कभर स्टोरी

यस्तो मौसममा पनि मुक्तिनाथमा पर्यटकहरुको भिड

यस्तो मौसममा पनि मुक्तिनाथमा पर्यटकहरुको भिड

काठमाडौं । हिमालय क्षेत्रमा पर्ने हिन्दुहरुको महान् तीर्थस्थल मुक्तिनाथसम्म दैनिक पुग्नेहरुको संख्या कति होला, अनुमान गर्न सक्नुहुन्छ ? औपचारिक र अनौपचारिक तथ्यांकअनुसार मुक्तिनाथ क्षेत्रमा हिजोआज दैनिक ८–१० हजार धार्मिक पर्यटकहरु पुग्ने गरेका छन् ।

 

नेपाल प्रहरीले निजी सवारी र यात्रुहरुको तथ्यांक राख्ने गरेको छ । प्रहरीको यो तथ्यांकअनुसार मुक्तिनाथमा दैनिक ८ सय पर्यटकहरु पुग्ने गरेका छन् । प्रहरीले निजी सवारी र हवाईयात्रुको मात्रै गणना गरेर तथ्यांक राख्छ । तर सार्वजनिक यातायात र मुक्तिनाथसम्म पुग्ने मुख्य क्षेत्रहरुमा रहेका पर्यटकहरुको संख्या गणना गर्दैन । 

 

मुक्तिनाथसम्मको यात्रा गरेर फर्केका काठमाडौंका नरेन्द्र खनाल भन्छन्, ‘शनिबारकै स्थितिलाई आधार मान्ने हो भने कागबेनीमै पाँच हजार मान्छे रहेको मेरो ठम्याईं छ । पोखरादेखि मुक्तिनाथसम्मको १५२ किलोमिटरमा पनि पर्यटकहरु धेरै हुन्छन् । यो दृष्टिले मुक्तिनाथ पुग्ने पर्यटकहरुको संख्या उल्लेख्य देखिन्छ, बढ्दोक्रममा छ ।’

 

पोखरादेखि बेनीसम्मको ८० किलोमिटर कालोपत्रे मोटरबाटो पुगिसकेको छ । त्यस्तै गरी कागबेनीदेखि मुक्तिनाथसम्मको ११ किलोमिटर सडक पनि कालोपत्रे छ । बाँकी खण्डको बाटो कच्ची र अप्ठ्यारो छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकृत प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मी भन्छन्, ‘सडक कच्ची, जोखिमयुक्त हुँदा त मानिसहरु यति धेरै आउँछन् भने सुविधाजनक यातायात हुने हो भने मुक्तिनाथमा थामिनसक्नु भिड हुनेमा दुई मत छैन । बीचको सडकखण्डमा पनि निर्माण जारी छ । अबको दूई तीन वर्षमा सडक कालोपत्रै भइसक्ला ।’

 

प्रहरी निरीक्षक रेग्मीका अनुसार दशैंको बेला त मानिसहरुले होटल, लजसमेत पाउँदैनन् । कतिपय मानिसहरु बाहिरै स्लिपिङ ब्यागमा, टेन्टमा, अँगेनाको छेउ, टेबलमा सुतेर रात कटाउँछन् । तातोपानी, टुकुचे, मार्फा, कागबेनीजस्ता क्षेत्रमा पर्यटकहरुका लागि पूर्वाधार विकास भइसकेको छैन । अहिले २–३ हजार भन्दा बढीका लागि सुविधाजनक बसोबासको व्यवस्था नभएको निरीक्षक रेग्मी बताउँछन् । उनी भन्छन्, ‘यहाँ सम्भावना पनि छ, लगानी पनि भइरहेको छ । प्राकृतिक सुन्दरताका कारण पनि यो क्षेत्र धेरै महत्वपूर्ण छ ।’

 

हिमालपारिको जिल्लाका रुपमा परिचित मुस्ताङसम्मै पुगेर धेरै स्वदेशी र विदेशीहरुले वृत्तचित्र निर्माण गरेका छन् । जसका कारण मुस्ताङको प्रचार अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ दर्शन गरेपछि भारतमा समेत मुक्तिनाथ क्षेत्र अझ चर्चामा आयो । 

 

मुक्तिनाथ पुग्न कालीगण्डकीको किनारैकिनार यात्रा गर्नुपर्छ । कालीगण्डकीको किनारदेखि डाँडाँको टाकुरासम्मको उचाईको नापका कारण यो संसारकै गहिरो गल्छीका रुपमा समेत परिचित छ । यस क्षेत्रमा सडक निर्माणाधीन छ । यस क्षेत्रको माटो स्खलनशील पनि छ । जसका कारण मुक्तिनाथसम्म पुग्न जोखिमयुक्त यात्रा गर्नुपर्छ । यात्रा सहज र थप सुरक्षित हुने हो भने पर्यटकहरुको संख्या बढ्नेमा दुईमत छैन । 

 

मुक्तिनाथसम्म पुग्न खर्चको दृष्टिले पनि हालका लागि सस्तो छैन । स्करपियोमा पाँच–सात जनाका लागि ३५ हजार रुपैयाँ भाडा तिर्नुपर्छ । खानबस्नका लागि बेग्लै खर्च हुन्छ । 

 

मुक्तिनाथसम्म विश्वभरका हिन्दुहरुको ध्यान तान्न र धार्मिक पर्यटन अभिवृद्धि गर्न बीरेठाँटीदेखि मुक्तिनाथसम्म केबुलकार सञ्चालनको तयारी पनि भइरहेको छ । यदि केबुलकार यस क्षेत्रमा सञ्चालन हुने हो भने यात्राको समय छोटिन्छ र यात्रुले सुविधाजनक ढंगले यात्रा गर्न पाउँछन् । जसबाट मुक्तिनाथ क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने विश्वास गर्न सकिन्छ  ।