कभर स्टोरी भिडियो

रिबन काट्ने, विमोचन गर्ने, फूलमाला गर्दै हिँड्ने फुर्सद नेपाली नेतालाई मात्रै छ (भिडियोसहित)

रिबन काट्ने, विमोचन गर्ने, फूलमाला गर्दै हिँड्ने फुर्सद नेपाली नेतालाई मात्रै छ (भिडियोसहित)

काठमाडौं । श्रीकृष्ण सिम्खडा राजनीतिक चिन्तक, श्रष्टा, कलाकारका रुपमा नेपाली समाजमा परिचित छन् । उनी सञ्चार क्षेत्रमा पनि क्रियाशील भए लामो समय । सिम्खडा जहाँ जहाँ क्रियाशील छन्, सबैतिर गाढा प्रभाव जमाएको दम्भ छैन उनमा । तर उनी यी विषयहरुलाई शुक्ष्मरुपमा नियाल्छन् । धेरैले राजनीतिबाट कलाकारिता टाढा हुनुपर्छ भन्छन् । सिम्खडाको मतमा राजनीतिसँग सबैभन्दा नजिकिनु पर्ने पात्र नै कलाकार हुन्छन् । 

 

राजनीति गर्नेहरुले आफ्नो कर्तुत पर्दाफास कलाकारले गर्न थालेपछि उनीहरु हच्केको रुपमा सिम्खडा विश्लेषण गर्छन् । 

 

धार्मिक मान्यताअनुसार पाप गरेर मरेकाहरु पिशाच हुन्छन् । धर्म गरेकाहरुले देव पद पाउँछन् । नेपालका राजनीतिज्ञहरुले जुन सिद्धान्त लिएर आए, त्यो सिद्धान्तअनुरुप त नेताहरुले पनि देव पद पाउनु पर्ने हो । सिम्खडा भन्छन्, ‘राजनीति गर्नेहरु हुनुपर्ने भगवान थियो, दर्शन चिन्तनको आधारमा । भइदिए पिशाच । यिनीहरु मरिसकेका पनि छैनन् । जिउँदैमा किन यिनीहरु यस्ता भए ?’

 

सरकारको आलोचना वा व्यंग्य गर्ने कलाकारहरुमाथि अहिले सरकारी पक्षले नेगेटिभिटी फैल्याएको आरोप लगाउन थालेको छ । २१ औं शताब्दीमा अब आफू नसच्चिने अनि अरुमाथि सरकारले यस्तो आरोप लगायो भने त्यो सरकारको लागि नै हानिकारक हुने सिम्खडा बताउछन् । 

 

रेडियो नेपालमा वासुदेव मुनालले गरेको रेडियो नाटक सुनेर सिम्खडा कलाकारितामा आकर्षित भए । त्यो बेला सिम्खडाले पहिलो पटक रेडियो नेपालकै नाटकबाट आफ्नो अभिनययात्रा शुरु गरे । 

 

श्रीकृष्ण आफ्नो कलाकारिताको गन्तव्यमै पुगेको बताउँछन् । एउटा कलाकारको गन्तव्य जहाँसम्म हुनु पर्ने हो त्यहासम्म पुगेको उनको बुझाइ छ । मान्छेको जीवन पनि यहि हो । आफू जन्मेपछि गर्नुपर्ने कर्तव्य पूरा गरेको उनी बताउछन् । 

नेपालको राजनीति सफा छैन भन्ने कुरामा सिम्खडाको विमती छैन । नेपालको राजनीति माफियाकरण भयो । श्रीकृष्ण भन्छन्, ‘माफियाहरुसँग उठबस गर्ने, माफियाहरुसँग डिनर गर्ने चलन बस्यो । राजनीति गर्नेहरुले यसलाई शौखको व्यवसाय सम्झेका छन् ।’

 

कुरामा भन्दा काममा जोड दिनु पर्नेमा सिम्खडाको जोड छ । संसारले जेजे निर्माण गर्न सक्यो, त्यो उपयोग र उपभोग गर्नेमा मात्रै हामी नेपाली अभ्यस्त हुन थाल्यौं । उनी भन्छन्, ‘विश्वले दिएका गाडी चढेर हिड्ने ? हामीले विश्वलाई गाडी दिन नपर्ने ? विश्वले बनाएको प्लेन किनेर ल्याउने अनि हामीले विश्वलाई प्लेन बनाएर दिन पर्दैन ?’ 

 

अरुले बनाइदिएका वस्तु किनेर उपभोग गरेरै मस्ती गर्नु दुर्भाग्यपूर्ण रहेको श्रीकृष्ण बताउँछन् । विकसित मुलुकका नेताहरुलाई फूलमाला गर्दै हिँड्ने, रिबन काट्दै हिँड्ने, पुस्तक विमाचन गर्दै हिँड्ने फुर्सद हुँदैन । यो परिवर्तन गर्नुपर्छ । 

 

राजनीतिज्ञ भन्ने शब्दले राजनीतिमा विज्ञ भन्ने जनाउँछ । राजनीतिज्ञ भनेको ज्ञानी पनि हो । तर नेपालमा त दशौं पटक फेल भएकाहरु पनि राजनीतिज्ञ भएको भन्दै व्यंग्य गर्छन् श्रीकृष्ण । राजनीति गर्न शिक्षा नै आवश्यक छैन भन्ने मान्यता नेपालमा विकसित भएकोमा उनी दुःख व्यक्त गर्छन् । 

श्रीकृष्ण सिम्खडा