भिडियो मेरो परिवार मेरो कथा नेपाल आज विशेष

ठालु शासकहरू स्थलगत अवलोकन गरेर हेर दूरदराजको अवस्था कस्तो छ ? [भिडियोसहित]

ठालु शासकहरू स्थलगत अवलोकन गरेर हेर दूरदराजको अवस्था कस्तो छ ? [भिडियोसहित]

आधा भत्किएर टिनले बारेको घर। सुत्नका लागि खाट छैन। सामान यताउता छरिएका। सम्पत्तिका नाममा एउटा टिनको बाकस, केही जोर कपडा र ओड्ने ओछ्याउने। यो कथा हो नुवाकोटको विदुर नगरपालिका-२ मा देखिएको एउटा घरको। जहाँ दुई दिदीभाइ बस्छन्। दिदी १५ वर्षकी भाइ ११ का।

२०७२ बैशाख १२ गते आएको भूकम्पले घर भग्नावशेषमा परिणत गरिदियो। बुबाको धेरै पहिले मृत्यु भएको। आमा अर्कैसँग पोइला गइन्। दुई दिदी थिए। उनीहरूको पनि विवाह भयो। बाँकी रहे दिदी स्वस्तिमा नापित र भाइ राज नापित। बुबा बितेको उनीहरूलाई थाहा छैन। आमा पोइला गएको भने थाहा छ।

स्वस्तिमा काठमाडौंमा काम गर्दै थिइन् आमा पोइला जाँदा। ६ कक्षा पढ्दापढ्दै काम गर्न काठमाडौं आएकी। पढ्न उनको ध्यानै गएन। उनले पढ्नुभन्दा काम गरेर दुई चार पैसा कमाउने मनस्थितिमा पुगिन् अनि लागि सपनाको सरह काठमाडौंतर्फ।

काठमाडौंको एक घरमा काम गर्थिन्। काम सजिलै लाग्थ्यो। सानासाना नानीहरूलाई हर्नु पर्थ्यो। सजिलो हुँदाहुँदै पनि कहिलेकाहीँ परिस्थितिले अफ्ठ्यारो पारिदिन्छ। त्यस्तै भयो उनलाई पनि।

उनलाई बुबा नहुँदाको पीडा त छँदै थियो त्यसैमाथि आमा पनि अर्कैसँग पोइला गएपछि थप पीडा थपियो। घरमा सानो भाइ थियो। दिदीहरूको पनि विवाहबारी भएर आफ्नै घरमा थिए। आमाको निर्णयले कलिलो मस्तिस्कमा आघात पर्‍यो। संसारै शून्य भए जस्तो लाग्यो। यति सानो भाइलगायत हामीलाई छोडेर आमाले यस्तो निर्णय किन गरिन् होलालगायत अनगिन्त प्रश्न उब्जिए बालमस्तिष्कमा मनमा।

घरको परिस्थिति जे भए पनि काम त अगाडि बढाउनै पर्‍यो। उनी आफूलाई समालेर कर्तव्य पूरा गर्दै थिइन्। काम गरिराखेको घरकाले पनि आमा अर्कैसँग गएको थाहा पाए। त्यसपछि भने उनीहरूको व्यवहारमा परिवर्तन देखिन थाल्यो। काम बिगारेको भन्दै हप्किदप्कि खानु पर्‍यो।

खानेबेला 'तेरो भाइले के खायो होला?' भन्थे। यस्ता सहानुभूतिपूर्ण शब्दले उनलाई पिन्च गर्थ्यो। पीडा थप्थ्यो। अन्ततः काठमाडौंको काम छोडेर गाउँ नै फर्किने निधो गरिन्।

आमालाई भेटेर किन यस्तो गरेको भन्नु मन थियो उनलाई । सोधिन पनि। आमाको जवाफ आयो 'परिस्थितिले त्यस्तै पार्‍यो। के गरौँ त नि!' जे हुनु भइहाल्यो भन्दै चित्त बुझाइन्। प्रकृतिको नियमनै हो, जे-जे परिस्थिति आए पनि जीवन त अगाडि बढाउने पर्छ।

आफू नपढे पनि भाइ पढेर ठूलो मान्छे बनेको हेर्न मन छ स्वस्तिमालाई। भाइ राज कक्षा तीनमा पढ्छन्। पढाइमा पनि तेज छन्। यसपटक उनी दोस्रो भए। भाइको रिजल्टले स्वस्तिमा पनि खुसी छिन्।

यद्यपि, उनलाई बुबाआमा नहुँदा धेरै दुःख लाग्दो रहेछ। बुबाआमा भइदिएको भए भूकम्पले लडाएको घर बनाउँथे। सुखसँग बस्न पाइन्थ्यो। कहिलेकाहीँ डर पनि लाग्छ असुरक्षति घरमा एक्लै जो बस्नु पर्छ। केही भइहाल्यो भने? मनमा यस्तै प्रश्न खड्किन्छ। भाइ हुँदा भने अल्लि ढुक्क हुन्छन्। तर उही डले ड्यांग्रो ठोकिहाल्छ।

अहिले भाइ र आफ्नो पालन पोषणको जिम्मा आफ्नै काँधमा छ। आर्थिक जहो गर्न कहिलेकाहीँ अरूको मेलापात जान्छन्। कहिलेकाही आमाले पनि सहयोग गर्छिन्, दिदीहरूको सहयोग पनि पाएकै छन्। त्यतिले दैनिक गुजारा चलेन पनि घामपानीबाट सुरक्षित हुने आवास नहुँदा मनमा भने पीडा नै छ।

