अर्थ कर्पोरेट

चिनियाँ जहाजबाटै नेपाल वायुसेवा निगमलाई साढे ६० करोड घाटा

चिनियाँ जहाजबाटै नेपाल वायुसेवा निगमलाई साढे ६० करोड घाटा

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका ६ वटा चिनियाँ जहाज उडाउँदा एक वर्षमै ६० करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवदेनअनुसार निगमलाई २०७४/७५ मा उक्त घाटा भएको छ ।

चीनमा निर्माण भएको ५८ सिट क्षमताको दुईवटा एमए ६० र १८ सिट क्षमताको चारवटा र वाई १२ ई नामका ६ वटा जहाजलाई आन्तरिक उडानमा प्रयोग गरेको छ । निगमले आन्तरिक उडानमा प्रयोग गरेको एमए ६० बाट ३१ करोड ६४ लाख र वाई १२ मार्फत २८ करोड ९७ लाख गरी एक वर्षमै ६० करोड ६१ लाख रुपैयाँ खुद घाटा भएको प्रतिवेदनमा उल्लेख छ ।

२०७४/७५ को एक आर्थिक वर्षमा एमए ६० ले २० करोड ६४ लाख सञ्चालन आम्दानी गरेको थियो । यसबाट यो वायुसेवाको सञ्चालन खर्च ३१ करोड ३ लाख रुपैयाँ र अप्रत्यक्ष खर्च २१ करोड २५ लाख रुपैयाँ छ । यसले गरेको कुल आम्दानीबाट एक वर्षमा भएको खर्च घटाउँदा एमए ६० मा मात्रै ३१ करोड ६४ लाख खुद घाटा रहेको छ ।

यस्तै वाई १२ विमानले दुई करोड ५१ लाख १२ हजार सञ्चालन आम्दानी भएकोमा यो जहाज उडाउँदा सञ्चालन खर्च १८ करोड ८५ लाख र अप्रत्यक्ष खर्च ९ करोड ६३ लाख रुपैयाँ छ । जहाज उडाउँदा गरेको उक्त आम्दानीबाट खर्च घटाउँदा वाई १२ मा कुल २८ करोड ९७ लाख खुद घाटा भएको प्रतिवेदनमा उल्लेख छ । जहाज उडाउँदा निगमलाई घाटा भएको हुँदा नाफामा सञ्चालन गर्नको लागि ठोस कार्ययोजना बताएर लागू गर्न पनि महालेखाले सुझाव दिएको छ । यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

नेपाल वायुसेवा निगम