संघीय समाचार प्रदेश ६

विकास निर्माणमा इमान्दार हुन निर्देशन

विकास निर्माणमा इमान्दार हुन निर्देशन

सुर्खेत। कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीले विकासमा इमान्दार हुन निर्देशन दिएका छन् । आज आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका गतिविधिको अनुगमनको क्रममा सुर्खेतको भेरीगङ्गा नगरपालिका–८ मैनतडागाउँ पुगेका मन्त्री खत्रीले त्यहाँ कार्यरत निर्माण व्यवसायी र स्थानीय समुदायलाई निर्देशन दिए ।

 

मन्त्री खत्रीले भने, “पछिल्लो समयमा उपभाक्ता समितिका नाममा अनियमित हुन थालेका घटना बाहिर आइरहेका छन् । यसले विकास र सामाजिक संस्कार दुवै बिग्रेको छ । निर्माण व्यवसायीले राज्यलाई कर तिरेर वैधानिक तरिकाले काम गरिरहेका छन् र धरौटीसमेत लिइएको हुन्छ । दायाँबायाँ गरे सरकारले धरौटी जफत गर्नुको साथै कालोसूचीमा राख्छ ।”

 

साविकको मैनतडा गाविसमा १७ वटा खानेपानी तथा सिँचाइका योजनाका लागि प्रदेश सरकारले रु तीन करोड २० लाख बजेट विनियोजन गरेकाले यो चालु आवमै योजना सम्पन्न गर्नसमेत उनले त्यहाँका समुदायलाई निर्देशन दिए । भेरी नदीस्थित भेरीगङ्गा र गुर्भाकोट नगरपालिका जोड्ने पुल निर्माण कार्यको अनुगमन गर्दै मन्त्री खत्रीले सो आयोजनाको जिम्मा लिएको आशिषचन्द्र एण्ड वसन्त जेभी निर्माण सेवालाई बेलैमा काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।