विचार

विदेशमा वंश, स्वदेशमा अंश

विदेशमा वंश, स्वदेशमा अंश
  • संकेत कोइराला

स्वर्गको एक भव्य रेष्टुराँमा यस जगतका तीन महापुरुषहरु सिद्धार्थ गौतम बुद्ध, कन्फ्यूसियस  र लाओत्से एउटा टेबल घेरेर बसेका थिए । उनीहरु कफीको चुस्की लिँदै विविध धार्मिक विषयमा वार्तालाप गरिरहेका थिए । यसैबेला कोखमा सानो माटोको घडा च्यापेकी एक रुपसी सुन्दरी प्रवेश गरेर विनम्र भावमा आग्रह गरिन– ‘हे परमश्रेष्ठ पृथ्वीबासीहरु ! मैले यो माटोको घडामा जीवनरस भरेर ल्याएकी छु । म यो जीवनरस तपाईंहरुलाई ख्वाउन लालायित छु । के तपाईंहरु मेरो इच्छा पूरा गरिदिन सक्नुहुन्छ ?’ प्रस्ताव सुन्नासाथ तीन महापुरुषहरुका अनुहारमा भिन्न भिन्न प्रतिक्रिया देखियो । 

गौतम बुद्धले दुवै आँखा बन्द गरे । एकछिन ध्यानमग्न मुद्रामा लीन भए । अन्त्यमा अप्सराको आग्रह सरासर नकार्दै भनिदिए– ‘क्षमा गर देवी, म तिम्रो इच्छा पूर्ण गर्न सक्दिन । किनकी जीवन सारहीन छ, व्यर्थ छ । मेरो दृष्टिकोणमा जीवन नितान्त निरर्थक छ । जीवनको कुनै अर्थ छैन् ।’ कन्फ्युसियसले आधा आँखा बन्द र आधा आँखा खुला राखे । उनी गोल्डन मिनको सिद्धान्त मान्थे । जसको प्रकृति थियो सधैं मध्य मार्ग । अद्र्धमुदित आँखाले अप्सरा तर्पm हेरेर उनले आफ्नो विचार पोखे– ‘पहिले एक घुट्को चाख्छु , यदि अगाडि पिउन योग्य लागे विचार गरौंला ।’ एक घुट्को जीवनरस चाखेपछि तटस्थ भावमा प्रतिक्रिया जनाए– ‘न छोड्न योग्य, न पिउन योग्य । कुनै सार पनि छैन् , पूर्ण रुपेण सारहीन पनि छैन् ।’

दुई महापुरुष विपरित ताओ धर्मका प्रतिपादक लाओत्सेले पुरै घडा आफ्नो हातमा लिए । उनले केही नबोली घडाभित्रको जीवनरस सिनित्तै पारे । त्यसपछि उनी भावविभोर भएर नाच्न थाले । जीवनरसको मादकतामा गदगद भएका लाओत्सेले आफ्ना दुई मित्रलाई व्यंग्य हान्दै भने– ‘जसको लागि जीवनरस नै व्यर्थ या निरर्थक छ, उसले कुन कुरामा सार्थकता पाउन सक्छ ? फेरि उ जीवनलाई छोडेर खोजोस, अझ खोजोस् उ जति जति खोज्दै जानेछ , त्यति त्यति नै गुमाउँदै जानेछ । हराउँदै जानेछ । जीवन नै हो एकमात्र सारभूत तत्व, जीवन नै हो एकमात्र रस, जीवन नै हो एकमात्र परम सत्य अनि यही जीवनमा नै अन्तरनिहित हुन्छ– सारा संगीत, सारा सौन्दर्य अनि सारा आनन्द ।’

स्वर्गको रेष्टुराँमा देखिएको यो दृश्य अहिले नेपालका राजनीतिक दलमा हुबहु देखिने गरेको छ । मेचीबाट छुटेको रात्रीबस सूर्योदय नहुँदै पश्चिम महाकाली टेक्ने भुगोल भएको देशका नेताहरु हातमा सीप नभएको सूचिकारले जथाभावी कपडा काटेजस्तो देश कित्ताकाट गरेपछि चौबाटोमा अल्मलिएको पथिक जस्तै बनेका छन् । विश्व नै सानो गाउँमा अनुवाद हुँदै गएको सत्यबाट विमुख यिनीहरु विश्वास एकातिर, कर्म अर्कातिर गर्न उत्प्रेरित छन् । आफ्नो अंश यता र वंश विदेशी भूमिमा रोपेका उनीहरुको दैनिकी नर्सरी पढ्ने नाति पनातिले पनि कुरीकुरी गर्ने खालको छ । घरको पारिवारिक सन्तुलन मिलाउन नसकेका यिनीहरु घरकै चुलो चौकोबाट बहिष्कृत भए भन्ने समाचार आएमा आश्चर्य नमाने हुन्छ ।

