भिडियो मनोरञ्जन

फिल्मका भिलेनकाे रहर गायनमा पनि (भिडियोसहित)

फिल्मका भिलेनकाे रहर गायनमा पनि (भिडियोसहित)

काठमाडौं । नरु रसाइली नेपाली फिल्म क्षेत्रका नवकलाकार हुन् । उनी नेपाली फिल्म क्षेत्रमा भित्रिएको दुई वर्षमात्र भयो । यो छोटो अन्तरालमा उनले नाम चलेका ब्यानरमा थुप्रै फिल्ममा काम गरिसकेका छन् । ‘किङ’, ‘बाँध मायले’, ‘ब्लाक’जस्ता फिल्ममा उनले आफ्नो एक्सन अवतार देखाइसकेका छन् । यी फिल्महरूमा छोटो भूमिकामा देखिएका उनको अर्को फिल्म आउँदैछ । ‘मेरो आफ्नो’ मा उनी पूर्ण रूपमा एक्सन भूमिकामा देखिँदै छन् । चरित्र भने खलपात्र नै हुनेछ । 

 

फिल्मको काम पूर्ण रुपमा सकिइसकेको छैन । फिल्मले तराई भेगको प्रेम कथा बोल्ने रसाइलीले बताए । ‘को आफ्नो’ नाम गरेको फिल्ममा खलपात्रको भूमिकामा देखिएका रसाइलीको चाहिँ फिल्ममा आफ्नो भन्ने को छ त ? नरुको जवाफमा फिल्ममा उनको आफ्नो भन्ने कोही छैन । 


उनको भूमिका नै अरुका आफन्तहरुलाई भाँड्ने छ । फिल्ममा तपाईंको आफनो को भन्ने प्रश्नमा उनले हास्ँदै भने, ‘भिलेनको आफ्नो त हुँदैन । अरुको आफ्नोलाई भाड्न जान्छ । आफ्नो भूमिकालाई न्याय गरेको छु ।’ 


रसाइलीले ‘किङ’ बाट फिल्ममा डेब्यू गरेका हुन् । ‘किङ’ को सुटिङ लुम्बिनीमा भरहेको थियो । फिल्मको प्रोडक्सन म्यानेजर नजिकका साथी थिए । त्यहाँ एउटा भूमिका खाली भएको कारण तिनै साथीले उनलाई फिल्म खेल्न प्रस्ताव राखे । ग्ल्यामर क्षेत्रमा आउन सौखिन उनले पनि सहजै प्रस्ताव स्वीकार गरे । एउटा फिल्ममा काम गरेपछि अन्य फिल्ममा पनि काम गर्ने लोभ बढ्दै गयो । जे जे आयो उनले प्रस्ताव स्वीकार्दै गए । 

 

पहिलो फिल्ममै निखिल उप्रेतीसँग स्क्रिन सेयर उनले सुटिङको पहिलो दिनको अनुभव सुनाउँदै भने, ‘सुरुमा त निकै उत्साहित थिएँ । तर पछि क्यामेरा अघि आएपछि भने नर्भस भएँ ।’ काम गर्दा उपे्रतीले हौसला दिएको उनले बताए । फिल्मको पृष्ठभूमि नभएका कारण उनलाई सुरुसुरुमा निकै गाह्रो थियो । अहिले केही हदसम्म सजिलो भएको छ र उनी सिक्दै पनि छन् ।    

 

रसाइली कलाकारमात्र होइनन् । उनी गायक पनि हुन् । उनले सांगीतिक क्षेत्रमा संघर्ष गर्न थालेकै दश वर्ष भइसक्यो । धेरै दर्शकमाझ नचिनिए पनि उनी सन्तुष्ट छन् । उनी आफ्नो रचना बाहिर आउनुमा नै सन्तुष्ट लिन्छन् । उनलाई सुन्ने दर्शकले व्यक्तिगत रुपमा राम्रो प्रतिक्रिया दिइरहेका हुन्छन् । जसले उनलाई थप हौसला दिने काम  गरेको छ । 


अहिलेसम्म उनले आठवटा गीत बजारमा ल्याएका छन् । फिल्म र संगीतलाई समायोजन गर्दै लगिरहेका छन् । आफ्नो समयमा संगीतमा लाग्न निकै संघर्ष गर्नुपरेको र अहिले यूट्यूबले गर्दा पनि अवस्था केही सहज भएको उनको बुझाइ छ । 


प्रायः फिल्ममा हिरोलाई कुट्ने भूमिकामा हुन्छन् उनी । आफूले भने कुटाइ कम नै खाएका हुन्छन् । 

 

एक्सन विधामा काम गर्न नेपाली फिल्म क्षेत्रमा अझै पनि धेरै चुनौती भएको उनको अनुभगव छ । कलाकारको बीमा नहुने, घाइते भएमा उचित व्यवस्था नुहनु यसको प्रमुख चुनौती भएको उनले औल्याए । 

नरु रसाइली