विचार

म एक निरीह अभिभावक ! 

म एक निरीह अभिभावक ! 

म प्रश्न गर्ने मान्छे । देशका उच्च ओहदामा रहेका, पुगेका, पुग्ने सम्भावना भएका तथा मुलुकका सामान्य जीवन शैली भएका सबैलाई प्रश्न गर्ने मेरो पेशा हो । करिब २० बर्षदेखि लगातार प्रश्न गरिरहेको छु । 

 


म जस्ता प्रश्न गर्ने पेशा भएका नेपालमा हजारौं छन् । आजभोलि पेशा भएकाले भन्दा पेशा नभएकाहरुले गरेका प्रश्न बढी गम्भीर लाग्ने गरेका छन् । तीनै प्रश्नको पेशा नभएकाहरुका प्रश्न नै वास्तविक प्रश्न हुन् । दिनेहरुले उत्तर त दिन्छन् तर सन्तुष्टि मिल्दैन । सबै उत्तर कृत्रिम र जिम्मेवारविहीन । 

 


वरिष्ठ पत्रकार बिजयकुमार पाण्डेले मदन पुरस्कार बिजेता आफनो पुस्तक ‘खुसी’ मा लेख्नु भएको छ, ‘जीवन भर प्रश्न सोधे, अब उत्तर दिन चाहन्छु । ’
म पत्रकार पाण्डेको अनुयायी हुँ । मैले करिब ९ महिना उहाँसंग एकसाथ काम गर्ने अवसर पनि पाएको थिए । जीवनको एक उचाईं प्राप्त गरेपछि उत्तर दिने आँट आउँछ होला, उहाँले उत्तर दिन सक्नु हुन्छ । म भने प्रश्नै प्रश्नले थिचिएको छु । 

 


बिहान उठेर प्रश्नको पोको बोकी घरबाट निस्कन्छु । टेलिभिजन, रेडियो, अनलाइन, औपचारिक/अनौपचारिक सबै गफमा प्रश्न मात्रै निस्कन्छन् । एक त प्रश्न सोध्ने जागिर, त्यसैमा बढ्दो उमेरले मुलुकप्रतिको बढ्दो चिन्ताबाट उत्पन्न थप प्रश्नहरु । 

 


जति प्रश्न सोधेपनि कसैको उत्तरबाट सन्तुष्ट बनिदैन । बजारमा दुई पात धनियाँको मूल्य १० रूपैयाँ छ । रायो, पालुङ्गो, चम्सुरको सानो मुठो ३० रूपैयाँ घटि पाइदैन ।  दाल, चामल, तकारीको त कुरै छोडौं । खसिको मासु किनेर खान सक्ने सामथ्र्यमा मध्यमबर्गिय नेपाली छैनन् । 

 


१५ बर्षअघि काठमाडौंमा धनियाँ र खुर्सानी किन्नु पर्दैन थियो । पसलेले तरकारी किन्दा सित्तैमा त्यसै हालिदिन्थे । अहिले त रामराम...५ रूपैयाँको खुर्सानी देउ भन्दा सिधै आउँदैन पो भन्छन् । 

 


यो वास्तविकता हाम्रो समाजको प्रष्ट तस्बिर भएपनि पानीजहाज र रेलका कुराले यी प्रश्नलाई ओझेलमा पारेको छ । किनभने, फाइब स्टारमा लञ्च र डिनर गर्नेहरु मुलुकको शासन सत्तामा छन्, उनीहरुलाई धनियाँ र खुर्सानीको मूल्य थाहा हुँदैन । 

 


दिनभरी प्रश्नै प्रश्नको बोझले थिचिएको म साँझ घर फर्किदा अबोध  नाबालक छोरोको प्रश्नबाट घेरिन्छु । 

 


‘बाबा ! स्कूलको बिल आएको छ । ’
‘फि समयमा न तिरे एक्जाम दिन पाइदैन  ’
‘म्यामले स्विमिङ लैजाने भन्नु भा छ, स्विमिङ कस्टम पनि चाहिन्छ । ’
‘क्यान्टिनमा पनि थुप्रै पैसा तीर्न बाँकी छ  । ’
‘सबै साथीहरु आफनो बाबाको गाडीमा स्कूल आउँछन्, म चाहिं हिंडेर जानुपर्छ, अब म हिंडेर जान्न, गाडी किन्स्यो । ’
............

 


शुभमका प्रश्नै प्रश्न । सबै प्रश्नहरु छातीमा लागेर मुटु वारपार गर्ने खालका । सबै प्रश्नमा मेरो एउटै जवाफ हुन्छ, ‘ हुन्छ बाबु ! हुन्छ  !
‘भै हाल्छ नी !’
‘डन्ट वरी, भेरी सुन, आइ विल डु   !
यस्तो अवस्थामा छेउमा बसेकी शुभमकी आमा र म मुखामुख मात्र गर्छौ । 
.........

