कभर स्टोरी विचार

अघिल्लो दिन सीको भनाइ सेयर, भोलिपल्ट महासचिवलाई ट्यागसहित सफाइ

अघिल्लो दिन सीको भनाइ सेयर, भोलिपल्ट महासचिवलाई ट्यागसहित सफाइ

नेपालआज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई बेलाबेला धर्मसंकट परिरहन्छ । विशेषगरी सम्पत्तिका बारेको द्विविधा आजको भोलि प्रष्टै देखिन्छ । अघिल्लो दिन निजी सम्पत्ति राख्नेहरु कम्युनिष्ट हुन सक्दैनन् भन्ने सी जिङपिङवाला समाचार सेयर गरेको कार्यकर्ता  भोलिपल्टै भन्छन् – नेकपाका महासचिवबारे भ्रममा नपरौँ, उहाँले बालुवाटारको जग्गा किनेको हो, सारेको होइन ।

 

किने पनि सारे पनि विष्णु पौडेलको निजी सम्पत्ति छ, र सीको भनाइ साभार गरेर सेयर गर्नेहरुका लागि सोही कुरा दोहोर्‍याई रहन नपर्ला –निजी सम्पत्तिको मोह गर्ने कम्युनिष्ट हुन सक्दैनन् । कम्युनिष्ट पार्टीको महासचिव त परको कुरा ।

 
व्यक्तिगत पूँजीका आधारमा शक्ति र पहिचान स्थापित हुने समाजमा सीको कुरा सान्दर्भिक नहोला । अझ सीकै समाचार सेयर गर्ने कम्युनिष्टहरुकै दैनान्दिन धन्दा पैसा कमाउनमै नहोला भन्न सकिन्न । संस्थागतरुपमै दलभित्र पूजीले कति अर्थ राख्छ भन्ने अनेकौँ दृष्टान्त छन् ।

 

करोडौं बुझाएर राज्यलक्ष्मी गोल्छा नेकपाबाट सांसद भएको सन्दर्भ सामान्य नजिरमात्र हो । तसर्थ निजी सम्पत्ति बिनाको कम्युनिष्ट भेटाउन कम्तिमा पनि हामी कहाँ गाह्रै छ । बिष्णुलोकबाट झरेरै कम्युनिष्ट भएको को छ र ? ‘


धन्न विष्णु पौडेल शालिन र सरल छन् । उदाहरणका लागि फोन उठाउन भ्याएनन् भने पनि उनी साँझ या भोलिपल्ट फोन गर्छन, र सोध्छन्–को बोल्नुभाको होला, फोन आको रैछ, उठाउन पाइनछु । 

 

उनका बारे एक प्रत्यक्षदर्शीले सुनाएको रोमाञ्चक सन्दर्भ यहाँ मननीय छ ।


सुदुरपश्चिममा कम्युनिष्टहरु चामलमा बियाँजस्तै छुटपुटमात्र थिए । बिष्णु पौडेल इन्चार्जका रुपमा खटाइएका थिए । बहुदल आएको केही समयमात्र भएको थियो । मदन भण्डारी सुदुरपश्चिमको भ्रमणमा थिए । पौडेलले भण्डारीसँग दुःख बिसाएछन्–बुढी बिरामी छन् रे । पार्टीले अनुमति दिए जानहुन्थ्यो । जानका लागि बाटा खर्च पनि छैन । अर्थात, पौडेल पार्टीका बफादार सिपाही र इमान्दार कमरेड हुन् । 


बाटो खर्चको अभाबसमेत तत्कालीन पार्टी महासचिवसमक्ष सहजै राख्ने सादगी छविका बर्तमान महासचिवको बालुवाटारको घडेरी हलुवामा बालुवाजस्तो देखिएको छ । तर, समाचार पढेकै आधारमा उनलाई दोषी करार गर्न मिल्दैन । नत पौडेलको बिज्ञप्तिकै आधारमा उनी आफैँ पीडित भएको निष्कर्ष निकाल्न सकिन्छ । यो बिषयको गहिराइमा पुग्न केही पक्षको गहिरो बिश्लेषण गर्न आवश्यक छ । 


