विचार

पुलिस हैन, पोलिसीले चलाऊ     

- संकेत कोइराला

पुलिस हैन, पोलिसीले चलाऊ     

को ठूलो भन्ने विषयलाई लिएर मानव अंगबीच हानाथाप चल्यो । आँखा बम्कियो– ‘मेरो दृष्टि विना सृष्टि नै निस्सार छ । संसारका सवै सौन्दर्य मभित्र निहीत छन् । म नभए मान्छेले छामेर बाँच्नुको विकल्प थिएन् ।’ नाकलाई असह्य भयो । उ भन्न थाल्यो– ‘म भनेको इज्जत हुँ । इज्जतै नभए उज्यालो र सौन्दर्यको के अर्थ ? अनुहारको बीचमा म त्यसै ठडिएर बसेको छैन् । त्यसैले मेरो मर्यादा कसैले नाघ्ने प्रश्नै उठ्दैन् ।’ यी दुईको बडप्पन सुनेर कान र दाँतको पनि कन्सिरी तात्यो । उनीहरुले पनि आआफ्नो महत्वको दलील गरे ।

 

यी सबैको माथापच्ची सुनेर मौन बसेको जीब्रोले भित्रभित्रै निर्णय गर्‍यो– ‘को ठूलो रहेछ अब म देखाइदिन्छु ।’ यो अठोटसँगै उसले खानापिना त के पानी निल्नसम्म पनि नाकाबन्दी लगाइदियो । एकाध दिन त अरु अंग चुरीफुरी गर्दै थिए । तर खाना नै शरीरमा नपुगेपछि उनीहरु लल्याकलुलुक पर्न थाले । सबैको नौ नारी गल्दै गयो । अन्त्यमा जीब्रोलाई नेता मान्ने सहमतिपछि खेल खत्तम भयो । प्रतिस्पर्धामै भाग नलिएको जीब्रो अंगहरुको नेता छानियो ।

 

नेताहरुमा दम्भको मात्रा उग्रसंग बढ्दो छ । सत्तामा हुनेदेखि साना घिसिपिटी दलका स्वघोषित नेताहरुसम्म आँधीबेहरी ल्याउने बाहेक अरु कुरै गर्दैनन् । ‘चेतावनी’ दिनका लागि फेसबुक एकाउन्ट खोल्ने नै काफी छ । पाँच वर्ष ढुंगाको अक्षरजस्तो आयु पाएको सरकार आयाराम र गयारामको आतंकबाट त्रसित छ । आयाराम र गयारामको बाक्लो बहस हुनु भनेको हुने गरेका काममा पनि पूर्णविराम लाग्नु हो । संसारमा बनेका साँचो सज्जनका लागि हो । नियम कानुन र संविधानका ठेली जतिसुकै आकर्षक बनाए पनि त्यसको सौन्दर्य पालनामा हुन्छ । लैनो गाईको फाँचोमा पुगेपनि किर्नोले खाने रगत नै हो, दूध हैन ।

 

कानुन मान्ने र नमान्नेको भिन्नता पनि यही नै हो । प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन् तर घर अगाडिको तगारो नाघी अघि बढ्ने हिम्मत गर्न सक्दैनन् । हामी गर्वका साथ भन्दैछौं– नयाँ युगमा प्रवेश गर्‍यौं । तर यस युगको अन्तिम सीमा अन्तरीक्ष नभएर मानव मस्तिष्क हो भन्ने सत्य हेक्का राख्दैनौं । शास्त्र भन्छ– क्रोधले बुद्धि, अहंकारले ज्ञान, चिन्ताले आयु, लोभले इमान, घुसले इन्साफ, प्रायश्चितले पाप, याचनाले स्वाभिमान र अकर्मण्यताले भविष्य सिध्याउँछ । त्यसैले अरुका लागि हैन, आफ्नै अन्तरचक्षुको अग्निपरीक्षामा खरो उत्रिनेहरु कहिल्यै पराजय हुँदैनन् ।

 

संविधानका हकमा पनि यो सत्य पूरापूर लागू हुन्छ । बीपी कोइरालाले आजभन्दा साढे तीन दशकअघि गरेको राजनीतिक प्रक्षेपण काटिकुटी जस्ताको तस्तै अहिलेको अवस्थासंग मेल खान्छ । अदालतलाई दिएको बयानमा बीपी लोभ, लालच र त्रास नमानी तात्कालिन परिस्थितिको मूल्यांकन यसरी गर्छन्– ‘नेपालमा कस्तो स्थिति छ भने, को देशभक्त नेपाली हो ? त्यहाँ कोही हिन्दुस्तानवादी छन्, कोही चीनवादी होलान्, कोही अरुवादी । म स्वदेश फर्कने कुरामा चीनवादी खुशी छन् रे । भारतवादी खुशी छैनन् रे । एउटा चीनवादीले त मसित भने– भारतको विरोधमा बोल्छौ भने हामीहरु सहयोग गर्छौं ।

