विचार

छोराछोरी होइन अभिभावक बिग्रिदै

कृष्ण बेहोशी

छोराछोरी होइन अभिभावक बिग्रिदै

के लेखौं के लेखौं भैरहेको थियो । छेउमै बसेकी कञ्चनले एक्कासी सोधिन्– ‘ सर ! तपाईंको छोरालाई कति बर्ष भयो ?’ 


बाल मनोबिज्ञसंग अन्तर्वार्ताको तयारी गरिरहेकी कञ्चनले आजभोलिका बाउआमा आफना छोराछोरीप्रति कतिको सजग छन् भन्ने बुझ्नलाई यो प्रश्न गरेकी हुन् भन्ने थाहा पाउन मलाई समय लागेन । मैले भने, ‘दश बर्ष ! ’

‘अस्ति फेसबुकमा राखेको फोटा... त्यही बाबु होइन ?’ बिस्फारित लोचनकासाथ उनले पुनः सोधिन् । 


‘हो । ’

उनको भनाइको आशय मैले अनुमान गरे– ‘उमेर अनुसारको शारीरिक विकास भएन । ’ 


फोटोमा देखिएका सबै कुरा यथार्थ हुँदैनन्, गोरो मान्छे कालो र निकै कालो मान्छे गोरो पनि देखिन्छ । शुभमको उमेर अनुसारको शारीरिक विकास भैरहेको भएपनि कुनै फोटोमा त्यस्तो देखिनु स्वभाविक ठाने । 

 

कुरो त्यत्ति मात्र होइन । कञ्चनको आश्चार्यजनक प्रश्नले मलाई मेरो भतिजोको छोराको सम्झना दिलायो । डोटीमा बसिरहेको मेरो भतिजोको छोरो अर्थात मेरो नातीको उमेर अनुसारको विकास हुन सकेको छैन । यसको एउटै कारण हो–‘हेरचाह र पोषण । ’

 


हो, बालबालिकालाई आवश्यक हेरचाह र पोषण भएन भने उसको शारीरिक तथा  मानसिक विकास हुन पाउँदैन । यसले स्वयं त्यो बच्चाको भविश्य मात्र होइन परिवार र देशकै लागि चिन्ता थप्ने काम मात्र गर्छ । 

कञ्चनको संगसंगै जोडिएको अर्को प्रश्न थियो–‘प्यारेन्टल केयर कस्तो छ ?’ उनले भन्न खोजेको बालबालिकालाई उसको उमेर अनुसारको व्यवहार गरिरहनु भएको छ वा ह्या जे सुकै होस भनेर त्यत्तिकै छोडिरहनु भएको छ भन्ने नै हो । 

 

कुनै थेसिसको तयारीमा लागे झैं देखिने कञ्चनलाई मैले भने, ‘ म त साथी जस्तो व्यवहार गर्न बाध्य छु, नत्र मान्दैन, झगडा गर्छ । शुभम त ! मायाले कुरा गरे जे पनि मान्छ, हप्कायो भने झन रिसाउँछ । ’

 

‘म्याडम चाहिं नी ? ’ कञ्चनको क्रस क्वेसन थियो । 
‘उनको पनि त्यही हो । उनी म भन्दा बढी सतर्कछिन् । ’

कुरा के हो भने आजभोलि हरेक अभिभावकको एउटै गुनासो छ,– ‘मेरो बच्चाई मोबाइल नभई हुँदैन, के गर्नु चौबिसै घण्टा मोबाइलमा गेम खेलेर बस्छ । ’


बालबालिकाका लागि मोबाइलमा गेम खेलेर बस्नु एउटा रोग जस्तै भएको छ । दिनमा आधा घण्टा मोबाइल चलाउन दिनु ठिकै हुने चिकित्सकहरु पनि बताउँछन् तर जतिबेला पनि मोबाइलमा नै झुण्डिने बानीले उनीहरुको स्वास्थ्यमा गम्भीर समस्या देखा पर्ने उनीहरुको चेतावनी छ । हुनपनि आजभोलि धेरैजसो केटाकेटीका आँखा कमजोर हुने, टाउको दुख्ने, स्मरण शक्ति हस हुँदै जाने जस्ता समस्या देखिन थालेका छन् । 

