विचार प्रोफाइल विदेश

हेर्दाहेर्दै हास्य कलाकार राष्ट्रपति !

हेर्दाहेर्दै हास्य कलाकार राष्ट्रपति !
  • नारायण पौडेल

भासिल पेट्रोभिच होलोबोरोड्को उच्चमाध्यामिक तहका इतिहास शिक्षक हुन् । हासोठट्टा गर्न रुचाउने भासिलको इतिहास पढाउने शैली मिठासपूर्ण छ । इतिहासजस्तो पट्ट्यारलाग्दो विषय भए पनि उनको कक्षा रोचक हुन्छ । उनी विकृतिका विरुद्ध आगो ओकल्छन् । युवावयका विद्यार्थीले उनलाई औधी रुचाउँछन् ।

एक दिन इतिहासका बारेमा अन्तरक्रियात्मक अध्यापन गराइरहेका हुन्छन् भासिल । एकाएक विद्यालय प्रशासनले विद्यार्थीलाई चौरमा जान उर्दी जारी गर्छ । आफूले पढाइरहेका विद्यार्थीलाई आफ्नो अनुमतिबिना कही लैजान नपाइने भन्दै भासिल जंगिन्छन् । प्रशासनका व्यक्तिले चुनावी कार्यक्रममा सहभागी हुन विद्यार्थी चाहिएको जवाफ फर्काउँछन् । विद्यार्थी चाहिए अर्को कक्षाको लगेको भए पनि हुने, आफ्नै कक्षाका किन लैजानुपर्ने भन्दै भासिल रोष प्रकट गर्छन । त्यतिन्जेल सबै विद्यार्थी बाहिरिसकेका हुन्छन् ।

प्रशासकले गणितको कक्षा बढी महत्वपूर्ण भएकाले इतिहासका विद्यार्थी लैजान लागेको जवाफ फर्काउछन् । यस्तो जवाफ सुनेपछि भासिलको पारो झनै चढ्छ । गणितकै कारण देश बिग्रेको, गणित पढेकैहरू सत्तामा पुगेको र सूत्रजस्तो गल्ती दोहोराएको दोहोराइ गरेको भन्दै उनी कड्किन्छन् । उनीहरू बीचको उत्तेजनापूर्ण संवाद एकजना विद्यार्थीले लुकेर कैद गरिरहेका हुन्छन् । भासिल देशको अवस्था र शासकको प्रवृत्तिका बारेमा धाराप्रवाह बोल्दै जान्छन् । कोठाभित्र त्यो पनि रिसाएको बेला उनले छाडा शब्दको पनि ख्याल गरेका हुँदैनन् ।

ती विद्यार्थीले शिक्षक र प्रशासकबीचको संवाद युट्युवमा अपलोड गरिदिन्छन् । भिडियो रातारात लाखौँले हेर्छन् । भ्रष्टाचार र बेथितिले थला परेको युक्रेनको वास्तविक आवाजका रुपमा उनको बोलीलाई लिइन्छ । भासिललाई युक्रेनी जनताले सत्यवादी र आँटिलो व्यक्तिका रुपमा प्रशंसा गर्दछन् । एउटै भिडियोले यति लोकप्रिय बनाउँछ कि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाइन्छ । अत्याधिक मत प्राप्त गरी भासिल राष्ट्रपति निर्वाचित हुन्छन् ।

विद्यालयको इतिहास शिक्षक देशको राष्ट्रपति भएको तथा भ्रष्ट कर्मचारीतन्त्र र भ्रष्टचारको बलियो जालोसँग जुधेको रोमाञ्चक कथामा आधारित युक्रेनी टेलि-सिरियल हो–जनताको सेबक । यो टेलिसिरियलमा राष्ट्रपतिको भूमिकामा देखिने हास्य कलाकार उनै कलाकार अर्थात् भोलोदिमिर जेलेन्स्की वास्तवमै युक्रेनको राष्ट्रपति बन्न लागेका छन् ।