शेरबहादुर देउवाका लागि कांग्रेस पार्टीको प्राण बुद्धलाई जस्तै सारहीन र निरर्थक भएको छ । कांग्रेसजनहरु आफ्नै दलभित्र नागरिकताविहीन भएका छन् । पार्टी सभापति म्यानेजर नभएर खञ्जाची भएको पीडा उनीहरुले खेप्नु खेपेका छन् । केही बोले पखेटा काटिने भयले तैं चुप मै चुपको अवस्थामा छन् । केपी ओली न निल्न सक्छन, न ओकल्न । औंसीको रातमा पूर्णिमाको गीत गाउनु उनको विशेषता बनेको छ । घाँटीमाथि मात्र चल्ने नेताको परिचय बनाएका यिनको अन्तिम गन्तव्य भनेको सिंहदरबारमा फोटो झुण्ड्याउनमा सीमित रहने निश्चित छ । अहंकार र प्रतिशोधीलाई त्यही आफूभित्रको अवगुणले सिध्याउँछ, कोही शत्रु लाग्नै पर्दैन । 

पुष्पकमल दाहाल त्यस्ता खेलाडी हुन, जसले चित र पोट दुवैतिर आफूलाई स्थापित गराएका छन् । अंक गणितमा हारेपनि उनले अरु त के गिरिजाप्रसाद कोइरालाजस्ता  खेलाडीको हातमा रहेको एक्का र बास्सालाई कैंटे दाउ हानेर गुलामले लडाएका छन् । इतिहास साक्षी छ– ताओका कट्टर समर्थक लाग्ने यी पात्रले पितललाई सुन हो भन्ने दलील गर्दा कांग्रेस, एमालेले कसीमा घोट्न लैजाने सामथ्र्य देखाउन सकेनन् । बरु प्रचण्डको जालसाझी कागजमा ल्याप्चे लगाएर आपूmलाई हनुमानदास प्रमाणित गरेका छन् । प्रचण्डसंगको संगतपछि कांग्रेसको प्रजातान्त्रिक समाजवाद हिमालमा हराएको यत्ति मानवजस्तै भएको छ । राजनीतिबाट खस्नेहरुका लागि गुरुत्वाकर्षण जिम्मेवार हुँदैन ।

भोलि त्यो स्थितिमा नेकपा र काँग्रेसका लागि नैतिकताको कति जमिन बाँकी रहन्छ, त्यो समयले बताउला । चीनमा एउटा उखान छ– एउटा मात्र कुकुर कसैमाथि भुक्छ, बाँकी भुकेको आवाज सुनेर भुक्छन् । नेताहरुको भुकाइ पनि त्यही हो । उनीहरुले बुझ्न जरुरी छ– सफलताको सूत्र पुस्तकमा नभएर मेहनतमा हुन्छ ।  

अधर्मी मान्छे पुजारी हुँदैमा धार्मिक हुने होइन । बरु धार्मिक मान्छे पुजारी भयो भने देवताको साख बढ्ने हो । भक्त बढ्न मन्दिर ठूलो नभई देवता विश्वासी हुनुपर्छ । मान्छेको अनुहारको आयु दुई दशक पनि बाँकी रहँदैन तर असल विचार हजारौं हजार वर्षसम्म अजर अमर रहिरहन्छ । विचार पनि आखिर सुनजस्तै न हो, न यसमा खिया लाग्छ, न कहिल्यै पुरानो हुन्छ । नेता कस्तो हुनुपर्छ ? यस्तै भन्ने सर्वमान्य सिद्धान्त नै त छैन् । तर अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको साद्गी सधैं उदाहरण बन्ने गरेको छ । 

दासप्रथाको अन्त्य गर्ने प्रवल संकल्प लिएर राजनीतिमा होमिएका अब्राहम लिंकनले राष्ट्रपतिको सपथ लिए । पदको सपथ गरेर जब उनी औपचारिक सम्बोधनका लागि उभिएका थिए, प्रतिपक्षका एक सांसदले अपमान गर्ने उद्देश्य राखेर ललकार्दै भने– ‘लिंकन, सौभाग्यवश तपाईं हाम्रो देशको सर्वोच्च पद प्रेसिडेन्टमा निर्वाचित हुनुभयो । तर यो कुरा कथंकदाचित नविर्सनु होला कि तपाईंको पिता चमार हुनुहुन्थ्यो ।’ यसखाले अपमानपूर्ण कटाक्षलाई लिंकनले उत्तेजित हुनु सट्टा सहज भावमा लिए । बरु उनका आँखाबाट बर्रर्र आँसु छल्कियो ।
 

आँसुमिश्रित नजरमा सांसदलाई सम्बोधन गर्दै भने– ‘धन्यवाद महाशय, अमेरिकाको प्रेसिडेन्टमा चुनिएको खुसीमा मैले आफ्नो गरिब पितालाई बिर्सन पनि सक्थें । तपाईंले अति उपयुक्त समयमा मलाई मेरो गरिब पिताको याद दिलाउनु भयो । तपाईंलाई मेरो मुरी मुरी धन्यवाद छ । मेरो गरिब पिता तन, मन र बचनले प्रतिवद्ध तथा आफ्नो कर्मप्रति समपिर्त पूर्ण चमार हुनुहुन्थ्यो । तर म एक पूर्ण राष्ट्रपति बन्न कदापि सक्ने छैन् । मलाई यस्तो लाग्छ कि एक अपूर्ण राष्ट्रपतिभन्दा एक पूर्ण चमार श्रेष्ठ हुन्छ । मेरो गरिब पिताले सिउनु भएको जुत्ता म देखिरहेको छु कि तपाईंले लगाउनु भएको छ । यदि त्यो कतै फाटेको छ भने भन्नुहोस् ताकि म सिलाई दिउँ ।’ लिंकनको जवाफ सुनेर आरोप लगाउनेको शिर श्रद्धाले निहुरियो । 

