कभर स्टोरी

ओली, प्रचण्ड, बैद्य, बिप्लव सबै कम्युनिष्ट आन्दोलनका ‘बाइप्रोडक्ट’ (भिडियोसहित)

ओली, प्रचण्ड, बैद्य, बिप्लव सबै कम्युनिष्ट आन्दोलनका ‘बाइप्रोडक्ट’ (भिडियोसहित)

निरंकुश राणाशाही विरोधी जनआन्दोलनको पूर्वसन्ध्यामा २२ अप्रिल, १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । यद्यपी एकथरी कम्युनिष्ट नेताहरुले यो मितिलाई वास्तविक कम्युनिष्ट पार्टीको जन्म दिन स्वीकार गर्दैनन् । 

अप्रिल २२ कि सेप्टेम्बर १५ ? 

पुराना बामपन्थी नेता एवम नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीका अनुसार १९४९ अप्रिल २२ तारिख भनेको पार्टी खोल्ने अठोटका साथ पहिलो पर्चा बनाइएको मिति मात्र हो । खास नेकपाको जन्म मिति भनेको १९४९ सेप्टेम्बर १५ तारिख हो । सो दिन नेकपा नामको पार्टी गठन गरिएको थियो । 

">


पार्टी खोलेको घोषणासभा सेप्टेम्बर १५ तारिखका दिन भएकाले सोही मितिलाई नेकपाको स्थापना दिवसको रुपमा मनाउनुपर्ने जोशीको तर्क छ । अप्रिल २२ तारिखलाई तत्कालिन नेकपा एमालेले स्थापना दिवसकारुपमा मनाउन थालेको र हाल माओवादी केन्द्र पनि मिसिएर बनेको नेकपाले यही दिनलाई स्थापना दिवसकारुपमा मनाइरहेको छ । जोशीका अनुसार यो सरासर गलत हो । 

 

राणाशाही विरोधी आन्दोलनलाई सही दिशावोध गर्दै सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनको रूपमा अगाडि बढाउन र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगुवाइ गर्न स्थापित यस पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल हुनुहुन्थ्यो  । अन्य संस्थापकहरूमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतिदेवी श्रेष्ठ हुनुहुन्थ्यो । 

 

स्थापनाकालदेखि नै राणाशाही विरोधी आन्दोलनको झण्डा उठाएको नेपाल कम्युनिष्ट पार्टीले ३० वर्षे पञ्चायती तानाशाही विरुद्ध होस् चाहे निरङ्कुश राजतन्त्र विरुद्ध– हमेशा लोकतन्त्रका निम्ति अनवरत, अथक र बलिदानी सङ्घर्ष गर्दै आएको छ। नेपाल कम्युनिष्ट पार्टीको सहभागिता र नेतृत्वबिना नेपालको लोकतान्त्रिक आन्दोलन यस उचाइसम्म आउनु सम्भव थिएन। २०४६ साल र २०६२÷६३को लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर पार्टीले महत्वपूर्ण भूमिका खेलेको थियो । 

 

कम्युनिष्टको नाममा विकृति 

अहिले नेपालमा कम्युनिष्टको नाममा स्थापित सत्तारुढ दल नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी माओवादी, नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा सबै विकृती हुन् । 

 

सत्तारुढ दल नेकपा र त्यसका नेताहरु कम्युनिष्ट चरित्र अनुसार नभइ कम्युनिष्ट सिद्धान्त, दर्शन र भावना बिपरित चलिरहेका छन् । उनीहरुमा सम्पत्ती थुपार्ने मोह जागेको छ । भौतिक सुविधाप्रति आकर्षण बढेको छ । जनताका समस्याप्रति कुनै चासो छैन । 

 

मोहन बैद्य जडसुत्रवादी हुन् । यस्तो सोचाइ र दिशाले निकास दिंदैन । चन्द राजनीतिकरुपमा स्पष्ट छैनन् । हिंसा अंगाल्नु हुँदैन । बिप्लवले आफूले चाहेको के हो स्पष्ट भन्नुपर्छ ? बन्दुक पड्काएर मात्र हुँदैन । 

 

मध्यमवर्गीय  सोच नै बाधक

नेपालको राजनीतिमा बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, पुष्पलाल र मनमोहन अधिकारीमा उच्चबर्गिय चिन्तन र सोच थियो । त्यो भनेको स्वार्थरहित समाजको कल्पना र त्यही अनुसारको व्यवहार हो । 

 

मध्यमवर्गीय  चिन्तनले अनावश्यक ‘इगो’ खोजेर बस्छ । अहिले बिद्यमान कम्युनिष्ट पार्टी लगायत अन्य पार्टीका नेताहरुमा यही ‘इगो ’ छ । यो ‘इगो’ ले सहअस्तित्वमा काम गर्न दिंदैन । अरुको अस्तित्व स्वीकार गर्न मान्दैन । यस्तै मान्छेहरुको भीडले राजनीति राम्रो हुन सकेन, यसको दुष्परिणाम मुलुक र जनताले भोगिरहेका छन् । 

 

भविष्य  ठीक छैन

सत्ताको लागि नभई मुलुकमा कम्युनिष्ट चरित्र निर्माण, बैचारिक अभियान र सैद्धान्तिक बाटो नभत्कियोस भनेर पुनः सक्रिय राजनीतिमा फर्किनु भएका जोशी नेपालमा कम्युनिष्ट आन्दोलन भविष्य  संकटग्रस्त रहेको बताउनु हुन्छ ।  अहिले हेर्दा सबैभन्दा ठूलो दल, दुई तिहाईको सरकार देखिएपनि यो आत्मा बिनाको शरीर जस्तो भएको छ । ‘जनतालाई केन्द्रमा राखेर अघि नबढ्ने हो भने दुःखकासाथ भन्नुपर्छ यीनको पतन निश्चित छ ।’ जोशीको निष्कर्ष छ ।

चन्द्रदेव जोशी