भिडियो कभर स्टोरी

बारा र पर्साको भन्दा अझ खतरनाक हावाहुरी आउँदै, नेपालका हिमाल पनि असुरक्षित

बारा र पर्साको भन्दा अझ खतरनाक हावाहुरी आउँदै, नेपालका हिमाल पनि असुरक्षित

मौसमबिद्हरु भन्छन् बारा र पर्सामा जनधनको क्षति हुने गरी आएको हावाहुरी कुनै आकस्मिक होइन । मौसमको कुनै भर हुँदैन । शतप्रतिशत मौसमको पूर्वानुमान पनि गरिदैन । अझ नेपालमा राडार प्रणाली स्थापना नभैसकेकाले साधारण तवरबाटै मौसमको पूर्वानुमान गर्ने हो । बिगतमा पनि यो प्रकारका घटना भैसकेको र अझ भविश्यमा झन डरलाग्दा घटना हुने निश्चित भएको उनीहरु बताउँछन् । 

 


मौसमबिद् बैज्ञानिक एवम नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. मदनलाल श्रेष्ठका अनुसार पृथ्वी दैनिक तातिरहेकाले वाष्पिकरणको मात्रा पनि बढेको र यसले बादल निर्माण प्रक्रिया पनि बढिरहेको छ । बादलसंगै पानी र हावा बन्ने प्रक्रिया पनि तीव्ररुपमा बढेकाले भोलिको दिनमा घनघोर बर्षा र हावाहुरी झन आउने उनको तर्क छ । 

 


प्राकृतिक प्रक्रियालाई कसैले रोक्न सक्दैन । पृथ्वी तात्नेक्रम भनेको जलवायु परिवर्तनको अशर हो । बिश्वका औद्यगिक राष्ट्रहरुले कार्बन उत्सर्जनको मात्रा घटाउन जति प्रयास गरेपनि त्यो कम हुन सकेको छैन । कार्बन उत्सर्जनमा ०.०२७ प्रतिशत मात्र भूमिका खेलिरहेको नेपाललाई यो मामिलामा नखाएको बिष लागिरहेको छ । 

 


मौसमको पूर्वानुमान कहिल्यै शत प्रतिशत नहुने भएकाले बारा र पर्साको घटनामा महाशाखालाई दोष दिन नहुने उनी बताउँछन् । महाशाखाका पूर्व प्रमुखसमेत रहेका श्रेष्ठले राडार प्रणाली जडार गरी प्रभावकारीरुपमा प्रयोग नगरेसम्म अवस्था यस्तै रहने धारणा राखे । सुर्खेतमा राखिएको राडारको कार्यालय कोहलपुर सारेर पनि  गल्ती भएको उनको भनाइ छ । उदयपुर र पाल्पामा  राडार जडान गर्ने गृहकार्य पनि पूरा हुन सकेको छैन । यदि यो प्रक्रिया छिटो गरी उपयुक्त जनशक्ति परिचालन गर्ने हो भने देशभरको मौसमको पूर्व सूचना यकिनकासाथ प्राप्त गर्न सकिन्छ । 

 

">
नेपालमा मौसम र जलवायु परिवर्तनका बिषयमा संस्थागतरुपमा अध्ययन र अनुसन्धान गर्ने वातावरण बनेको छैन । मौसम र जलवायुको बिषयलाई फरक–फरक मन्त्रालय अन्तर्गत राख्नु नै त्रुटीपूर्ण छ । बिषयगत मान्छेहरुसंग छलफल नै नगरी आफू खुशी चल्ने राजनीतिक प्रणाली नै यसमा बाधक छ । 

बैज्ञानिक श्रेष्ठ भन्छन्, ‘ ल भन्नुस बारा र पर्साको यो घटनाका बिषयमा अनुसन्धान गर्नुपर्छ कि पर्दैन ? भोलि फेरि यस्तो नहोस भन्नका लागि  मौसममा देखा परेका संकेतका बारेमा किन चासो छैन ? यो जिम्मेवारी कसको हो ? ’

 


‘हो समस्या यहीं छ । हामी तत्कालका लागि चिन्तित हुन्छौं, फेरि बिर्षिन्छौं । केही गर्नूपर्यो बिदेशीलाई गुहार्यो, आफू केही नगर्ने । यसले अध्ययन अनुसन्धानको संस्थागत विकास हुन सकेको छैन । ’श्रेष्ठको गुनासो छ । 

 


जलवायु परिवर्तनका कारण नै नेपालका हिमालसमेत असुरक्षित बनेका छन् । हजारौं हिमनदी गल्न थालेका छन् । यीनको अस्तित्व संकटमा परेको छ । हजारौ हिमताल फुट्ने अवस्थामा छन् । च्छो रोल्पा र इम्चा हिमताल त फुट्ने अवस्थामा पुगेपछि त्यहाँ बिभिन्न माध्यमबाट पानीको सतह घटाइएको छ । 

 

">
यसरी हिमनदी सुक्दै जाने हो भने हिमाल होइन नाङ्गा डाँडा मात्र रहन्छन् । अनि के को हिमालयको देश नेपाल भन्ने ? पर्यटक के का लागि नेपाल घुम्न आउने ? 

 


पृथ्वीमा गर्मी बढ्नु नै जलवायु परिवर्तन हो । यसले नेपालमा खतरनाकरुपमा रोगको संक्रमण हुनसक्छ । हामीले दुई चारवटा रुख रोपेर केही हुँदैन, यो बिश्वब्यापी मामिला भएकाले यसको समाधान पनि बिश्वस्तरमै खोज्नुपर्छ । 

 


 हामी प्राकृतिक घटना रोक्न सक्दैनौ, तर यसबाट हुने क्षति न्यूनीकरण चाहिं अवश्य गर्न सक्छौं । यसका लागि बलिया संरचना (घर, अस्पताल, बिद्यालय, पुल आदि ) बनाउनु पर्छ । बारा र पर्सा जस्तो हावाहुरी काठमाडौंमा आएको भए केही यस्तै क्षति हुन्थ्यो ? कुनै हालतमा हुने थिएन, किनभने यहाँ बलिया संरचना छन् । 

 


बारा र पर्सामा कमजोर कच्चि घर र संरचना धेरै भएकाले पनि क्षतिको मात्रा बढेको हो । त्यस्तै, कुनै बिपद् आइपरे कहाँ जाने भन्ने सुरक्षित स्थल पहिल्यै तोकिनु पर्छ । यसो भयो भने मानिसहरु संकट आएकाबेला सिधै त्यो ठाउँ सम्झेर जान्छन् । हामीकहाँ यसको अभ्यास नै छैन । अब सरकारले ध्यान दिनुपर्छ । 
">