भाषा, संस्कृति, भौगोलिक अवस्थिति, राजनीतिक व्यवस्था आदिइत्यादिले युक्रेन नेपालभन्दा भिन्न छ । नेपालभन्दा झण्डै चार गुणा ठूलो युक्रेनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र राष्ट्रपतिद्वारा मनोनित प्रधानमन्त्रीसहितको राजनीतिक प्रणाली छ । ४५० जना सांसद समानुपातिक निर्वाचनका हिसाबले पार्टीको सूचीको आधारमा निर्वाचित हुन्छन् । जनताले राष्ट्रपतिलाई प्रत्यक्ष मतदान गर्छन् । सांसद हुन पार्टी अनिवार्यजस्तो देखिए पनि राष्ट्रपति हुन दलीय व्यक्ति हुनुपर्छ भन्ने छैन ।

बहालवाला राष्ट्रपति नै गैरदलीय हुन् । दुई कार्यकालभन्दा बढी लगातार राष्ट्रपति हुन नपाइने व्यवस्था छ । जननिर्वाचित राष्ट्रपतिले संसदका २५ प्रतिशत संसदको समर्थन भएको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्छन् । प्रधानमन्त्री राष्ट्रपति र देशवासीप्रति उत्तरदायी रहन्छन् । कम्तिमा ५१ प्रतिशत अर्थात बहुमत ल्याउने व्यक्ति राष्ट्रपति हुन्छन् । शुरुमा बहुमत ल्याउन नसके सबैभन्दा बढी मत ल्याउने दुई प्रतिस्पर्धीका बीचमा पुनः प्रतिस्पर्धा हुन्छ ।

मार्च ३१ मा भएको निर्वाचनमा ३९ जना प्रतिस्पर्धीमध्ये सबैभन्दा बढी अर्थात् ३० दशमलब २४ प्रतिशत मत प्राप्त गरी भोलोदिमिर जेलेन्स्की युक्रेनको राजनीतिमा जवरजस्त स्थापित भएका छन् । बहालवाला राष्ट्रपति पेट्रो पोरोसेन्को १५ दशमलब ९५ प्रतिशत मतमा खुम्चिदै दोस्रो भएका छन् । अब यी दुईका बीचमा अप्रिल २१ का दिन निर्णायक प्रतिस्पर्धा हुँदैछ । अहिलेको मतान्तर हेर्दा हास्य कलाकार जेलेन्स्की भावी राष्ट्रपति बन्ने सम्भावना अत्याधिक छ ।

प्रध्यापक बुबा र इन्जिनियर आमाका छोरा जेलेन्स्की कानूनका विद्यार्थी हुन् । तर, व्यावसायीकरूपमा उनले कानूनमा हात हालेनन् । सन् १९९७ मा फिल्म र टिभी कार्यक्रम निर्माण गर्ने समूह केभार्ताल ९५ स्थापना गरेपछि कलाकारितामा उनले एकपछि अर्को उचाइ लिए । बिबिसी वर्ल्डवाइडले निर्माण गरेको कार्यक्रम डान्सिङ विथ स्टार्स (२००६) को विजयी भएपछि जेलेन्स्की युक्रेनी जनतामाझ परिचति भए । घरघरमा उनको चर्चा हुन थाल्यो । यो चर्चा सन् २०१५ को अक्टोबर पछि दिनप्रति दिन झन्झन् चुलिँदै गयो ।

सरव्यान्ट अफ द नेशन (जनताको सेबक) नामक टेलिसिरियलमा उनले राष्ट्रपतिको रूपमा जनताको मन जिते । पाइलापिच्छे भ्रष्टाचार बेहोर्न अभिसप्त उक्रेनी जनता त्यस्तै राष्ट्रपति चाहन्थे जो भ्रष्टाचारको जालो तोड्न सकोस् । यही माहोल बुझेरै होला राष्ट्रपति निर्वाचनको ठीक एक वर्ष अघि सन् २०१८ मार्च ३१ म उनले जनताको सेवक नामक पार्टी गठन गरे । प्रत्यक्ष प्रसारित टिभी कार्यक्रममा आफू राष्ट्रपतिका लागि प्रत्यासी बन्ने घोषणा गरे ।

