यौन-शिक्षा

एसइई परीक्षामा भएको अनियमिता छानबिन गर्न निर्देशन

एसइई परीक्षामा भएको अनियमिता छानबिन गर्न निर्देशन

काठमाडौं। सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईइ) परीक्षामा भएका अनियमिताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सिआइवी)लाई दिने निर्णय गरेको छ ।

 

आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मन्त्रालयमा बसेको एसइई सुरक्षा समितिको बैठकले अहिलेसम्म भएका एसइई परीक्षामा भएको अनियमिताको छानबिन गर्ने जिम्मेवारी सिआइवीलाई दिइएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

 

सिआइवीले अहिलेसम्म भएका अनियमितता र परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानबिन गर्ने छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित एसइई परीक्षाको बिहीबार प्रदेश नं.२ मा अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएपछि उक्त विषयको परीक्षा यही चैत २२ गते तोकिएको छ । यस्तै बैठकले ७७ जिल्लामा अवदेखि सञ्चालन हुने विषयको अघिल्लो दिन नै मुचुल्का जाँच गर्ने भएको छ ।

 

भोलि अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ: कर्मकाण्ड/फलित ज्योतिस, संस्कृततर्फ:  अनिवार्य संस्कृत भाषा, प्राविधिकतर्फ: कृषि तथा माछापालन, इलेक्ट्रिकल व्यवस्थापन र उपकरण, कम्युष्टर तथा सर्भे इञ्जिनीयर र म्युजिक अफ नेपाल विषयको परीक्षा हुदैँछ । भोलि हुने ती विषयको प्रश्नपत्र ठिक छ वा छैन भनेर आज साँझ ६ बजेसम्म मुचुल्का परीक्षण गर्ने निर्णय गरेको स्वीकय सचिव केसीले बताए । देशभर यही चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ ।