कभर स्टोरी मेरो परिवार मेरो कथा समाज

घर बनाउने ‘मिसन’ मा महिला(भिडियो सहित)

घर बनाउने ‘मिसन’ मा महिला(भिडियो सहित)
  • सुमन कोइराला

नुवाकोटकी २२ वर्षीया चम्पा मिजार घर बनाउने काममा व्यस्त छिन् । गारो– छानो लाउने, मसला मिलाउने, छड कस्नेसम्मका काममा  उनी अब्बल छिन् । घर बनाउने जस्तो कठिन काममा लाग्नु पहिला बाध्यता जस्तो लागेपनि अहिले भने उनको मन रमाउन थालेको छ । घरलौरी पुरुष खाडी जान थालेपछि चुलोचौकोमा सीमित भएर घर चल्न छोडेपछि महिला सीपका काममा उत्प्रेरित हुन थालेका हुुन् । सीपसंगै आयआर्जनमा समेत सहयोग पुगेकाले डाडूपन्यू , कुटोकोदालो, मेलापातभन्दा अलग काममा उनीहरु आकर्षित भएका हुन् । गीता अछामी र गीता भण्डारीले पनि त्यही लय पक्रिएका छन् । 

 


घर बनाउने सीप सिकेका उनीहरुसंग ठूलो सपना छैन् । नामी कालिगढी हुने लोभ पनि छैन । यही सीप बिकेको अवस्थामा जीविकोपार्जन सहज बनाउने सपना चाहिँ उनीहरुले पालेका छन् । गीता भन्छिन्– ‘भूइँचालोपछि निजी घर बनाउने काम तीब्र गतिमा बढेको छ । यदि कहिँ यस्तै किसिमको काम पाइयो भने अरुतिर गएर भएपनि गर्ने सोचेकी छु । सीप भनेको जति तिखार्‍यो, उति बढ्दै जाने हो ।’

">

पुरुषले गर्ने प्रकृतिको काम गरिरहेका यी महिला कतै विदेश जाने सोचमा त छैनन् ? हाम्रो शंका निवारण गर्दै उनीहरुले आफूहरुले त्यस्तो नसोचेको स्पष्ट गरे । गीता भण्डारी भन्छिन्– ‘घरगाउँमा भएका लोग्ने मान्छे सबै विदेशीएर गाउँघर नै रित्तो भएको अवस्थामा हामी पनि विदेशीने हो भने के होला ?’
०७२ सालमा भूकम्प गएपछि सोतर भएका घर अझै उठ्न सकेका छैनन् । बेलैमा काम नसके सरकारले दिने सुविधा पाउन कठिन छ । भूकम्प पीडितलाई नाना, खाना र छानाको सकस छ । घर बनाउने पैसा भए पनि काम गर्ने जन नहुँदाको पीडा छ । गाउँका मानिस धमाधम शहर झर्दैछन् । नुवाकोट पनि यसबाट अछुतो छैन । पाखाभित्तोका मानिस हुनेखाने काठमाडौं,  मध्यमस्तरीय जिल्ला सदरमुकाम विदुर, त्रिशुली र बट्टारमा ओइरिएका छन् । त्यसैले त यहाँ आहानै बनेको छ– ‘युवा कतारमा, महिला बट्टारमा ।’

 

घरको पुरुष आयआर्यजनको श्रोत समाउन विदेश हानिएपछि उसका परिवार सन्तानलाई गुणस्तरीय शिक्षा दिने नाममा शहर बजार झर्ने गरेका छन् । यसले गर्दा गाउँ रित्तोमाथि रित्तो हुँदै गएको देख्न पाइन्छ । भूइँचालोपछि पुनर्निर्माणको कामले गति नपाउनुको मुख्य कारण पनि यही हो । 

">

यो सामाग्री पब्लिक न्यूज एजेन्सीबाट साभार गरिएको हो । 

नुवाकोट महिला घर बनाउने ‘मिसन’