स्थापित राजनीतिज्ञले जेलेन्स्कीको घोषणालाई मजाककै रुपमा लिए । मजाकलाई मजाक सावित गर्दै हास्य ङ्यमार्फत स्थापित ४० वर्षीय जेलेन्स्की राजनीतिमा लागेको वर्ष दिनमै सर्वोच्व पदको सन्निकट छन् । राजनीतिमा जे  पनि सम्भव छ भन्ने उदाहरणका रूपमा उक्रेनको राजनीतिलाई लिइएको छ । र, नेपालको सन्दर्भमा पनि यो उल्लेखनीय छ ।

राजनीति र कलाको अन्योन्याश्रित सम्बन्ध छ । कहिले राजनीतिले कलालाई प्रभावित गर्दछ कहिले कलाले राजनीतिलाई । साहित्यका धारा र राजनीतिक लयका बीचमा सहकार्य उहिल्यैदेखि हुँदै आएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा वीरधारा नेपाली साहित्यको मूल पक्ष थियो । सुगौली सन्धिसम्म पुग्दा नेपालले नराम्रो धक्का खायो, त्यसपछि वीरधाराको ठाउँ भक्तिधारा वा गाथाले लियो । आफ्नो वीरतामा भन्दा भगवान्‍मा भरोसा बढी गर्ने मनोवृत्ति यसको चरित्र हो । एकीकरण अभियान अघि बढ्दै गरेको भए वीरगाथा पनि अघि बढ्थ्यो ।

युक्रेन र नेपाल दुबैले पछिल्लो तीन दशकमा राजनीतिक उथलपुथल भोगेका छन् । सोभियत युनियनबाट अलग भएको युक्रेनमा सन् १९९६ मा आयोगमार्फत संविधान बनाइयो । जनतालाई अधिकार सम्पन्न गर्ने गरी लेखिएको संविधान हुँदाहुँदै पनि जनता सन्तुष्ट हुन सकेनन् । राजनीति पथभ्रष्ट भयो । क्रान्ति भयो । पात्र फेरिए तर प्रवृत्ति फेरिएन । स्वशासित क्षेत्र क्रिमिया युक्रेनबाट अलग भई रुसमा विलय भयो । बिछोडको पीडा र भ्रष्टाचारको दलदलका कारण राजनीतिकर्मीभन्दा हास्यकलाकारलाई जनताले आफ्नो अभिभावक ठाने । जतिबेला युक्रेन संविधानमार्फत नयाँ व्यवस्थासहित समृद्ध हुने अभिलाशामा थियो नेपाल आन्तरिक युद्धमा प्रवेश गर्‍यो ।

संसदीय दलमा देखिएको विसंगति, दरबारको मौकापरस्थ व्यवहार र माओवादीको हिंसात्मक संघर्षका कारण बहुदल प्राप्तिको उमंग धेरै टिकेन । रक्तपातले आहत भयो मुलुक । फेरि आशा जाग्यो । जनआन्दोलनमार्फत शान्ति प्रक्रिया हुँदै गणतन्त्र स्थापना गर्दा नेपालीको मनोविज्ञान बेग्लै थियो । सरकारी संचार माध्यमले दिनरात गाउँगाउँबाट उठ बोलको गीत गुन्जाउँथे ।

अहिले परिस्थिति फेरिएको छ । पात्र नयाँ-नयाँ भए पनि प्रवृत्ति पुरानै स्थापित छ । कतिसम्म भने नेताले कुरा गर्दा जनता हास्ने तर हास्यकलाकारका गतिविधि देखेर भावुक हुने स्थिति छ । विसंगतिपूर्ण राजनीतिका कारण कलासाहित्यमा हास्यरस मूल पक्ष बनेको देखिन्छ, युक्रेनदेखि नेपालसम्म । स्थितिमा सुधार नआए युक्रेनको जस्तै राजनीतिक तरंग नेपालमा नदाहोरियला भन्न सकिन्न । शासकीय स्वरुपका कारण युक्रेनमा जस्तो गैरदलीय व्यक्तिलाई राजनीतिक उचाइँ हाशिल गर्न यहाँ सहज छैन, यद्यपी असम्भव छैन ।

जनआश्थामा प्रकाशित

युक्रेन भोलोदिमिर जेलेन्स्की