१) विष्णु  पौडेलले जग्गा विवादमा परेसँगै आफूले सो जग्गा व्यक्तिसँग किनेकाले आफू निर्दोष रहेको प्रष्टिकरण दिएका छन् । र, यही प्रष्टिकरणलाई अन्तिम सत्य मान्दै एकथरी नेकपाजन भन्दैछन्–भ्रममा नपरौँ, हाम्रा महासचिव चोखा छन् । नपात्याए विज्ञप्ति हेरम् । 

 

यहाँ पौडेल र उनका पक्षपोषकले बुझ्नुपर्ने हो–विवादको छिनोफानो गर्ने आरोपित पक्ष स्वंयले होइन । जिम्मेवार पदमा आसिन व्यक्तिले आफ्ना बारे उठेका प्रश्नको खण्डन गर्न पाइन्छ, सँगै स्वतन्त्र छानबिनका लागि सार्वजनिक आह्वान गर्ने हिम्मतपनि राख्नुपर्छ । पौडेलले सो माग गरेका छैनन्, नत पछुवाले स्वतन्त्र छानबीन गरी आफ्ना महासचिवको निर्दोषिता प्रमाणित गर्न अपिल गरेका छन् । 


२)विष्णु  पौडेलले सो जग्गा २०६१ मा किनेका रहेछन् । बालुवाटारको सो जग्गा उनले आफ्नो परिवारको सम्पत्तिका रुपमा मन्त्रिपरिषद् र संसदमा पेश गरेको देखिन्छ । सम्पत्तिको स्रोत उल्लेख नगरेपनि उनले सम्पत्ति लुकाएको भन्न मिल्दैन । यो उनका लागि सकारात्मक कडी हो । यदि सम्पत्ति सार्वजनिक गरिएको हुँदैनथ्यो भने उनको नियतमाथि थप औँला उठाउन सकिन्थ्यो ।


३) विष्णु पौडेलले सो जग्गाको स्वामीत्व पहिले नै सार्वजनिक गरेको भएपनि प्रश्न गर्ने ठाउँ सकिएकोे छैन । उनले कतिमा र कसरी किने भन्नेबाट प्रश्न शुरु हुन्छ । धेरै मोल हालेर किनिएको रहेछ भने सोको प्रमाणित स्रोत उनले प्रष्ट पार्नुपर्दछ । स्याङ्जाको सामान्य परिवारका पौडेल बुटवल झरेपनि कुनै जमिन्दारीमा थिएनन् । आयआर्जनको पेशा र व्यवसाय छैन, भएको सेवामूलक भनिएको राजनीति हो । ०६१ सालसम्म उनले तलबदार र सुविधादार राजनीतिक पद पनि पाइसकेका थिएनन् । 

 

मानिलिउँ उनले कौडीको भाउमा किनेका रहेछन् । त्यसो भए उनी दोब्बरतेब्बर दोषी देखिन सक्छन् । पहिलो, बजार मूल्यभन्दा सस्तोमा जग्गा उनले कसरी पाए ? सस्तोमा त सो जग्गा मिलिभगत र सेटिंग नभइ पाइदैन । अर्कोतर्फ उनले जग्गाधनीलाई बढी पैसा दिए, तर लिखत्मा कम पैसा देखाए । यदि यसो भने उनी कर छलीका दोषी हुन् । कर छली गम्भीर अपराध हो, यस्तो अपराध गरेको ठहरिएमा पौडेल कानूनी कठघरामा पर्नैपर्दछ ।



४) कतिपयले तर्क गरेका छन्–०६१ सालमा पौडेल मन्त्री र सांसद दुबै थिएनन्, त्यसैले उनले सरकारी जग्गाको हुर्मत लिएको मान्नै सकिन्न । यो कुरा झट्ट सुन्दा हो जस्तो लागेपनि राजनीतिक सेटिंगका बारेमा थोरैमात्र जानकारी राख्नेहरुका लागि तर्कसंगत लाग्दैन । उनी लुम्बिनी अंचलका प्रभावशाली नेता थिए । अंचलस्तरीय प्रमुख नेताको पावरका बारे भनिरहन नपर्ला । २०६५ बाट एकाएक राष्ट्रिय राजनीतिमा उदायको भएपनि पौडेलको राजनीतिक बिरासत, संगत र संघर्ष छोटो छैन । उनी नेकपाको भूमीगत खेलाडीका रुपमा लुम्बिनी क्षेत्रमा पहिल्यै स्थापित थिए । 

