छ नै, त्यसमाथि राजनीतिको साख पनि स्खलित हुनपुग्छ । 

 

झिंगा र मौरी एउटै वर्गका जीव हुन् । दुवैको पखेटा छ । दुवै उँड्छन् । खुट्टाको संख्या पनि उही छ । साईज पनि समानै छ । यी दुईमा तात्विक भिन्नता भनेको एउटा फोहोर रोज्छ, अर्को फूल । एउटा फूलको पराग जम्मा गरेर मह उत्पादन गर्छ अर्को फोहोरको किटाणु मानिसमा पुर्‍याएर महामारी फैलाउँछ । नेपाल कम्युनिष्ट पार्टीका बोइङ चालकद्वय केपी ओली र पुष्पकमल दाहाल झिंगा बन्ने कि मौरी त्यही कठघरामा हुनुहुन्छ । 

 

सफल क्रान्तिकारी राजनेता हुन्छ । तर त्यही क्रान्तिकारी नेता असफल भयो भने अपराधी दरिन्छ । थालमा रहेको भात थालमा हुन्जेल स्वास्थ्यवद्र्धक खाद्यसामग्री हुन्छ । थालबाट झरेको त्यही भातलाई भात नभएर जुठो भनिन्छ । राम्रो–नराम्रो, पाप–पुन्यको दूरी त्यति लामो छैन् । कलाकार मात्र हैन, नेता पनि देशको सेलिब्रेटी हो । एउटा कलाकारको कला उसले गाएको गीत, खेलेको सिनेमा, रंगमञ्चमा सीमित होला । तर नेता भनेको त्यो अभिभावक हो, जसले पुरै देशको व्यवस्थापकीय बागडोर बोकेको हुन्छ । 

 

नेता कस्तो हुनुपर्छ ? यसको स्पष्ट व्याख्या त छैन । तर उ चौबीस घन्टा जागा रहनुपर्छ । कान खुल्ला हुन जरुरी छ । नेता हाकिम जस्तो तोक लगाउने र निर्देशन दिने पनि होइन । नेता त आफू दुख काटेर जनता सुखी बनाउने सपना देख्छ । आफू साइकल चढ्छ, जनतालाई गाडी चढाउँछ । कौटील्य झुपडीमा बसेर भारत वर्षलाई समृद्ध बनाए । सिंगापुरका नवनिर्माता लिक्वान, समृद्ध चीनका भीष्मपितामह देङ सियाओ पिङ, मलेशियाका मेन्टर महाथिर मोहम्मदको इतिहास गंगा आए गंगै ठीक, जमुना आए जमुनै ठीक भएर बनेको थियो । देश निर्माणको लागि एकलव्य साधना गरेका थिए ।

 

सपना त जसले पनि देख्छ । चित्रमा सुन्दर घोडा त जसले पनि बनाउँछ । देश बनाउनु र तबेलामा घोडा ल्याएर पाल्नु उस्तै चुनौती हो । समृद्धि भाषणमा नभएर रासनमा देखिनुपर्छ । तीन करोड जनताको मुहारमा हाँसोको चमक आउनु भनेकै समृद्धिको अभिव्यक्ति हो । चिनी गुलियो, चिराइतो तीतो, खुर्सानी पिरो भनेर बहस गर्नु भनेको समयको सत्यानास शिवाय केही होइन । गुमनामबाट स्थापित नामलाई बद्नाम हुनबाट जोगिनुस् नेताज्यूहरु ।