विचार

नेपालीले गर्न नहुने पेशा !

नेपालीले गर्न नहुने पेशा !

वर्सेनि पाँच लाख काम गर्न सक्ने जनशक्ति नेपालमा थपिन्छन् । ती जनशक्तिलाई दिने काम सरकारसँग छैन । देशलाई कस्ता खालका जनशक्ति चाहिएको छ ? भन्ने विषयमा अध्ययन हुँदैन, भइहाले पनि त्यो अध्ययन प्रतिवेदनबमोजिम नीति बनाउने फुर्सद सरकारसँग छैन । एउटा विद्यार्थीलाई मानविकीमा स्नातक गर्न कम्तिमा १५ वर्ष लाग्छ । १५ वर्ष पढेर उसलाई महिनाको २० हजार कमाई हुने जागिर पाउन मुस्किल हुन्छ । अनि उसको गन्तव्य बन्छ – खाडी, मलेसिया । तर तीन महिना कपाल काट्ने तालिम लिएर काठमाडौं पसेको छिमेकी मुलुकको १८ वर्षको किशोरले महिनामा कम्तिमा ३० हजार रुपैयाँ कमाउछ । बरोजगार उत्पादन गर्ने विश्वविद्यालयमा सरकार प्राध्यापक, डाक्टर, लेक्चरर पाल्न सक्छ । बेरोजगारलाई सीप सिकाउने एक हजाम पाल्न सक्दैन । दोष सरकारको होइन, हाम्रै पनि छ । हामी नेपालीले कपाल काट्ने पेशा अँगाल्न हुँदैन । विशेषगरी पहाडे खस, जनजातिहरुले त यो काम गर्ने हो भने आकाश नै खस्छ । मानौं कि यो काम भनेका मधेसका दाजुभाई वा विदेशीहरुले नै नेपालमा आएर गरिदिनु पर्ने हो । 

 

हामी नेपालीले गर्न नहुने काम भनेको तरकारी बेच्ने, सिरक बनाउने, कवाडी संकलन र विक्री वितरण पनि हो । यी कामहरु नेपालीले गर्नु हुँदैन । साइकलमा तरकारी बेच्नु त अझै तल्लो स्तरको काम जस्तो भएको छ । आफूले पनि यस्ता काम नगर्ने र जसले यी पेशा र व्यवसाय अपनाएका छन् उनीहरुलाई हेप्न भने हुन्छ । हेर्दा सामान्य लाग्ने कामबाट मनग्ये आम्दानी हुन्छ भन्ने कैयन उदाहरण छन् । मैतीदेवीमा मकै पोलेर बेच्ने दिदीले महिनामा ४० हजार कमाउँदिरहिछन् । कानुनी हिसाबले नै जातीय विभेद गर्न नपाइने ऐन बनेको ५० वर्ष भयो । जातभातविरुद्ध त सहभोज गर्ने धेरै देखियो तर विभिन्न पेशा, व्यवसायका आधारमा अर्को वर्गीय संरचना भने बलियो बनाउँदै लगियो । तल्लो भनिने जातका मानिससँग सहभागे धेरैले गरे तर उल्लेखित काम गर्नेसँग सहभोज गर्ने चलन बसेन । 

 

मान्छे बेरोजगार हुनुभनेको सुखद कुरा होइन । कसैले तपाई काम गर्नुहुन्छ ? भनेर सोध्नु सामान्य हो । तर के काम गर्नुहुन्छ ? भन्ने अनुचित प्रश्न गर्ने चलन छ । कसैले गर्ने कामका आधारमा उसको ‘जजमेन्ट’ गर्ने प्रवृत्तिले काम सानो र ठूलो भएको छ । त्यही कारण आज नेपालीले गर्न हुने र नहुने कामको वर्गीकरण नेपालमै भइसकेको छ । 

 

नेपालबाट युरोप पुगुन कि अमेरिका । नेपालीहरुले घुमफिर गरेको तस्बीर गर्वका साथ सामाजिक सञ्जालमा राख्छन् । यतिका बर्षभयो फेसबुक चलाएको पनि, आफ्नो कार्यक्षेत्रको फोटो राख्ने नेपाली बिरलै देखेको छु । हामी नेपालीले विदेशमा गएर गर्ने काम भनेको थ्रि डी अर्थात डर्टी, डेन्जरस र डिफकल्ट नै हो । शौचालय सफा गर्नेलाई हामी नेपालमा डुम, चमार, पोँडे भनेर होच्याउँछौं । जात भन्दा पनि उसले गर्ने कामबाटै हामी उसको वर्ग, तह, स्टान्डर्ड मनमनै फाइनल गरिदिन्छौं । कुनै पनि नयाँ व्यक्तिसँग परिचय भएपछि उसको औकात थाहा पाउन हामीलाई हतार हुन्छ । उसको औकात उसले लगाएको जुत्ताबाट नाप्ने प्रयास पनि गर्छौं । नेपालमा हेपिएका काम विदेश गएर भने गर्छौं । आवश्यक हुँदा बाहेक कम्तिमा तपाई के काम गर्नुहुन्छ ? तपाईको डेजिगनेसन के हो ? भन्ने प्रश्न चाहिँ नगर्ने हो कि ? कोही पनि व्यक्ति काम गर्छ, उ रोजगार छ भने त्यति नै उसका साथीभाईका लागि काफी हो । स्वयं नै कुनै व्यक्तिले आफूले गर्ने कामको प्रकृतिबारे जानकारी दिन्छ भने त्यो उसले गरेको स्वयंको मार्केटिङ हो । 

 

भृकुटीमण्डमा रहेको फनपार्क रहेको जमिन समाज कल्याण परिषदको हो । प्रभावका आधारमा कांग्रेसका एक सांसदले त्यो जमिन भाडामा लिएर व्यवसाय चलाइरहेका छन् । मासिक २० हजार भाडा तिर्दा पनि नपाईने जमिनमा उनले महिनाको दुई हजार प्रति चारआनाका लागि तिरेर फनपार्क चलाइरहेका छन् । फनपार्क भित्रका स्टलमा धेरै कलेजका भाईबहिनीहरु काम गर्छन् । फनपार्कले त्यस्ता भाइबहिनीहरुलाई मासिक ६ हजार रुपैयाँ तलब दिँदो रहेछ । त्यहाँ काम गर्ने एक युवतीले त्यो कुरा पुष्टि पनि गरिन् । काठमाडौंमा ६ हजार तलब दिने फनपार्क जस्ता अनेक छन् । स्कुलहरु, पसलहरुले पनि त्यस्तै हाराहारीमा तलब दिन्छन् । जबकी श्रम बजारमा दैनिक ज्याला १ हजार पुगिसकेको छ । 

 

श्रमको अनौपचारिक क्षेत्रमा पनि ज्याला बढेको छ । लुगाधुने दिदीबहिनीहरुले एक पटक लुगा धोएको ५ सय लिन्छन् । निर्माणका मजदुरले एक हजारसम्म लिन्छन् । धाराको काम गर्ने, गिजर लगाउने, वासिंग मेसिन फिट गर्नेहरु, बिजुलीको काम गर्ने, एसी जडान गर्नेहरुको ज्याला राम्रै छ । तर यस्ता काम पनि भरसक नेपाली त्यसमाथि पनि खस पहाडेले त गर्नैै हुँदैन ।