विचार

स्मृतिमा ती युवती

स्मृतिमा ती युवती

कन्चन न्यौपाने


काठमाडौं फर्केको साता पुग्यो। स्मृतिमा सुर्खेतमा छ। मस्तिस्कमा छिन् एक युवती। जति कोशिष गर्दा पनि ती युवतीको मेमोरी डिलिट भएको छैन्।

गत हप्ता बिए तेस्रो वर्षको अन्तिम शैक्षिक भ्रमण थियो सुर्खेतमा । सुर्खेतको लेकबेशी गाउँपालिकाको अध्ययन गर्ने 'पलानिङ' अनुसार त्यहाँ पुगेको। हामीले त्यहाँको जीवनज्योति उच्च माध्यामिक विद्यालयमा एउटा प्रोग्राम गर्नुपर्ने 'टाक्स' थियो।

विषय थियो, बाल यौन दुर्व्यवहार र माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि कसरी अगाडि बढ्ने। हामीले काठमाडौंमा सिकेको ज्ञान बाँड्न कार्यक्रमको आयोजना गरेका थियौँ। ज्ञान बाँड्दा हामीलाई नम्बर पनि प्राप्त हुँदै थियो।

कार्यक्रमको अन्तिमतिर सहभागी विद्यार्थीलाई आफूलाई मनमा लागेका कुरा व्यक्त गर्न आग्रह गरौँ। किनकि उनीहरूसँग हामी फिडब्यका लिनु थियो। अर्थात् हामीले गरेको कार्यक्रमको पृष्ठपोषण लिनु थियो । म बोल्छु भनेर हतपत कसैले हात उठाएनन् । केही समयको पछि भीडको पछाडि एक युवतीले हात उठाइन् । विद्यालयको निलो सर्ट र पेन्टमा थिइन् उनी ।

हामीले गरेको कार्यक्रमको प्रसंसा गरिन्। कार्यक्रम निकै सन्देशमूलक भएको बताइन्। उनी यतिमा सीमित भइनन्। आफ्नो विगत सम्झिइन्। र एकएक गरि पाना पल्टाउन थालिन्। भनिन्, ‘म एक विवाहित हुँ । एसइईपछि धेरै साथीहरू विवाह गरेको भनेर विद्यालय आउन छोडे । तर मैले निरन्तरता दिइरहेकी छु ।’

विवाहपछि आफ्नो अध्ययनमा परिवारले पूर्ण रूपमा साथ दिएको पनि उनले बताइन् । ती युवतीको जीवन भोगाइ र उनको कुरा सुनेर हलमा ताली गुञ्जियो । कार्यक्रम त्यत्तिकै सकियो । सबै तितरबितर भए ।

साँझपख चिया खाने हामी नजिकैको चिया पसलमा गयौँ । चुलोमा बसेर उसिनेको आलुका बोक्रा छोडाउँदै गरेकी युवती तर्फ मेरो आँखा पुगे । त्याे त उही अनुहार रहेछ जसले विद्यालयको कार्यक्रममा प्रेरणादायी कथा सुनाएकी थिइन्।

मन थाम्न सकिन । सोधेँ, 'तपाईं यहाँ?'

उनले कलेजपछि पसलमा सासूलाई सघाउने बताइन् । मनमा उनलाई भेटेर कुरा गर्ने हुटहुटी चलेको थियो । उनका जीवन भोगाइ, कम उमेरमा विवाह गर्नुको कारण र विवाहपछि पनि जीवनका बारेमा सोध्न मन थियो। भनौँ सामान्य रूपमा उनी मेरा लागि आदर्श पात्र बनेकी थिइन्।

यता आफूलाई विवाह गरेपछि जस्तोसुकै साथ दिने श्रीमान र परिवार भए पनि पढाई बिग्रन्छ भन्ने सोच थियो । आफ्नो भन्दा फरक सोच भएको व्यक्तिको अनुभवबाट आफूमा पनि केही सकारातमक कुराको विकास गर्ने इच्छा जागिसकेको थियो ।

तर, आफ्ना छुटेका कामहरू गर्ने छुट्टै हतारो थियो । बसेर गफ गर्ने मेसो मिलेन । भोलिपल्ट सुर्खेतका मेयर, वडा अध्यक्ष, आमा समूहका प्रतिनिधि, त्यस दिन कार्यक्रम भएको विद्यालयका प्रधानाध्यापक र अन्य विभिन्न संस्थाका प्रतिनिधीहरूसँग अन्तरक्रियाको कार्यक्रमको लागि पूर्वतयारी बाँकी थियो । तयारी बैठकमा सहभागि हुन ढिलो भएमा सरको अघि पर्न पनि अप्ठ्यारो । फेरि पसलमा आउँला फुर्सदमा भन्दै मनभित्रको इच्छा त्यही थाती राखेर त्यहाँबाट हिँडियो ।

भोलिपल्ट सुर्खेतमा अन्तिम दिन थियो । बिहानै अन्तक्रियाको कार्यक्रमको लागि हामी निस्कियौँ । सात बजेको समय दिएका मेयर ठ्याक्कै त्यही समयमा आइपुगे । अन्तरक्रियाको कार्यक्रम सुरु भयो । हामीले सुर्खेतमा देखेका जनताका समस्यालाई मेयरसमक्ष आवाज पुर्‍याउने उद्देश्यले कार्यक्रम राखेका थियौँ । सबै जनप्रतिनिधिले समस्याको राम्ररी आत्मासात गरे ।

