कभर स्टोरी मेरो परिवार मेरो कथा सफलताको कथा

चियाले ल्याएको चमत्कार : विमलाको हात, ध्रुवको साथ

चियाले ल्याएको चमत्कार : विमलाको हात, ध्रुवको साथ
  • कन्चन न्यौपाने

पुरुषको सफलतामा महिलाको ठूलो हात हुन्छ । यसलाई सुल्टो र स्वाभाविक मानिन्छ ।  एउटी महिलाको सफलतामा पुरुषको हात भएका कथा भने दुर्लभ मानिन्छ ।  पत्नी मात्र हैन, परिवारकै जीवन सफल बनाउन जगको ढुंगा भएर काम गर्ने एउटा उद्यमी पुरुषको जीवन संघर्ष यहाँ प्रस्तुत छ । महिलालाई सफल बनाउने तिनै हातमध्येका एक हुन्– ध्रुव दाहाल । बानेश्वरस्थित बिमला दिदीको चिया पसलको सफलताले धेरैको ध्यान खिच्यो । चिया बेचेरै काठमाडौंमा दुईवटा घडेरी किनेको खबर  आगोसरि फैलियो ।

सफलताको कथाले मानिसलाई चाँडै तान्ने नै भो । फूलबाट आकर्षित हुने भेटिन्छन तर त्यो आकर्षक फूलको माला अड्याउने सानो धागोको कसैलाई मतलब हुन्न । त्यसभित्रको अन्तरकथा  विरलै जान्ने कोशिस हुन्छ । तर, यो चर्चा ती पुरुषको हो जो, पत्नीको सफलताका लागि एकलव्य भएर लागेका छन् ।  

विहान ५ बजेको मिर्मिरे उज्यालोबाट नै सुरु हुन्छ ध्रुवको दिन । भनिन्छ, संसार उसैको हो, जसले यो धर्तीमा पहिलो पाइला राख्छ । उठ्नासाथ बिहानीको नित्यकर्म सकेर पत्नीको लागि खाना बनाउनमा व्यस्त हुन्छन् । उनलाई लाग्छ– महिलालाई धेरै शारीरिक थकान दिनु हुँदैन ।  विमला दिनभर चिया पकाउने चटारोमा व्यस्त हुन्छिन् । उनी उठेकोे दुई घण्टापछि बल्ल विमलाको निद्रा खुल्छ । आफू भन्दा बढी पत्नीले नै आराम गरोस् भन्ने सोच्छन् उनी । 

घरको सबै काम सकेर पसल पुग्छन् । पसलमा हुने दौडधूप छुट्टै छ । पत्नीले बनाएको चिया किट्लीमा हालेर उत्तरतर्फ मध्यबानेश्वर, दक्षिणतर्फ पीपलबोटसम्म दर्जनौं पटक हानिन्छन् । त्यत्ति गरेपछि १० बजे अफिसको लागि निस्कन्छन् । खानेपानी कार्यालयमा सरकारी जागिरे छन् । अफिसबाट   फर्किएपछि फेरि पसलमै सघाउन थाल्छन् । गिलास उठाउने, भाँडा माँझ्ने र राति ९ बजेसम्म चिया पुर्‍याउने । हातमा किट्ली, गर्दनमा गिलासका झोला बोकेर उनी ग्राहकका अर्डर अनुुसार चिया पुर्‍याउन पुग्छन् । साँझ घर पुगेर खाना बनाई तुल्याई सुत्दा सधैं १२ बज्छ । भोलिपल्ट एउटै चक्रमा दिनचर्या दोहोरिन्छ । 

पतिको साथ र सहयोग विमलालाई भलीभाँती आभाष हुन्छ । उनी एक्लै भएको भए यहाँसम्मको बाटो असम्भव थियो । शुरुवाती दिनमा विमलाले चिया बेच्छु भन्दा ध्रुव अनकनाएका थिए ।  धेरै लगानी गरेर पसल थाप्ने उनीहरुको हैसियत थिएन । सडक पेटीमा चिया बेच्ने धेरैलाई नगरपालिकाले टिकी खान दिँदैनथ्यो । धेरैले यस्तै भएर चिया बेच्ने इच्छा त्यागेका थिए । ध्रुवलाई पनि त्यो भीडमा आफू सफल हुनेमा शंका थियो ।

