अर्थ

शव ढुवानीमै १ करोड २१ लाख खर्च

शव ढुवानीमै १ करोड २१ लाख खर्च

काठमाडौं । यो चालू आर्थिक वर्षको सुरु ८ महिनाको अवधिमा सरकारले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारको शव ढुवानी गर्न करिब १ करोड २१ लाख रुपियाँ खर्चेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार ५ सय १९ मृतक कामदारको शव ढुवानी गर्न उक्त रकम खर्च भएको हो ।

 

साउनदेखि फागुनको दोस्रो सातासम्मको अवधिमा त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट मृतकको घरसम्म शव लैजाँदा उक्त रकम खर्च भएको बोर्डले जनाएको छ । यस अवधिमा वैदेशिक रोजगारमा गएका मृतक कामदारमध्ये ५ सय १० पुरुष र ९ महिला रहेका छन् । यो अवधिमा ज्यान जाने कामदारको संख्या भने ५ सय ५३ रहेको छ । 

 

विदेशमा कागजी प्रक्रिया पुगेको मृतक कामदारको शव १ हप्ताभित्र आइपुग्ने तर कागजात नपुगेको मृतक कामदारको शव आइपुग्न बढीमा एक महिना लाग्ने गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले बताए । यो समाचार आजको नेपाल समाचारपत्रबाट लिइएको हो।

रातो बाकस शव ढुवानी