मेरो परिवार मेरो कथा प्रोफाइल कभर स्टोरी

बिपीलाई न्याय दिने न्यायमूर्ति

- संकेत कोइराला

बिपीलाई न्याय दिने न्यायमूर्ति

न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ ?

विश्वेश्वरप्रसाद कोइराला : मैले सशस्त्र क्रान्तिको घोषणा गरेको छैन । तर, सो को सिद्धान्ततः व्याख्या गरेकोबाट प्रेरणा पाई पार्टीका सदस्यहरू मात्र होइन, जो कोही व्यक्तिले जहाँकहीँ प्रजातन्त्रका लागि गरेको कार्यको नैतिक जवाफदेही मेरो छ ।

मृत्युदण्ड दाबीसहित बिपीमाथि सात मुद्दा थिए । बयान हुँदै थियो । जनकमान फैसला लेख्दै थिए । अदालतको फैसलालाई प्रभावित गर्न प्रहरीको दबाब बढ्दै थियो । प्रहरी अधिकारी विभिन्न बहाना गरी इजलासमा बस्न खोज्थे । तर, जनकमान तिनीहरूलाई टिक्न दिँदैनथे । यसैको परिणाम बिपीलाई इजलासमै चिया खान, बसेर बयान गर्ने सुविधा दिएको लगायतका पोल लगाएर त्यसबेला बदनाम गर्ने  प्रयास भए । तर, भाँचिन जान्ने, दोब्रिन नजान्ने जनकमानले यी सबै आलोचना मात्र पचाइदिएनन्, निर्देशन दिन खोज्ने तात्कालीन कानुनमन्त्रीको झण्डै कठालोसम्म समाउन भ्याए ।

सरकार बिपी र गणेशमानलाई मृत्युदण्डको फैसला गराउने एक सूत्रीय अभियानमा थियो । जनकमानले कस्तो फैसला गर्ला ? आम कौतुहलको विषय थियो । अनुमानका खेती प्रशस्त चलेका थिए । भीमनारायण श्रेष्ठलाई अदालतकै फैसलामा मृत्युदण्ड दिइएको घटनाले राजनीति क्षेत्र त्राही-त्राही थियो । तर, सबै शंका आशंका निमिट्यान्न पार्दै जनकमानले प्रजातन्त्रको पक्षमा फैसला गरिदिए ।

 

फैसलाको एउटा अंश यस्तो थियो– ‘प्रजातन्त्रको लागि जोसुकैले जहाँकहीँ घटेको वा घटाएको घटनामा मेरो नैतिक जवाफदेही छ भन्नु भएकोबाट यो स्पष्ट हुन्छ कि आफैले नेतृत्व दिई कुनै घटनालाई पनि संकेत गरी संचालन गरेको हुँ भनी केवल साधारण तथा नैतिक जवाफदेही छ भन्नुको अर्थ यो प्रष्ट हुन्छ कि आफैँले त्यस्तो घटनालाई नेतृत्व दिएको होइन र केवल नेतृत्व लिन मात्र खोजेको भन्ने प्रष्ट हुन आउँछ । नेतृत्व दिनु र लिनुमा के भेद हुन्छ भनी विवेचना गर्दा नेतृत्व दिँदा कार्य आफैँले सञ्चालन गरेको हुन्छ । मनसाय र कार्यसमेत भएको स्पष्ट हुन्छ । अर्थात् यस्तोमा मनोभावनासम्म आफ्नै मनमा कुण्ठित रहेको तर कानुनी जवाफदेही नभएको अर्थ जनाउँछ । मनमा मात्र कुण्ठित रहेको मनोभावनालाई कानुनले सजाय गर्न मिल्दैन ।’

जनकमानले बूढी औँला र माझी औँला फड्कारेर ‘हरे कृष्ण’ भनेपछि बिताउँछ भन्ने न्याय क्षेत्रमा 'आहान'जस्तै बनेको थियो । बिपीको मुद्दा हेर्न सवै न्यायाधीशहरू डराएर छेउ किनारा लागेको परिस्थितिमा उनको संयोजकत्वमा गठित एक सदस्यीय विशेष अदालतले मुद्दाको छिनोफानो गरेको थियो ।

जनकमानको जीवन-लीला पनि विचित्रको छ । एउटा सफल नेता भएर काठमाडौं नगरको पहिलो नगरपिताको कीर्तिमान बनाएका जनकमानले न्यायसेवामा फड्को मार्नुको रोचक पृष्ठभूमि छ । उनको इतिहास हेर्दा जनकमानले के गरे भन्दा पनि चाहीँ के गरेनन भन्ने निष्कर्षमा पुगिन्छ । राजनीति, पत्रकारिता, शिक्षण, व्यापार हुँदै अन्त्यमा उनले न्यायसेवालाई आफ्नो अन्तिम गन्तव्य बनाए । जीवनको उत्तरार्द्धमा भने उनी समाजसेवा, अध्ययनमा रमाएका छन् ।

शहीद गंगालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका भाइ (फूपुका छोरा) जनकमान सानैदेखि राजनीतिमा सक्रिय थिए । गंगालालबाट त उनले 'बाह्रखरी' नै सिकेका थिए । दाजुहरूसँग हिँड्दाहिँड्दै पत्तै नपाई उनी सक्रिय राजनीतिक कार्यकर्ता भइसकेछन् । लुकिछिपी पोस्टर पाम्पलेट टाँस्न जनकमान माहिर थिए । राजनीतिसँगै उनले पढाइलाई पनि सँगसँगै लगे ।

