विचार

टिकटक ‘एडल्ट एप’ जस्तै  

कञ्चन न्यौपाने

टिकटक ‘एडल्ट एप’ जस्तै  

सँगैकी सहकर्मी साथीले मलाई भनिन्, ‘हेर न, हिजोआज अफिस आउँदा टिकटक नहेरी घरबाट निस्किन पनि मन लाग्दैन ।’ मैले खिसीको भावमा मुस्कुराईदिएँ । किनभने म खासै टिकटक गर्दिन र लत नै बस्नेगरी त अरु एप, साइटहरु पनि हेर्ने गर्दिनँ । 

 

सामाजिक सञ्जालमा यतिबेला पब्जी र टिकटक अत्याधिक चर्चाका विषय बनेका छन् । यी दुवै एप उपयोग गर्नेहरुले लिने मनोरन्जन त बेग्लै भयो नै नचलाउनेहरुले पनि यी एपबारे बनेका ट्रोलहरुबाट राम्रै मनोरञ्जन पाइरहेका छन् । तर यी एपबारे निगरानी राख्ने निकाय नहुँदा यसले पारेका नकारात्मक प्रभाव असरल्ल छन् ।  पब्जीले त भारतमा एसिड पिउनेदेखि होस् गुमाउने जस्ता घटना भइसकेका छन् । 

 

यस्ता एपबाट फाइदा लिन जान्नेहरु पनि छन् । टिकटकबाटै रेश्मा घिमिरे अहिले चर्चामा छिन् । उनी अभिनित ‘इन्स्टाको फोटो’ बोलको म्युजिक भिडियो हिट रह्यो । योसँगै उनले अन्य थुप्रै म्यूजिक भिडियोमा काम गरिसकिन् । 

 

त्यस्तैगरि टिकटकमा हिट भएर म्यूजिक भिडियोमा छाउने दुई जुम्लयाहा दिदीबहिनी पनि हुन् । प्रिस्मा र प्रिन्सी नाम गरेका यी दुई दिदीबहिनीले नायक पल शाहसँग म्यूजिक भिडियोमा काम गरिसकेका छन् । उनीहरु अभिनित उक्त म्यूजिक भिडियो पनि यूट्यूब ट्रेन्डिङको पहिलो नंबरमा पर्न सफल भएको थियो । 

 

बाइट डान्स नामक कम्पनीले टिकटक एप सन् २०१६ को सेप्टेम्बरमा लन्च गरेको हो । तर लोकप्रियता भने २०१८ मा कमायो । यसबाट भएका फाइदामध्ये आमदानी पनि एक विशेष फाइदा हो । भिडियोमा कुनैपनि कम्पनीको ब्राण्डको प्रचार गरिदिएदेखि लिएर भिडियोको भ्यूज, लाइक, कमेन्ट र शेयरसम्मको कमाई हुन्छ । 

 

पब्जीको चर्चा गर्दा अहिले सिनामंगलस्थित पब्जी क्याफेको स्थापना भइसक्यो । पब्जी खेलमाजस्तै सेट तयार पारेर बनाइएको उक्त क्याफेमा अहिले युवापुस्ताको घुईंचो लाग्ने गर्छ । भोलिको दिनमा पब्जीमा प्रतिबन्ध नै लागे पनि त्यो खेल इतिहासमा रहने र मानिसहरु खेलका दिन सम्झनामा मात्र पनि उक्त क्याफेमा जानुमा दुई मत छैन । 

 

टिकटकबाट धेरैले आफ्नो अभिनय रुचीलाई पूरा गर्ने मौका पाएका छन् । १५ सेकेन्डको भिडियोमा आफ्नो अभिनय देखाएकाहरु कतिले हेर्नेलाई पनि दिक्क बनाएका छन् भने कतिले वाहवाही । हामी नेपालीहरु नेपाली सेलिब्रेटीलाई फलो गर्छौं ।  तर सेलिब्रटीहरु भने बलिउड कलाकारहरुको नक्कल गर्दै टिकटक गरेर नेपाली फलोअरलाई लोप्पा खुवाउँछन् । नेपालका नामी सेलिब्रेटीजस्ता व्यक्तिले बलिउड डायलगमा टिकटक गर्नु कत्तिको राम्रो होला ? जो आफैं माग्ने छ उसैसँग पैसा माग्न कसलाई मजा आउँछ ? सायद यस्तै पाराले पनि होला नेपालका सेलिब्रटीमा स्टारडमको अभाव खड्किएको ।

 

पब्जीमा मानिसहरुको आसक्तिका कारण  प्रतिबन्ध लगाउन सरकार तल्लिन भइसकेको छ । टिकटकको निगरानी कसले गर्ने ? के यसमा सेन्सर हुनु जरुरी छैन ? समाजिक सञ्जालमा हामीले के सामाग्री दिइरहेका छौं भन्ने कुराले मन मष्तिष्कमा ठूलो प्रभाव पारिरहेको हुन्छ । हुँदा हुँदा ¥यापर साकार अधिकारीले केही वर्षअघि फेसबुक लाइभमा बोलेका अश्लिल गालीहरुको पनि टिकटक बन्न थालेको छ । त्यस्तो गालीमा अभिनय गर्नेमा महिलाहरु बढी छन् । यो प्रशंगमा एक मामुली प्रश्नः यसले दिने सन्देश हे हुन्छ ?

 

टिकटकको उद्देश्य मात्र मनोरञ्जन दिने हो भन्ने कुरामा दुई मत नै छैन । तर, के मनोरञ्जनको नाममा जे पनि गर्दै हिड्ने ? 
केही समयअघि एकजना बालकको भिडियो भाइरल भयो । सय सम्मको अंक भन्दा बिहान हुन्छ भन्ने ती बालकको वालसुलभ तर्कबाट धेरैले मनोरञ्जन लिए । उनी त एक प्रतिनिधि पात्र हुन् । बच्चाको पनि टिकटक बनाएर भिडियो हाल्नु कत्तिको उचित हुन्छ ? बच्चाहरुलाई हामीले हाम्रो मनोरञ्जनको वस्तु किन र कहिलेसम्म बनाउने ?

 

टिकटकको प्रयोग गर्न कम्तीमा पनि १६ वर्ष हुनुपर्ने अमेरिकाको कमन सेन्स मिडियाले जनाएको छ । यो एप एप्पल १२ प्लस रेटिङमा छ । त्यस्तैगरि गुगल प्लेस्टोरमा ‘टीन म्याच्यूरिटी’ रेटिङमा छ  । केही समय अघि पनि टिकटकमाथि १६ वर्षमुनिका बालबालिकाको व्यक्तिगत सूचना अवैधानिक तरिकाले संकलन गरेको अभियोग लागेको थियो । जसकारण अमिरिकी संघीय व्यापार आयोगले टिकटकमाथि ५.६ मिलियन डलर जरिवाना लगाएको थियो ।  नेपालमा पनि यो एपलाई ‘एडल्ट सर्टिफिकेट’ दिँदा फरक नपर्ने अवस्था आइसकेको छ ।