अर्थ रोजगार

"कोही पनि विदेश जानुपर्दैन, त्यहाँको जति मिहनेत यही गर्यो भने देशमै सुन फल्छ"

"कोही पनि विदेश जानुपर्दैन, त्यहाँको जति मिहनेत यही गर्यो भने देशमै सुन फल्छ"

चितवन । १ दशक दुबई र कतारमा श्रम गरेका रत्ननगरका पौडेल दाजुभाइ स्वदेश फर्केपछि आफ्नै पान पसलमा रमाइरहेका छन् । परिवारसँगै बसेर उनीहरुले विदेशको भन्दा राम्रो आम्दानी यही  गर्न सफल भएका हुन् । ६ वर्षअघि बैदेशिक रोजगारबाट फर्केका रत्ननगर नगरपालिका–१० निपनीका नरिश्वर र रामु पौडेलले टाँडी बजारको बकुल्लहर चोकमा ‘पौडेल पान पसल एण्ड कोल्ड स्टोर’ खोलेर व्यवसाय गर्दै आएका हुन् । दाजु नरिश्वरका अनुसार उहाँ दुई वर्ष कतार र छ वर्ष दुबईमा तथा भाइ रामु १० वर्ष दुबई बसे । २०६९ सालमा उनीहरू दुबैले सल्लाह गरेर नेपाल फर्केपछि यो व्यवसाय थालेका थिए । 

 

भाइ रामुले भने, “बकुल्लहर चोकको सानीआमाको जग्गामा रहेको पसल बिक्री हुँदै छ भन्ने सुनेपछि दाजुभाइ एयर अरबियाको जहाज चढेर नेपालमा नै व्यापार गर्ने सोचका साथ फर्कियौ । यी दाजुभाइले नेपाल फर्किएर रिमाल बासँग सानीआमाको जग्गामा रहेको पान पसल खरीद गर्नुभयो । रामुले भन्नुभयो,“हामीलाई पान बनाउने ज्ञान थिएन ४ लाखमा पसल किन्दै गर्दा रिमाल बासँग दुईसातासम्म पान बनाउन सिकाउनुपर्ने सर्त राख्यौं ।” सोही सर्तअनुसार भारत नटेकेका पौडेल दाजुभाइलाई रिमाल बाले पान बनाउन सिकाए ।

 

यससँगै ती दाजुभाइले कोल्ड स्टोर पनि सञ्चालन गर्दै अगाडि बढे । दाजु नरिश्वरका अनुसार यी दुबैबाट दैनिक रु ३० देखि ४० हजारसम्मको व्यापार हुने गरेको छ । उनका अनुसार एक महीनामा पसलको भाडा रु ३० हजारसहित पसल र घरको सबै खर्च कटाएर एकदेखि सवालाखसम्म बचत हुने गरेको छ । यही कमाएको पैसाले दुई कठ्ठा जमीन र एउटा नयाँ घर ठड्याइएको र अहिले उनको सम्पति चार करोड बराबरको पुगेको छ । 

 

घरमा खेतीपातीसँगै व्यापारमा बुबाले पनि सघाउँदै आएका भाइ रामुले बताए । सो क्षेत्रमा सबैले रुचाएको पान उनले नै बिक्री गर्दै आएको छन् । “दैनिक तीन सय खिल्लीभन्दा बढी पान बिक्री हुन्छ,” ।  रामुले भने, “यहाँ पान चेरै पनि सुन फलाउन सकिन्छ । विदेशमा अर्काको श्रम गर्नुभन्दा घरपरिवार र स्टमित्रसँगै रमाउन पाउँदा आफू निकै खुशी छु ।” दाजु नरिश्वरले भने,“कोही पनि विदेश जानुपर्दैन, त्यहाँको जति मिहनेत यही गर्यो भने अवश्य सुन फल्छ ।”