 


यो मेरो व्यक्तिगत सन्दर्भ मात्र होइन । अधिकांश नेपालीहरुको कथा अहिले यही हो । केही दिन अघि मैले फेसबुकमा एउटा स्ट्याटस लेखें– 
‘बोर्डिङ स्कूलको लुट धन्दा जति गर्दा पनि नरोकिने भएपछि जानीजानी आज फेरि एकपटक आफैलाई लुटाइयो । निरीह अभिभावक !’

 


लुटिएको म मात्र होइन, अहिले देशभर प्रायः सबै अभिभावक लुटिएका छन् । निजी बिद्यालयहरुले शिक्षा नियमावली बिपरित अभिभावकहरुको ढाड भाँचिने गरी शुल्क असुलीरहेका छन् । बिद्यार्थी भर्नाको नाममा उनीहरुले नियम बिपरित यसरी शुल्क असुल्नु अपराध हो भन्ने जान्दाजान्दै पनि हामी सहन बाध्य छौं । 

 


देशमा सरकार छ, मन्त्रालय छ, बिद्यार्थी संगठनहरु छन्, अभिभावक संघ छ, नियम कानून सबै छ, तर कोही बोल्दैन । बोलेर पनि केही हुँदैन । बिद्यार्थी संगठनहरु चन्दा उठाउन पल्केका छन्, अभिभावक संघ गफ गर्ने अखडा जस्तो छ , मन्त्रालय, शिक्षा बिभाग जस्ता निकायलाई केही वास्ता छैन, मानौ यो देशमा केही भएकै छैन, रामराज्य छ । 

 


आफ्नी आमाबाटै कोही बालबालिका मारिन्छन् भने यसमा के गर्न सकिन्छ ? हो, यो देशमा सरकारले नै अभिभावकमाथिको लुटलाई बैद्यता दिएको छ । नत्र, यसरी लुट मच्चाउने निजी बिद्यालयलाई कारवाही किन हुँदैन ? अझ उल्टो महानगरपालिकाले २७ प्रतिशतसम्म शुल्क बढाउन मञ्जुरी दिएको छ । संविधानमा भने शिक्षा र स्वास्थ्यलाई निःशुल्क भनी मौलिक अधिकारमा राखिएको छ । यस्तो पनि हुन्छ ? 

 


शिक्षा मन्त्रालय, बिद्यार्थी संगठनहरु, प्याबसन, एन प्याबसन लगायतबीच थुप्रै पटक बिद्यालयको बर्गिकरण अनुसार शुल्क निर्धारण भएको छ । कतिसम्म कुन कुन शीर्षकमा शुल्क लिन पाइने, कहिले बढाउने लगायत सबै बिषय त्यहाँ छन् । यसमा सर्वोच्च अदालतको आदेश पनि आएको छ । तर, निजी बिद्यालयहरुले सबैलाई पाखा लगाउँदै मनपरी ढंगले रकम असुलीरहेका छन् । 

 


निजी बिद्यालयको यो दादागिरी सहनु पर्ने सबै अभिभावकको विवशता छ । एउटा बिद्यालयबाट निकालेर अन्त कहाँ लैजाने ? त्यहाँ पनि त्यस्तै हो । केही व्यक्तिहरुले भन्ने गर्छन् सरकारी  र सामुदायिक बिद्यालयमा पढाए भैगो नी, के को रोइकराई ? यसको अर्थ निजी बिद्यालयलाई लुट्ने छुट दिइरहनुपर्छ भन्ने हो ? 

 


हो, सरकारी र सामुदायिक बिद्यालयको स्तर बढाउनु पर्छ, त्यहाँ छोराछोरी भर्ना पनि गर्नुपर्छ । तर, त्यसको आडमा निजी बिद्यालयको खुलेआम लुटलाई आँखा चिम्लिने भन्ने कुरा कदापी सत्य हुन सक्दैन । 

 


अभिभाबकसँग अनाबस्यक शुल्क असुल्दै मोटाएकाहरुले शिक्षकलाई निम्न पारिश्रमिक दिदै श्रम र बौद्धिक शोषण गरेका छन । त्यस्तै राज्यले तोकिदिएको सिलिङ तोडेर आफुले मनपरी शुल्क असुल्दै कर पनि छली गर्ने गरेका छन् । 

 


निजी बिद्यालयमा दुई किसिमका अडिट रिपोर्ट हुने गर्दछन, एउटा राज्यलाई बुझाउने जहाँ कर छलिएको हुन्छ र अर्को आन्तरिक प्रयोजनको लागि । राज्यले सुक्ष्म अनुसन्धान गर्ने हो भने निजी बिद्यालयको लुट धन्दा बाहिर उद्घाटित हुनेछ ।

 


मेरो निष्कर्ष हो, मुलुकमा जबसम्म बिधिको शासन हुँदैन र दण्डहीनता भैरहन्छ, हामी लुटिनेक्रम जारी नै रहन्छ । प्रश्न सोधौं वा नसोधौं त्यसको केही अर्थ छैन, किनभने अचेल मान्छेलाई बोली ले छुन छोडिसक्यो । नैतिकता र  इमान्दारिता लगभग समाप्त छ ।  देशको परिस्थितिले म मात्र होइन तपाई  पनि ‘निरीह’ हुनुहुन्छ, एकपटक सोचेर हेर्नुस त ?