राजनीति

भ्रष्टाचारविरुद्ध एउटा नयाँ सांस्कृतिक आन्दाेलन चाहिएकाे छः अध्यक्ष प्रचण्ड

भ्रष्टाचारविरुद्ध एउटा नयाँ सांस्कृतिक आन्दाेलन चाहिएकाे छः अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विद्यमान भ्रष्टाचारविरुद्ध साँस्कृतिक क्रान्ति आवश्यक रहेको बताएका छन् ।

 

नेपाल कम्युनिष्ट पार्टी ७०औं वार्षिकोत्सव समारोहलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने "हामीलाई एउटा नयाँ सांस्कृतिक आन्दोलन चाहिएको छ । भ्रष्टाचारविरुद्ध नयाँ अभियान चलाउन जरुरी छ । साँस्कृतिक क्रान्ति चलाउन आवश्यक छ । त्यो साँस्कृतिक क्रान्ति चिनियाँ मोडलको होइन, नेपाली साँस्कृतिक क्रान्ति चलाउनु पर्छ ।"

 

जनअपेक्षा अनुसारका काम गर्दै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न पहल लिनु पर्ने उनको भनाइ थियो । नेपाली श्रमजीवी जनता र विश्व कम्युनिष्ट आन्दोलनको हितमा कदम चाल्नै पर्ने भन्दै उनले यसैका लागि विगतमा पार्टी एकताको संकल्पसहित निर्वाचनमा गठबन्धन बनाएर अगाडि बढेको बताए ।

 

उनले भने "‘कम्युनिष्ट पार्टीहरुबीच एकता भयो भने निरंकुशता आउँछ भन्ने लगायतका भ्रम छर्ने काम भए । पार्टी एकता रोक्न नेपालभित्र र नेपालबाहिर पनि प्रयत्न भए । हामी विचलित नभईकन अगाडि बढ्यौं । अन्ततः अघिल्लो वर्ष जेठ ३ गते पार्टी एकता गरेरै छाड्यौं । एउटा कोसेढुंगा स्थापना गर्यौं ।"