 

भारतको सम्बन्धमा तटस्थ रहन्छौ भने हामी पनि तटस्थ रहन्छौं । र भारतको समर्थन गर्छौ भने हामीहरु विरोध गर्छौं । अर्थात, उनीहरु म स्वदेश जाने कुरालाई नेपालको सम्बन्धमा विचार गर्दैनन् । चीन भारतका बीचमा मेरो कस्तो भूमिका हुन्छ, त्यो सोच्छन् । एउटा राजावादीले त के सम्म भनेछ भने भारतलाई गाली गर्छ भने हामी उ स्वदेश आउने कुराको समर्थन गर्छौं, होइन भने विरोध गर्छौं । मानौं, नेपालीहरु अमेरिका वा चीन वा भारतको दलालजस्तो भइरहेका छन् ।’ संविधान जारी भएपछि यसका अदृश्य झलक नेताका वाणी, व्यवहारबाट प्रष्टिएकै छ ।

 

ऋग्वेद सुक्त ७२-२ मा भनिएको छ– ‘असत्यमा सत्य स्थापित छ ।’ कहिल्यै ननासिने शास्त्रीय आत्मालाई विज्ञानले इलेक्ट्रोन, प्रोटोन र न्युट्रनको नाम दिएको छ  । इलेक्ट्रोन कहिल्यै नास हुँदैन । आत्माजस्तै इलेक्ट्रोन शाश्वत एवं पुरातन छन् । आत्मा र परमात्माबीच घनिष्ट सम्बन्ध हुनाले इलेक्ट्रोनकै माध्यमबाट वैज्ञानिक जगत पनि परमात्मासम्म पुग्न सक्ने आशा गर्दछ । मानिसको आहार विहार पनि तीन प्रकारको हुन्छ भन्दै गीताले आहारको प्रभाव मानिसको मनमस्तिष्कमा पर्ने विश्वास प्रकट गरेको छ । आहारलाई सात्विक, राजसिक र तामसिक भनेर तीन श्रेणीमा विभिाजन गरिएको छ । सात्विक आहारबाट मानिसमा सद्गुणको वृद्धि हुने, तामसिक आहारबाट मानिसमा तमोगुण बढेर दुष्कर्मतिर प्रवृत्त हुने जीव हत्या गरेर पाइने मासुलाई तामस आहार भनिएको छ । यस्तो आहारबाट मानिसमा आसुरी गुण उत्पन्न भई यसले मानिसलाई निर्दयी, निष्ठुर र त्रूmर बनाई दुष्कर्मतिर धकेल्छ । 

 

पत्याउनुहुन्छ ? मानिसको शरीरमा पानीबाहेक २२ सय सलाईको काँटी बनाउन पुग्ने फस्फोरस, सल्फर र २५ मिमि नङ तयार पार्न पुग्ने आइरन र ३० ग्राम अन्य धातु हुन्छ । मानिसको फोक्सोमा तीन क्यापिलरिज (अत्यन्तै साना रक्तनली) हुन्छन् , जसलाई फैल्याउँदा त्यसको लम्बाई २४ सय किलोमिटर हुन्छ । तर के गर्नु शरीरमा आगो छ भनेर ताप्न त नमिल्ने रहेछ । मुलुक अन्धकार छ भनेर त्यसलाई बिजुलीको तार बनाउन नसकिने रहेछ । नीतिले भन्छ– ‘जो राजर्षि बनी देशको सेवा गर्छ उसले गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन, रहस्य लुकाउने क्षमताजस्ता गुणहरु आफूमा सुरक्षित राख्नु आवश्यक छ ।’ प्रकृतिले मानिसको शरीरलाई यस्तो चमत्कारयुक्त बनाएको छ, जसका अगाडि संसारका सवै वस्तु रंगहीन ठहर्छन् ।

 

चाणक्यले मानिसको नैतिक साहसको मूल्य बताउँदै भनेका छन्– ‘ठूला महापुरुष आफ्ना आचार विचारमा सदैव दृढ रहन्छन् । जब कि युगको अन्त्यमा सुमेरु पर्वतले पनि आफ्नो ठाउँ छोड्छ । कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्दछ र पृथ्वीलाई जलमग्न बनाइदिन्छ । तर सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै पनि छोड्दैन् ।’

 

राजधानीको पानीले कसलाई कहाँ पुर्‍यायो थाहा छैन् । तर धरहराभन्दा अग्लो घर नबनेपछि त्यही धरहरा निर्विवाद अग्लो हुने रहेछ । तीनसय वर्षअघि काठमाडौको मनोविज्ञानलाई अथ्र्याउँदै पृथ्वीनारायण शाहले त्यतिबेलै भनेका थिए– ‘यो तीन सहर भन्याकोचिस्व ढुंगो रहेछ, षेलषाल मात्रै ठुलो रहेछ, कुपको पानी षान्याछेउ बुधि पनि हुदैन. सुरो पनि हुदैन. षेलखाल मात्र रहेछ . मेरो मनसुबा त दहचोकमा दरबार बनाउला र चारै दिसा थरघरको गुरु प्रोहित भैयाद भारादार मिर उमराउको घर बनाई छुट्टा दरबार बनाउला र ई तिन सहरमा ता दरबारबाट स्वषसयल्लाई मात्रै जाला भन्या यस्तो अविलाष थियो ।’