 २००९ सालमा नेपाल कम्युनिष्ट पार्टीबाट मेयरमा टिकट पाएका जनकमानलाई काठमाडौंका जनताले २५ सय भोट दिएर नेता बनाए । तर, एक वर्ष नपुग्दै तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले ‘कू’ गरेपछि मेयर पद नै धरापमा पर्‍यो । त्यसपछि उनी जेल परे । जेलबाटै न्यायका लागि सर्वोच्चमा रीट दायर गरे । तर, दुर्भाग्य दरबारको शक्ति उपयोग गरेर मातृकाप्रसादले जुन धारामा टेकेर मुद्दा दायर भएको थियो, त्यही नै खारेज गरिदिए । राजनीतिबाट विरक्तिए जनकमान ।

यो विरक्तिलाई केही समय पत्रकारिता र शिक्षण पेसाको काम गरेर मत्थर गर्ने प्रयास गरे । त्यसले पनि निरन्तरता पाउन सकेन । आफूमाथि अन्याय भएको पीडा कताकता सूल बनेर घोचिरहन्थ्यो । भित्री इख लिएका जनकमानले यही बीचमा बीएल पढे । २०१३ सालमा न्यायसेवामा २० अधिकृतका लागि भर्ना खुल्यो । जनकमानले जाँच दिए । १३ नम्बरमा नाम पनि निस्कियो । तर, उनैलाई पाखा लगाउन १२ जनालाई नियुक्ति गरियो । बाँकी अनिर्णित भए । जनकमान न्यायका लागि दौडिए । कसैले कानमा बतास लगाएन । सरकारी जागिर खाने इच्छामा पनि व्यवधान आयो ।

दुई वर्षपछि बिपी कोइराला नेतृत्वमा नेपाली कांग्रेसको सरकार बन्यो । गृहमन्त्री सूर्यप्रसाद उपाध्यायका भाइ र जनकमान साथी थिए । साथीमार्फत उनले आफ्नो दुखेसो गृहमन्त्रीसमक्ष पुर्‍याए । बिपीकै सरकारले उनको गाँठो फुकाइदियो । कस्तो अनौठो भने त्यसको १८ वर्षपछि जनकमानलाई तिनै बिपीको मुद्दा हेर्ने संयोग जुर्‍यो । पहिलोपल्ट न्यायाधीश भएर जनकमान मकवानपुरको चिसापानी गढीतर्फ हानिए । स्वाभिमानी चरित्रका कारण जनकमानको जागिरे जीवनमा अपेक्षित वृत्ति विकास भएन । पत्याउन पनि कठिन तेस्रो तहबाट दोस्रो तहको न्यायाधीश हुन १६ वर्ष कुर्नुपर्‍यो ।

‘चारपासे न्यायाधीश’ खुरुखुरु बढुवा हुँदा बेलायतमा शिक्षा दीक्षा गरेर आएका जनकमानले जागिरे जीवनमा कहिल्यै प्रोत्साहन पाएनन् । जनकमानले नेताहरूलाई न्याय त दिए । तर, न्याय दिने न्यायमूर्तिलाई नै अन्यायको शिकार बनाइयो । संवैधानिक अंगकै ‘कू’ मा परेर उनले जागिरबाट हात धुनु पर्‍यो । २०३९ सालमा विना कारण उनलाई पदच्युत गरियो । नेताले त उनीसंग गुहार मागे तर जनकमानले गुहार माग्ने ठाउँ पाएनन् ।

 जागिरे जीवनको समाप्तिपछि पनि जनकमानले आफूलाई सदाचारी बनाए । जे छ त्यसमा सन्तुष्ट मान्ने गुणले ८५ वर्षको उमेरमा पनि उनी हृष्टपुष्ट छन् । आफूलाई चिटिक्क पारेर राख्छन् । 'सन्तोषं परमं सुखम्'को मान्यतालाई उनले सतप्रतिशत पालना गरेका छन् । यो गर्न सकिन भन्ने कति पनि कुण्ठा छैन । सामाजिक कर्ममा उनको सक्रियता कोहीभन्दा कम छैन । टोल सुधारदेखि पौवा, पार्टी, मन्दिर निर्माण मर्मतको नेतृत्व जनकमानले नै गरिरहेका हुन्छन् ।

जनकमान राजनीति गर्दैनन । तर, बुझ्छन् । उनले गरेको राजनीतिक विश्लेषण मिथ्या जाँदैन । आफ्नो यही राजनीतिक सुझबुझका कारण  न्याय सम्पादनमा सजिलो भएको उनको ठम्याई छ । जागिरे जीवनको निवृत्तपछि जनकमानले कोही कसैसँग व्याज खोजेनन् । पटकपटक सत्तामा पुगेको कांग्रेससँग पनि गुनको पैँचो माग्न गएनन् । कम्युनिष्ट नेताहरूसँग चिनजान त छ तर तिनीहरूको कार्यशैली जनकमानलाई कति पनि मन पर्दैन । जनकमान अहिले नब्बे हाराहारीमा पुगेका छन् । घरमा बस्दा पनि चिटिक्क भएर बस्नु उनको दैनिकी हो । आउने जाने मानिसलाई हाँसेर स्वागत र विदाईमा खटिरहन्छन् । बुढ्यौलीबाहेक शरीरमा अरू रोग छैन । न लोभ छ, न पश्चाताप नै ।

यद्यपि आजकल 'नोस्टाल्जिक' भएर हेर्दा जनकमानलाई कता कता लागेको छ– ‘उपराष्ट्रपतिको चुनावमा मैले चाख देखाएको भए के हुन्थ्यो होला ?’ यो प्रश्नको सटिक उत्तर त छैन । तर, कांग्रेस कम्युनिष्टका लागि अग्निपरीक्षा अवश्य हुने थियो ।


यी सबै सामग्रीहरू पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.com)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।

विश्वेश्वरप्रसाद कोइराला जनकमान