तर पत्नीकै जिद्दीले यो सफलता मिलेको ध्रुव सगौरव बताउँछन् । अभावग्रस्त भविष्य सम्झेर दुवै आत्तिए । विमला पनि बेरोजगार थिइन् । कोक्रोमा सुतिरहेको सन्तानको भविष्यले झन् द्रविभूत बनाउँथ्यो । अनि विमलाले अठोट गरिन्– सडकमा उत्रिएर एक, दुई, तीन चिया बेच्छु । विमलाको निर्णयमा ध्रुवले मौन समर्थन जनाए । यही विन्दुबाट चियाको यात्रा सुरु भयो । 

पहिलाको स्थिति सम्झेर  अहिले हेर्दा सबै सपनाजस्तै लाग्छ उनलाई । गाउँबाट काठमाडौं आएपछि उनले के गरे भन्दा पनि के गरेनन भन्ने हो । होटेलमा भाँडा माझ्नु त सबैभन्दा इज्जतको काम थियो ।  त्यही बीचमा एकजना नजिकका आफन्तले उनको र विमलाको विवाह गराइदिएका थिए । भोजपुरककी विमला र सिन्धुपाल्चोकका ध्रुबको घरजम दैवको उपहारजस्तै बन्यो । केही समयपछि छोरो जन्मियो । 

सडकपेटीमा पहिलो पटक चिया बेचेर घर फर्किदा उनलाई लाज लाग्यो । निरन्तरता दिने या नदिने भन्नेमा उनी अल्मलिइन् । सन्तानको भविष्य सम्झिएर  सहजै लाज पचाइन् । दाहाल दम्पतिका एकमात्र सन्तान काठमाडौंकै नामी कलेजमा पढ्छन् । आमा बाको प्रतावपमा दुई चार देशको भ्रमण गरिसकेका छन् । सन्तानबाट धेरै आमाबाबुको सपना हुन्छ । उनीहरु के चाहन्छन त ? ध्रुव भन्छन– ‘एउटा सुविधा सम्पन्न वृद्धाश्रम खोलिदिए पुग्छ ।’ उद्यमी छोराका बाउ आफ्नो सन्तान १२ पास गरेपछि विदेश जाओस भन्ने चाहन्छन ।

यस्तो अमिल्दो किन त ? ध्रुवको सहज उत्तर छ– ‘दुःख के हो भन्ने थाहा नभएपछि यस्तै परिणाम आउने हो । टीनएज पुस्तालाई पैसा जोगाउने चेतना नै छैन । मेरो इच्छा त छोराले यहीँ बसेर लोकसेवा पास गरेर सरकारी जागिर खाए हुन्थ्यो भन्ने हो ।’

ध्रुवका बुबा सिन्धुपाल्चोकको गाउँमा जजमान थिए । परिवारमा उनका एक दाजु र एक दिदी । एकदमै न्यून वर्गको परिवार भएको बताउँदै  भने– ‘वर्षभरिको उत्पादनले तीन महिनासम्म खाना खान धौ धौ थियो ।’ गाउँमा हुँदा ज्याला मजदुरीको काम गर्थे  । त्यसैबाट धेरथोर आम्दानी हुन्थ्यो । दाजु हाल वैदेशिक रोजगारीमा दुबईमा छन् । दिदी हेटौंडामा जागिरे छिन् । आमा बितिसकिन् । बुबा दाजुसँगै बस्छन् ।

विगत सम्झदा ध्रुबको भक्कानो फुट्छ । दुई पुस्ताको अन्तर केलाउँदै भन्छन– ‘मैले पेटभरि मकैको ढिँडो खान पाइन । मेरो छोरो अहिले भात खाँदैन । म काठमाडौं नआएको भए मीठो के हो, हजारौं पर्ने जुत्ता के हो, सुट भनेको के हो थाहै हुने थिएन ।’ समयको यो परिवर्तन सिनेमाको रिलजस्तै लाग्छ ।  

चिया पसलबाट कमाएको नाफाले उनीहरूले भक्तपुरमा दुईवटा जग्गा किनेका छन् । त्यो जग्गा बेच्दामात्र पनि एक करोड बढी मूल्य बराबरको भाउ छ । यसैबीच छोरालाई विदेश पठाउँदा पनि केही खर्च भयो । फुटबल खेल्नका लागि  छोरालाई आफ्नै खर्चमा अमेरिका, फ्रान्स र जर्मनी पठाए । नेपालका अधिकांश भट्टी र चिया पसलमा देश बनाउने गफ गुञ्जिन्छन् । त्यसमाथि पनि ध्रुवको चियापसलमा हरेक उमेर वर्गका व्यक्ति पुग्छन् । सबै उमेर समूह र उनीहरुले गर्ने विकासे गफलाई नजिकबाट नियालेका छन् ध्रुवले । सबैको उही उदासीनता र देशप्रतिको नैराश्यता । 