 

नेपालको विकास किन भएन ? धेरैका धेरै तर्क होलान । तर मेरो ब्रम्हले भन्छ– देशको चिन्ता गर्दागर्दै आफ्नो कर्तव्य विर्सिनेहरुको लाभाले देश सुरुङतर्फ प्रवेश गरेको हो । राजनीतिको प्रकृति कस्तो हुन्छ भन्नेमा विदुरको यस्तो मत छ

 

सत्याऽनृता च परुषा प्रियवादिनी च

हिंस्रा दयालुरपि चाऽर्थपरा वदान्या

नित्यव्यया प्रचुरनित्यधनागमा च

वाराड.गनेव नृपनीतिरनेकरुपा ।

 

अर्थात कहिले साँचो, कहिले झूठो,कहिले कठोर, कहिले मधुर, कहिले हिंस्रक, कहिले खर्चिली, कहिले प्रशस्त कमाउने । यसप्रकार वेश्यासमान राजनीतिका अनेकौं रुप हुन्छन् । हाम्रोमा राजनीतिले सुशासनको बीउ रोप्न सकेन । कानुन सोझाका लागि फस्ने र छट्टूका लागि उम्किने माध्यम बन्यो ।

 

फलस्वरुप परपीडा यसरी पन्पिएर गयो कि रक्सीको सामान्य नशाको तलतल मार्न आलुको भाउमा मृगौला बेच्नेहरु बढ्दा कसैको मन दुख्दैन । जस्ता पाताको छानो छाउने लोभमा छोरीचेलीको लर्को वेश्यालयतर्पm लाग्दा कुनै माईतीको चित्त काटिदैन । १६ वर्ष पुगेको भोलिपल्ट ‘वीर गोरखाली युवा’को परिचय खाडीमा उँटको लिदी सोर्ने काममा अनुवाद हुँदा युवाको खाँचो देशले महशूस गर्दैन । हजार विदेश जाने क्रमसंगै दर्जन शब बाकसमा फर्कंदा कसैको मन द्रवित हुँदैन् । स्वदेशमा बनिने नाममा विदेशमा पैसा तान्ने कोक, फ्यान्टाका उत्पादनमा ताली पड्काउने नेपालीहरु आफ्नै माटोका उत्पादनमा आग्लो लाग्दा भोज खान तत्पर देखिन्छन् ।

 

मुलुकको राजनीति अँगार धोएर सुकिलो बनाउने कुकर्ममा नै अल्मलिरहन्छ । संसार युरेनियमले उज्यालो बनाउने अभियानमा अघि बढिरहँदा असारे भेललाई हेरेर मेघावाटका सपनाबाट हामी व्युँझन सकेनौं । खोई, कुन चाहिँ बहुलठ्ठीले भनिदिएको जलश्रोतको दोस्रो धनी देशको पगरी भारा लाग्ने अवस्थामा पुग्दा पनि कसैको चेत फिरेको छैन् । क्यासिनोको दाउले काम गर्न छोडेपछि यिनै सुकिलामुकिलाहरु सिंहदरवारलाई अल्मल्याएर खोलाको पानीमा दाउ हान्न तम्सिएका छन् ।

 

जमिन ओगटेको नपुगेर खोलाको पानीमा ‘ताजमहल’को बल्छी फ्याँकेर आर्जनका नयाँ नयाँ अस्त्र धारण गरिरहेका छन् । सिंहदरबार पसेका गिरिजाप्रसाददेखि प्रचण्डका क्रान्तिकारी धारलाई स्वागत र अभिनन्दनका नाममा चढाइएका फूलमालाभित्र छिरेका स्वार्थी झुसिलकिराले भुत्ते पारिदिए । देश पुलिस नभएर पोलिसीले चल्छ भन्ने सत्यलाई कसैले आत्मसात् गर्न सकेन् । आजसम्मका सवै सरकार प्रमुख बद्नामी बोकेर सिंहदरबारबाट निस्किए ।

 

राजनीतिक नेतृत्वले ढुक्क भए हुन्छ– समस्या राउटे, चेपाङ, कुसुण्डा बस्तीमा छैन् । समस्या त समस्यालाई सधैं समस्या देखेर हात हाल्न हिम्मत नगर्ने सोचमा छ । अब पनि नचेत्ने हो भने अन्नको रासमा पुगेर भोकको गीत गाउने नियति दोहोरिने पक्का छ ।

मानव अंग संकेत काेइराला ऋग्वेद