मनोरञ्जन

सलमानलाई रिझाउँदै भन्साली

सलमानलाई रिझाउँदै भन्साली

एजेन्सी । बलिउड अभिनेता सलमान खान र निर्देशक सञ्जय लीला भन्साली १९ वर्षको लामो अन्तराल पछि ‘इंशाअल्लाह’ फिल्मबाट एकसाथ जोडिदै छन् । अब भने भन्साली सलमानलाई निराश बनाउने कुनै पनि काम गर्न चाहदैनन् । त्यसकारण उनले आफ्नो फिल्मको गीतको जिम्मा अब अरिजीत सिंहलाई नदिने भएका छन् । 

भन्सालीले यसअघिका धेरै फिल्ममा अरिजीत सिंहले गीत गाएका छन् । तर सलमान र अरिजीतबीच भएको खटपटका कारण अब ‘इन्शाअल्लाह’ मा अरिजीत सिंहलाई भन्सालीले टाढै राख्ने भएका हुन् । जसकारण उनी सलमानलाई निराश बनाउन नसकुन् । भन्सालीले सलमान खान अरिजीत सिंह भन्दा ठूला ब्रान्ड हुन् भन्ने कुरालाई राम्ररी जान्छन् । जसकारण उनले आफ्नो फिल्ममा अरिजीत सिंहलाई टाढै राख्ने जोखिम उठाउने भएका छन् । यद्यपी अरिजीतले भन्सालीको लागि धेरै हिट गीत दिइसकेका छन् । 

अरिजीत र सलमानबीचको शितयुद्ध

सन् २०१३ को एक अवार्ड शोमा अरिजीत सिंहलाई उत्कृष्ट गायकको अवार्ड मिलेकोे थियो । अवार्ड लिन उनी थोरै ढिला र क्याजुअल ड्रेसमा पुगेका थिए । सलमानले सोधे, ‘तपाईंं सुत्नुभएको थियो ?’ जवाफमा अरिजीतले भने, ‘हजुर, तपाईहरुले गर्दा निदाएँ ।’ यसको मतलब सलमानले आफ्नो एंकरिंग बोरिङ भनेर अरिजीतले त्यसो भनेको आशय निकाले । प्रतिउत्तरमा सलमानले भने, ‘तुम हि हो जस्तो  गीत गाएपछि मान्छे निदाउँछन् नै ।’
त्यसपछि अरिजीत सिंहलाई बजरंगी भाइजान, प्रेम रतन धन पायो जस्ता फिल्ममा सलमानले ब्यान गरिदिए । ‘किक’ मा गीत त गाउन लगाए तर गीत भने मोहम्मद इरफानको आवाजमा रिलिज भयो । 

सुल्तानमा ‘जग घुमेया’ बोलको गीत राहत र अरिजीत दुवैले गाएका थिए । तर गीत रिलिज हुँदा अरिजीतको भर्जन काटिदिए । यत्ति भइसकेपछि अरिजीतले फेसबुकमा खुल्ला रुपमा माफी मागे तैपनि सलमान मानेनन् । 

अब आउँदो फिल्म ‘इन्शाअल्लाह’ मा सलमानको अपोजिटमा आलिया भट्टले काम गर्ने पक्का भइसकेको छ । फिल्ममा दुई पुस्ताबीचको प्रेमकथालाई देखाउने बताइएको छ । 


 

सलमान खान, सञ्जय लीला भन्साली इन्शाअल्लाह’