 

यतिमात्र होइन सोच्ने तौर तरिकामा समेत भिन्नता आउँदा थुप्रै मानसिक समस्या पनि देखिन थालेका छन् । कतिपय केटाकेटी त मोबाइल हातमा नलिएसम्म खाना खान पनि मान्दैनन् । अभिभावकहरुले मोबाइलमा गेम देखाउँदै खाना खुवाउनुपर्ने स्थितिपनि बनेको छ । थुप्रै अभिभावकहरुका यस्ता गुनासा सुन्न पाइन्छ । 

 

जहाँसम्म कञ्चनले भने जस्तो ‘प्यारेन्टल केयर’ को कुरा छ, यो निकै गम्भीर बिषय हो । आजभोलि के शहर के गाउँ कतैपनि अभिभावकहरु आफना बालबालिकाप्रति चिन्तित भएको पाइदैन । सानोमा बच्चालाई चाइल्ड केयर, मन्टेश्वरीमा हाल्ने, पछि बोर्डस गरिदिने...ठूलो भएपछि होस्टल । आफैसंग राख्यो भनेपनि खासै वास्ता नगर्ने । घरमा काम गर्ने मान्छे छ भने उसकै जिम्मा छोडिदिने । आफन्त छन् भने उनकै जिम्मा लगाइदिने । आफू बिहान गएपछि साँझ फर्किने, आफना छोराछोरीको आवश्यकता, चाहना, समस्या लगायतका बिषयमा खासै चासो नदिने । 

 

अहिलेको आम समस्या भनेको यही हो । यसले एकातर्फ बच्चालाई आमाबुवाबाट एक्ल्याईरहेको हुन्छ भने अर्कोतर्फ उसको सोचाइ पनि त्यही अनुसार विकास भैरहेको हुन्छ । पछि एकैपटक छोराछोरीले गलत बाटो लिएको, कुलतमा फसेको थाहा पाएपछि मात्रै उनीहरु झल्यास्स हुने गर्दछन् । 

 


जीवनमा पैसा महत्वपूर्ण कुरा हो तर सन्तानको भविश्य भन्दा ठूलो कदापी हुन सक्दैन । केही दिनअघि जनस्वास्थ्य बिज्ञ डा. अरुणा उप्रेतीसंग भेट हुँदा उहाँ भन्नु हुन्थ्यो, ‘ जो अस्पताल जान्छ, त्यो धनी हो । म त गरीब छु, त्यही भएर अस्पताल जान्न । ’

 

डा. उप्रेतीले यसो भनेर हामी नेपालीको आनबानीप्रति कटाक्ष गर्नुभएको हो । यदि हामी आफनो स्वास्थ्यप्रति सचेत भयौं भने अस्पताल नै जानुपर्दैन भन्ने उहाँको आशय थियो । आफनो स्वास्थ्यको ख्याल नगर्ने अनि अस्पताल दौडिनेहरु धनी नभए के हुन् त ? 

 

ठीक यस्तै, आफना बालबालिकाको भविश्य सुन्दर बनाउन समय निकाल्न नसक्ने आमाबुवा कस्ता हुन् ? आफना छोराछोरी माया र हेरचाहको अभावमा बिग्रिए भने त्यो पैसाको के काम ? बिहानदेखि बेलुकीसम्म कसका लागि कुद्ने ? 

 

छेउमा बसेकी कञ्चन यू ट्यूबमा भिडियो हेर्दैछिन्, अब म उनलाई यस्तो लेख तयार भयो भनेर सुनाउँछु ! 
 

अभिभावक छोराछोरी प्यारेन्टल केयर