नेपालमा खरिदार कृष्णप्रसादका तीन छोरा प्रधानमन्त्री भए । खरिदार कृष्णप्रसादले औलो रोगको खानी मानिने विराटनगरलाई शहरमा परिणत गरे । भारतबाट शिक्षक मगाएर आदर्श स्कुल खोलेर शिक्षाको ज्योति जगाए । तीन भाइ प्रधानमन्त्रीले किताव र भाषणमा विराटनगरलाई अत्यन्तै स्नेह देखाए । तर व्यवहारमा यहाँको भौतिक संरचनामा एउटा इँटा थप्ने काम पनि गरेनन् । हराएको मानिस भेटिएको सूचना दिनुपर्‍यो भने एउटा थिति ठेगानको चिरस्थायी संरचना विराटनगरमा आजसम्म बनेको छैन् । 

पिटाइबाट उत्रिएको ढलौटबाट बनेको मूति र संघर्षले खारिएको नेता उस्तै हो । बीपी राजीतिक व्यवस्थापनमा कच्चा ठहरिएकै हुन् । तर वहुलवादको बुलन्द आवाजले उनलाई लोकतन्त्रको ध्रुवतारा बनायो । के बालक, के युवा, के बृद्ध सवै माझ उनी जनप्रिय भए । जेलबाट मन बहलाउन लेखेका दस्तावेजले बीपीलाई जनमानसमा स्थापित गरायो । सिगरेटको खोलदेखि सुकेको पातसम्म उनको भावनाका संवाहक बने । आफूले रणमा खटाएको कार्यकर्ताले मैदानमा वीरता पाएको खबरसंगै बीपीको ढाड्सयुक्त चिट्ठी स्वजनको घरमा पुग्थ्यो । मर्दाको मलामी र बाँच्दाको जन्तीमा उनले कहिल्यै आफूलाई दोस्रो बनाएनन् । 

गाई जुनसुकै रंगको किन नहोस दूध त सेतै हुन्छ नि । पेट सारंगी भएकाहरुका लागि एकमुट्ठी माड, आङमा भ्वाङ परेका लागि एक शरीर टालो र तिर्खाएकाहरुका लागि एक गिलास जल नै लोकतन्त्र हो । अरु बाँकी परिभाषा त राजनीतिका नाममा बकबास गर्नेहरुले कन्याउने सुकेलुतो मात्र हो । तिनीहरुलाई के थाहा सत्य मान्छेपिच्छे फरक हुँदैन ।

ती पटमूर्खहरु त अनुहारमा पोतिएको कालो देख्दैनन, तर रातदिन ऐना पुछिरहन्छन् । तीनपटक प्रधानमन्त्री भएका कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा साथीभाईसंग भन्छन् रे– ‘मैले तीन नेताबाट एक एक गुण सिकेको छु । किसुनजीबाट रक्सी खान सिकें । गिरिजाबाबुबाट चुरोट खान सिकें । गणेशमानजीबाट अन्टसन्ट बोल्न सिकें ।’ गिरिजाप्रसादलाई हेलिकोप्टरमा उडाएको भरमा सेनाका क्याप्टेन नारायणसिंह पुन केन्द्रीय राजनीतिमा पुगे । गिरिजाप्रसादको कमजोरीमा खेल्न जानेका प्रचण्ड उनकै शब्दमा राजनीतिको ‘भाले’ भए । तर विडम्बना शेरबहादुरले बिँडी तान्न सिकेछन् ।

त्यसै पनि शेरबहादुरका विषयमा धेरै जोक छन् । त्यसमध्येको एउटा यस्तो छ– शेरबहादुर देउवालाई आधारातमा चुरोट खाने तलतल चलेछ । चुरोट गोजीमै रहेछ । झिकेर मुखमा राखेछन् । सलाई खोजेछन्, पाएनछन् । लाईटर खोजे, त्यो पनि भेटेनन् । ओछ्यानका पत्र पत्र पल्टाए, लुगा, र्‍याक सवै ठाउँ हेरे, अहँ छैन । अनि दिक्क मानेर अगाडि रहेको मैनबत्ती झ्याप्पै निभाएर सुतेछन् ।

लाटो तीनपल्ट हाँस्छ रे । पहिलो बुझ्दै नबुझी अरु हाँसेको देखेर, दोस्रो यथार्थ बुझेर तेस्रो अगाडिको अवस्था सम्झिएर । नेताको ताल त यस्तो छ भने तिनीहरुले भाग्य बनाइदिएर सुखी हुनुपर्ने जनताको हविगत कुन हालतमा होला ? 
 

गौतम बुद्ध