Breaking News भिडियो समाज

रानीपोखरी असरल्ल छोड्नेले के बनाउलान् साततले दरबार ?(भिडियो सहित)

सुमन कोइराला

रानीपोखरी असरल्ल छोड्नेले के बनाउलान् साततले दरबार ?(भिडियो सहित)

२०७२ को महाभूकम्पसंगै देशको ऐतिहासिक धरोहर नुवाकोटको साततले दरबार पनि हल्लियो । दरबारका सम्पूर्ण अवयव काम नलाग्ने भए । दरबार धराप बन्यो ।  दरबार चिराधरा भएपछि तीन वर्षदेखि मानव प्रवेश बर्जित छ । भूकम्पको तीन वर्ष बितिसक्दा पनि यसको पुनर्निर्माणको अत्तोपत्तो छैन । सरकारी निकायका मानिस टोली टोली भएर आउँछन, फर्कन्छन् । पुर्खाको नासो यसरी बेवारिसे बनेको देख्दा स्थानीयको मन कुँढिएको छ । कहिले कसले बनाइदिने त कहिले कसले यस्तै हावादारी हल्ला यहाँका मानिसको कानमा ठोकिन्छ । तर दरबारको अवस्था झन्झन् बेहाल हुँदै गएको छ ।\

उनीहरुलाई भूकम्पबाट जोगिएका आफ्ना बालबच्चा खेल्दै जाँदा कतै धराप बनेको दरबार भत्किएर दुर्घटना हुने त हैन भन्ने चिन्ताले स्थानीय अभिभावक पिरोलिएका छन् । चीन सरकारले बनाइदिने भनेर खबर सुनेका उनीहरु प्राथमिकतामा नपरेको देख्दा निरास छन् । जनप्रतिनिधि स्वयं हायलकायल छन् । आफूहरुले अनेक प्रयास गर्दा पनि दरबार पुनर्निर्माण प्राथमिकतामा नपरेको भन्दै उनीहरुले असन्तुष्टि जनाए । पुरातात्विक महत्वका सम्पदा आफूखुसी बनाउन मिल्दैन । पुरातत्व विभागले चासो देखाएको छैन् । दरबार हातामै रहेको भैरवी मन्दिर निर्माण धमाधम भइरहँदा दरबारको अत्तोपत्तो छैन् । इतिहास जोगाउने यति महत्वपूर्ण काममा कसले किन ढिला ग-यो, यसको भरपर्दो उत्तर कसैसंग छैन् । इतिहासविद् प्रा.डा. सुरेन्द्र केसी देशकै ऐतिहासिक सम्पदा पुनर्निर्माणमा देखिएको उदासीनता अकर्मण्यताको चरम उदाहरण मान्नुहुन्छ । 

 ">

नेपाल एकिकरणको बेला गोरखाका राजा नरभूपाल शाहले नुवाकोट एकिकरण गर्न गोरखाबाट वि.सं. १८०० मा आक्रमण गरेका थिए । त्यसपछि पृथ्वीनारायण शाहले तेस्रो पटक १८०१ मा नुवाकोट विजय गरी नुवाकोट दरबारमा बसेर बेलकोटगढी, कान्तिपुर, भक्तपुर, ललितपुर र कीर्तिपुर आक्रमणको योजना बनाएका थिए । नेपालको ‘पश्चिम १ नम्बर’ अन्तर्गत रहेको यस जिल्लाको नामाकरण गोपाल वंशीय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गएको ऐतिहासिक अनुश्रुति रहेको छ । यो ऐतिहासिक पुरातात्विक स्थलको निरीक्षण, अवलोकन भ्रमणमा थुप्रै मानिस आउने गरेका छन् । आश्चर्य त के छ भने यही ऐतिहासिक स्थलको सेरोफेरोमा हुर्किएका किशोर वयका युवालाई पृथ्वीनारायण शाहको इतिहास र यहाँको सम्पदा बारे ज्ञान छैन् । सुनेका छन, तथ्य के हो थाहा छैन् । के भन्छन् त उनीहरु ?

पृथ्वीनारायण शाहले ललितपुरका कालिगढ झिकाई वि.सं. १८१९ मा भव्य नौतले दरबार बनाउन लगाए । पछि नब्बे सालको महा–भूकम्पले दुई तल्ला भत्किएर सात तले मात्र हुन पुगेको थियो । पुरातात्विकविद् डा. साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरूले पाँच तल्ला र सर्ववसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए । तर उपत्यकाका मल्ल राजाहरूको घमण्ड तोड्नकै लागि पृथ्वीनारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन् । यसलाई गृष्मकालिन दरबारका रूपमा उपयोग गरी अर्को शीतकालिन दरबारका रूपमा लिन सकिन्छ । वि.सं. १८२२ मा नुवाकोटकै शेरामा अर्को शेरा दरबारको निर्माण भएको थियो । सात तला रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्घ बन्दी नियन्त्रणमा लिई यही दरबारमा थुनिन्थ्यो । वास्तुकलाका दृष्टिले पनि दरबार उच्च महत्वको मानिन्छ । 

">

यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो । साथै उत्तर पूर्वी कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो । यसको पुनः निर्माणतर्फ सरकारले चासो राखेको देखिदैन । मल्लकालिन धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा प्रसिद्घ भैरवी मन्दिर र सिन्दुरे जात्रा (नुवाकोट) लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाही जात्रा, रोपाइँ जात्रा, टाकटुके जात्रा र लाखे जात्रा आदि प्रमुख मानिन्छ । यी बाहेक अन्य मन्दिर, पाटी–पौवा, डबलीहरू पनि यहाँ नभएका हैनन् । गत वि.सं. २०२० सालको सदरमुकाम स्थानान्तरण सँगसँगै केही साँस्कृतिक परम्परा लोप हुँदै गएका छन् । जुन दुःख लाग्दो विषय हो ।

मल्लकालमा उपत्यकाबाट बसाई सरेर आएका नेवार समुदायले आफ्ना टोलको नाम काठमाडौंजस्तै इन्द्रचोक, ब्रह्मटोल, भूटोल आदि राखेका थिए । जुन अझै कायम छ । 
 

रानीपोखरी नुवाकोटको साततले दरबार