 

पौडेल निर्दोष छन् भने यो विषय चर्चामा मात्र सीमित भए उनैलाई सबैभन्दा घाटा हुनेछ । इमान्दार भइकन पनि बेइमानको पगरी उनले सदैव लगाइरहनुपर्नेछ । तसर्थ बिष्णुलाई माया गर्नेहरुले यो बिषयमा प्रश्न उठाउनै पर्छ । छानविनका लागि दबाब दिनै पर्छ । पौडेलपीडित हुन् भने उनैले निष्पक्ष छानबिनका लागि अपिल र लबिङ गर्नुपर्दछ । लबिङका माष्टरमाइण्डका रुपमा परिचित पौडेलले चाहेमा यो ठूलो कुरा हुने छैन  । होइन भने, केही समयपछि सेलाएजस्तो देखिएपनि ऐनमौकामा यो मुद्धाले पौडेललाई खेदिरहनेछ । नखाएकै बिष त लाग्ने जमानामा उनले अलि अलि खाएकै हुन् कि भन्ने आधार जो देखिएको छ ।

 

सामान्य व्यक्तिले सम्पत्ति कमाउनकै लागि आफ्नो जीबन खर्चेको हुन्छ । निजी सम्पत्ति आर्जनका लागि नागरिकले कानूनको सीमाभित्र आफ्नो बलबुता प्रयोग गर्नु सामान्य हो । तर, नेताको हकमा कुरा बेग्लै हो । आफ्नो जीबन अरुका लागि खर्चेको नेता आफैँमा सम्पत्ति हो, देशको सम्पत्ति । देशको सम्पत्ति बन्नुपर्नेहरुले देशकै सम्पत्ति हजम गरेको भनिएका कारण यो बिषय थप गम्भीर छ । यद्यपी नेता संलग्न रहेनछन् भने पनि दोषीलाई कारबाहीको दायरामा ल्याउनै पर्छ ।

 

हुनत नेताहरुलाई सम्पत्तिका बारे उठाइएका सवाल मन पर्दैन । प्रधानमन्त्री पदकोे सन्निकट पुगेका तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीबाटै बीट मारुँ । अन्तरवार्ताका क्रममा ओलीले संघर्षपूर्ण आफनो जीबन पैसा कमाउनका लागि नभएको दाबी गरे । गोलघरमा बस्दाको पीडादायी क्षण सुनाउँदै गर्दा ओलीले आफ्नो जीबन फाउको भएको उल्लेख गर्दै जनतामा समर्पित रहेको दाबी गरिरहेका थिए । यसो भनिरहँदा ओलीजीको बोली ओझपूर्ण सुनिएको थियो । तर, जब उनलाई उनको सम्पत्तिको स्रोतका बारेमा प्रश्न गरियो, ओझपूर्ण भाव एकाएक व्यंग्यपूर्ण बन्यो । उत्तरको सार थियो –बिरोधलीले खोज्लान् नि ?


नेताको सम्पत्ति र आयस्रोत बिरोधीले खोज्ने त धेरै पछिमात्र हो । शुरुमा खोज्नुपर्ने पार्टी, कार्यकर्ता र जनताले हो । सम्पत्तिका बारेमा प्रश्न गरे बिरोधीको बात लाग्ने भएपछि कुन कार्यकर्ताले टाउको दुखाउँछ ? बरु अघिल्लो दिन निजी सम्पत्तिको मोह गर्ने कम्युनिष्ट होइनन् भन्ने सीको भनाइ सेयर गर्छ, र भोलिपल्ट हाम्रो कम्युनिष्ट पार्टीका महासचिवले बालुवाटारमा जग्गा किनेका हुन्, सारेका होइनन् भनेर उनैलाई ट्याग गर्छ । जे गर्दा भलो हुन्छ, त्यही गर्न कार्यकर्ताले जानिसकेको छ । 
(समाचार टिप्पणी)