उनको भने फरक बुझाई छ । भन्छन्– ‘पहिला आफ्नो घर, टोल, समाज र त्यसपछि देश बनाउनुपर्छ भनेर सबैजना लागि पर्नुपर्छ ।’ उनी नेताहरूलाई मात्र गाली गर्ने पक्षमा छैनन् । देश चलाउनेहरु बाध्यतावश पदको दुरुपयोग गर्न बाध्य रहेको ध्रुवको बुझाई छ । विशेषगरि नेपालमा चियाका अम्मली बढी नै छन् । तर कफीसपको विगबिगी बढी छ । व्यवस्थित चिया पसल विरलै भेटिन्छन् । विदेशी पेयलाई व्यवस्थित रुपमा लगानी गर्न सक्ने हामी युवापुस्ताले चिया पसललाई किन व्यवस्थित बनाउन सक्दैनौं । चिया पसलहरु सडक पेटीमै मात्र कति सीमित हुने ?

कुनै समय एयरपोर्टको चौरीमा तीन किलो खसीको मासु ल्याएर सुरु भएको बाजेको सेकुवाको व्यवसाय अहिले विश्वभर फैलिएको छ । हिमालयन जाभाले नेपालको कफीलाई विश्वस्तरीय मान दिएको छ । यस्तै अनुपातमा चियालाई किन नफैलाउने ? बिमला दिदीको चिया पसलका आउटलेट किन स्थापना नगर्ने ?

 

ध्रुवलाई यस्तै कुराले चिमोटिरहेको छ । उनी अब श्रीमतीले चिया मात्र पकाएर बसेको हेर्न चाहँदैनन् । भन्छन्, ‘उनले त अब अरुलाई पनि तालिम दिनुपर्छ । हामीलाई विश्वास गरेर लगानी गर्ने हो भने यस्ता पसल ठाउँ ठाउँमा खोल्न सकिन्छ ।’

 

यसको लागि उनी आफैंले अन्य आउटलेट खोल्न आर्थिक अभाव छ । कसैले विश्वास गरेर लगानी गर्ने हो भने पछि नहट्ने उनी बताउँछन् । यसको लागि राज्यले ठूला लगानीमा मात्र होइन साना साना उद्योग तथा व्यापारीलाई खोजी खोजी लगानी गरिनुपर्नेमा उनले जोड दिए । भन्छन्, ‘कुन रक्सी या चिया पसलमा मान्छे छैनन् ? गुँदपाक त अन्य ठाउँमा पनि पाइन्छ । किन मान्छे न्यूरोड नै धाउँछन् ? अब त ब्राण्डलाई ठाउँ ठाउँमा विस्तार गरिनुपर्छ ।’

उनीसँग चिया पसल खोल्नेबारे सल्लाह लिन पनि धेरै आउँछन् । भन्छन्, ‘अरुको जागिर गर्दा बढीमा २० हजार पाइएला । डेरा गरेर बस्नेलाई यतिले के पुग्छ ? यसमा राम्रो गर्ने हो भने पचास हजार या लाख नै हुन सक्छ । त्यसकारण युवापुस्ता यसमा प्रेरित हुनुपर्छ ।’ आफ्नो पसलको चियामा उनको पूरा विश्वास छ । भोलिको दिनमा यदि आउटलेट नै खोल्ने हो भनेपनि उनी ढुक्क छन् । भन्छन्, ‘यहाँ चिया मिठो भएरै भीड भएको हो । हामी दूधमा धेरै पानी हाल्दैनौं । चिया उमालेर नभई पकाएर मसालेदार बनाएर दिन्छौं ।’

 

धेरै मानिस उनीहरुको समाचार पढेपछि चिया बेचेरै घडेरी किनेको भन्ने कुरा सुनेर चकित भए । मानिस यति धेरै हावी भए कि, घडेरी किन्नु पछिको दुःख कसैले बुझ्दैनन् । यो सफलता पछाडि उनको अतिसय मेहनत छ । रात, दिन, झरी, बादल केही भन्न पाएका छैनन । एक दिन, दुईदिन, हप्ता नभएर वर्षौंदेखि एउटै रफ्तारमा चलिरहेको छ । उनको जीवन देखेर लाग्छ– कार्यशील जिन्दगी बगिरहने नदी हो । जुन नदीमा अकर्मण्यताको लेउ कहिल्यै लाग्दैन । 

चियाले ल्याएको चमत्कार ध्रुव दाहाल बिमला दिदीको चिया पसल बानेश्वर