कार्यक्रमको बीचमा आमा समूहका केही महिला दिदीबहिनीहरू गाढा ‘पिंक’ रङको सारीमा देखा परे । त्यही भीडमा फेरि देखिइन् तिनै युवती । रातिमा चिटिक्क परेर कार्यक्रममा सहभागि हुन आएकी थिइन् उनी । अब चाहीँ मनमनै योजना बनाएँ, ‘आज त जसरी भएपनि भेट्ने हो ।’

अन्न्तरक्रियाको कार्यक्रम सफल रूपमा सकियो । अन्य साथीहरूले ती युवतीलाई घेरिसकेका थिए । सायद मजस्तै उनीहरूलाई पनि अचम्म लाग्दो हो । एउटै व्यक्तिलाई फरक अवतारमा धेरै ठाउँमा देख्न पाउँदा । साथीहरू उनीसँग गफिदैँ थिए । त्यही भिडमा म पनि मिसिएँ ।

कुरा गर्दै गएपछि बल्ल थाहा भयो उनी त भर्खर १८ वर्षकी रहिछिन् । नाम क्रिशला खत्री । घर सुर्खेत बजार । विवाह भएर लेक बेशी आएकी रहिछिन् । उमेर १८ वर्षमात्र भनेपछि उनीबारे झनै जान्न मन लागेर आयो । किन यति छिटो विवह गरेको भन्दा उनको उत्तर, ‘लभ परेको थियो । मलाई मन पराउने अर्को केटा र श्रीमानको झगडा परेपछि भागेर विवाह गरें ।’

भागेर काठमाडौं पनि आएकी रहिछिन् । पछि फेरि परिवारले बोलाएपछि दुवैजना घर फर्किएका रहेछन् ।

उनका श्रीमान् अहिले १२ कक्षामा विज्ञान विषय पढ्छन् । उनी नेपालगञ्ज बसेर पढ्छन् भने क्रिशला यतै छिन् । घरमा उनलाई पढाईको लागि केही अप्ठ्यारो छैन । घरको काम गर्नै पर्छ भन्ने कर नभएपनि आफैलाई बेलाबेलामा असहज भएको महशुस हुने भन्दै उनले भनिन्, ‘काम नगर्दा आफैँलाई मनमा असहज हुने । तर घरमा भने केही गाह्रो छैन । मसँगै धेरै साथीहरूको विवाह भयो । तर उनीहरू विद्यालय आउँदैनन् । मिलाउन जान्यो भने सबै सबै सकिन्छ । मुख्य कुरा आफ्नो श्रीमान् हो । श्रीमानको साथ भयो भने सबै कुरा आफैँ मिल्छ ।’

उनी आफूले श्रीमानको पूर्ण रुपमा साथ सहयोग पाएको आशय जनाइन् ।

क्रिशलाको सपना छ मेनेजमेन्ट विषय पढेर बैंकको मेनेजर बन्ने । त्यस्तै उनका श्रीमान्को सपना इन्जिनियर बन्ने । दुवैको सपना साकार होस् भन्ने् शुभकामनासहित उनीसँग बिदा लिएँ ।

फर्किदाँ उनको मोबाइल नम्बर मागेँ । तर दिन हिच्किचाएजस्तो गर्दै नम्बर याद नभएको बताइन् । मेरो मनले भने रिसालु भावमा भन्यो, ‘आफ्नै नम्बर पनि याद हुँदैन ?’ नयाँ नम्बर लिएको कारणले याद नभएको भनेपछि बल्ल मन शान्त भयो ।

मैले फेरि प्रश्न गरेँ, ‘मोबाइल बोकेको छैन ?’ उनको उत्तर, ‘अहिले परीक्षा आइरहेको छ । मोबाइल बोक्यो भने गीत सुन्न मन लाग्छ । त्यसैले बोकेकी छैन ।’ मैले आफनो नम्बर टिपेर उसलाई यसमा जसरी भए पनि फोन गर्नु भनेर दिएँ ।

विद्यालयमा त्यति निर्धक्क बोलेही त्यही युवती हो जस्तो नै लागेन । किनभने अन्तिम दिन खुलेर कुरा गर्दा पनि उनले आफ्नो नम्बर दिन हिच्किचाएकी थिइन् । उनको घर नजिकतिर बस्ने साथीहरू भन्दै थिए, ‘सासूको फोन जस्तो छ । त्यसैले सासूले दिन्नन् होला । त्यही भएर दिन मानिन ।’ एकमनले सोच्यो सासूले राम्रै व्यवहार गर्नुहुन्छ भन्थिन् । भनाइ र गराइमा फरक पो हो कि ?

त्यसै दिन घर फर्किनुपर्ने थियो । समय अभावले उनको पसलमा जाने समय मिलेन । उनको मिसकल आउला कि भन्ने झिनो आशा थियो । त्यो पनि आएन । मन द्वविधामा थियो । जान्न मन लागेका कुरा त्यहीँ छुटे तर स्मृतिबाट उनी छुटिनन् ।

सुर्खेत क्रिशाला खत्री