खेल

चेन्नईले कोलकत्तालाई ५ विकेटले हरायो, रैनाको उत्कृष्ट इनिङ

चेन्नईले कोलकत्तालाई ५ विकेटले हरायो, रैनाको उत्कृष्ट इनिङ

काठमाडौं । इन्डियन प्रिमियर लिग ( आइपीएल) को २९औं खेलमा चेन्नई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ ।

कोलकत्ताद्वारा प्रस्तुत १ सय ६२ रनको लक्ष्य पछ्याएको चेन्नईले २ बल बाँकी छदै लक्ष्य भेटायो । खेलका नायक बनेका सुरेश रैनाले चेन्नईका लागि सर्वाधिक नटआउट ५८ रनको योगदान गरे । उनले ४२ बलमा ७ चौका र १छक्काको मद्दतले ५८ रन बनाएका हुन् ।

 

त्यस्तै अन्तिममा बिस्फोटक ब्याटिङ गरेर टोलीलाई जीत नजिक पुर्याएका रविन्द्र जडेजाले १७ बलमा ५ चौकाको मद्दतले नटआउट ३१ रन बनाए । फाफ डु प्लेसिसले ५ चौकाको समयोगमा १६ बलमा १४ रन बनाएका थिए । केदार जाधवले २० रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले १६ रन बनाएका थिए । कोलकत्ताका सुनिल नराइन तथा पिउस चावलाले समान २/२ तथा ह्यारी गुर्नीले १ विकेट लिए ।  

 

यसअघि घरेलु मैदान इडेन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ‌ओभरमा ८ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । ओपनिङ ब्याट्सम्यान क्रिस लिनले ५१ बलमा ६ छक्का र ७ चौकाको मद्दतले ८२ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा राम्रो सुरुवातको बाबजुद पनि कोलकत्ताले धेरै रन बटुल्न सकेन् ।

 

१८ बलको सामना गरी ३ चौकाको सहयोगमा नितिश रानाले २१ रन बनाए भने कप्तान दिनेश कार्तिकले २ चौकासहित १४ बलमा १८ रन बनाए । शबमन गीलले २० बलमा १५ रन बनाए भने महत्वपूर्ण पारी खेल्ने अनुमान गरिएका तथा उत्कृष्ट लयमा रहेका आन्द्रे रशेल ४ बलमा मात्र १० रन बनाएर आउट भए । चेन्नइका इमरान ताहिरले ४ विकेट लिए भने शार्दुल ठाकुरले २ तथा मिचेल स्यान्टनरले १ विकेट लिए ।