तर, अहिले भने उनी खुसी छिन्। किनकि उनको भूकम्पले भग्नावशेष बनाएको घर धमाधम पुनर्निर्माण हुँदैछ। संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (UNOPS) भारत सरकारको आर्थिक सहयोगमा घर निर्माण हुन लागेको हो। नेपाल सरकारद्वारा जारी भवन आचार संहिताअनुरूप भूकम्प प्रतिरोधि घर निर्माण हुँदै छ। परियोजनाले उनीलगायत अन्य धेरैको घर निर्माण गर्दै छ।

उनीहरूको घर बन्दै गरेको ठाउँमा भेटिए छिमेकी राजेन्द्रमान डंगोल। उनले स्वस्तिमा र राजको घर निर्माणको कार्यमा सहयोग गर्दै रहेछन्। उनले त्यो घर लगभग १५ दिनभित्रमा निर्माण सकिने बताए। तीन वर्षसम्म धेरै कठिन तरिकाले जीवन बिताएका स्वस्तिमा र राजले अब छिटै भूकम्प प्रतिरोध पाउने छिन्।

स्थलगत भ्रमणमा राजनीतिक विश्लेषक प्राडा. सुरेन्द्र केसी पनि थिए। दिदीबहिनीको कथाव्यथा नजिकबाट नियालेका उनी भावुक बने। उनले त्यहाँ पुगेर देशको अर्को भागको दर्शन गरेको बताए।

सिंह दरबारको नजिक घर। काठमाडौं नै संसार हो कि जस्तो लग्थ्यो। दिदी-भाइलाई देखेपछि संसारको अर्को भाग पनि देखिए जस्तो लाग्यो। ती पीडालाई चित्रण गर्ने उनीसँग कुनै शब्द छैन।

काठमाडौंमा रजगत गरेर बसेका ठालु सासकहरू जो ६० हजारको दिनमा मात्रै पानी खन्छन् बिचार। यो ठाउँमा एक घुट पानी पिउने ठाउँ देखनौँ। त्यो खर्च कटौति गरेर ती आलिसान भवनहरूको विलासितापूर्ण जीवनशैलीलाई तोडेर हामीजस्तै यो ठाउँमा आएर स्थलगत अवलोकन गरेर हामीले जस्तो जनताको सुखदुःख अनुभूत गरेर त्यसको थोरै प्रतिफल हाम्रा कमरेड ओलीहरूले पुर्‍याइदिए अझ सुखद् हुने थियो। त्यो अपेक्षामात्रै हुन्छ होला। कसै न कसैले यो कुरा सुन्‍यो भने वा कमरेड ओलीको कानमा पनि पुग्यो भने यसले अझ साथर्कता पाउने छ। 

तीन वर्षमा धेरै कठिन तरिकाले जीवन व्यतित गरे। सरकारले दूर्तरूपमा काम गर्नुपर्छ। राजनीतिक खिचातानीले यहाँको अवस्था झन जरजर बनेको छ। माथिदेखि नै सबै विषयलाई राजनीतिक मुद्दा र निर्वाचनको एजेन्डा बनाउने चलन छ। यस्ता प्रकारका दूस्प्रवृति व्यप्त देखिन्छन्। त्यसले यहाँ पनि गाँजेको हो कि भन्ने छ। पीडितमाथि पनि राजनीति गर्ने प्रवृतिलाई रोकेर अगाडि बढ्दा राम्रो हुने छ।

नेपालको संविधानले सुरक्षित आवास जनताको अधिकार भनेर मौलिख हकमा राखेको छ। तर, त्यसको कार्यन्वय कति भएको छ भन्ने कुरा दूरदराजका गाउँमा आएपछि मात्रै दखिने पत्रकार घनश्याम खड्का बताउँछन्। भूकम्प गएको धेरै पछि पनि पीडितहरू आवासको जोहो गर्न लागि राखेको देखिन्छ।

सरकारले ३ लाख दिएर सहयोग त गरेको छ। कतिपय अवस्थामा असाहय, एक्लो वृद्धमात्रै भएको घरहरू पनि देखियो। केही खुसीका कुरा छन्। समुदायले मिलेर गरेका छन्। कतिपयको घर परियोजनाले पनि बनाइ दिएका छन्। राज्य भनेको असाहय, एक्ला तथा वृद्धहरूको अभिभावक हो। उनीहरूलाई पहिलो प्राथमिकतामा राखेर हेर्नुपर्छ। संविधानको कार्यान्वय पनि सही अर्थमा उनीहरूले सुरक्षित आवास पाए भने साना नानीहरूले पढ्न पाए भने बेरोजगार युवाले रोजगारी पाए भने मात्रै सविधानको कार्यान्वय भएको मानिने उनको भनाइ।

यता स्वस्तिमा अझै दोधार छिन्। नाताले ठूली आमा पर्नेको भरभरोसमा छ तर भविष्य कसरी अगाडि बढाउने भन्ने अन्यौता अझै बाँकी छ। सल्लाहा दिने धेरै छन्। कसैले भन्छन्। पुनः पढाइ सुरु गर। कसैले भन्छन् सिलाइकटाइ सिक। उनी भन्छिन्, 'मैले के गर्ने के गर्न सोच्नै सकेकी छैन।'

स्वस्तिमा र राज त सानो गाउँका प्रतिनिधि पात्र मात्रै हुन्। २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनले कतिको घर उजाड भएको छ भने कतिको विचल्लीमा परेका छन्। भूकम्प गएको तीन वर्ष बित्नै लाग्दासम्म पीडित सधैँ पीडा रहन सरकारै नभएजस्तो भएन र?

भूकम्पपीडित पुनर्निर्माण प्राडा. सुरेन्द्र केसी