भिडियो

काश्मिर युद्धका विषयमा नेपालको भूमिकाप्रति भारत असन्तुष्ट

काश्मिर युद्धका विषयमा नेपालको भूमिकाप्रति भारत असन्तुष्ट

काठमाडौं । भारत प्रशासित काश्मिरको पलुवामा आतंकवादी हमलामा आफना ४३ सैनिक मारिएपछि आक्रामक भएको भारत अझै शान्त छैन । भारतले पाकिस्तानको ‘एयर स्पेस’मा प्रवेश गरी बम आक्रमण गरेपछि दुवै मुलुकबीच तनाव झन बढ्दै गयो । 

 


पाकिस्तानले भारतका दुईवटा लडाकु बिमान खसाएको दाबी गर्यो । पक्राउ परेका पाइलटलाई फिर्ता गर्ने पनि निर्णय गर्यो । भारतले भने आफना बिमान पाकिस्तानले खसालेको नभइ आफै दुर्घटनामा परेको बताउँदै आएको छ । 

 


दुई मुुलुकबीचको द्वन्द्वलाई ‘द्वन्द्वको स्थिति’ भन्न नमिल्ने बताउँछन् अन्तर्राष्ट्रिय मामिला जानकार डा. दीपेश केसी । अहिले सामान्य एकले अर्कालाई तर्साउनेसम्मको मात्र काम भैरहेकाले यसले ठूलो द्वन्द्वको रुप नलिने केसी बताउँछन् । 

 


द्वन्द्व लामो जाँदैन


चीन, युरोपियन युनियन लगायत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयम रहन लगातार गरेको आग्रहलाई भारत र पाकिस्तान दुवै मुलुकले गम्भीरतापूर्वक लिएकाले केही दिनमै यो तनाव अन्त्य हुने केसीको दाबी छ । 

 


मोदी र खान दुवैको राष्ट्रवादी छवि


यो द्वन्द्वले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खान दुवैको राष्ट्रवादी छवि अझ चम्किएको केसीको बुझाइ छ । कुनैपनि मुुलुकको अर्को देशसंग तनाव बढ्दा सम्बन्धित देशका सबै जनता एकजुट हुने भएकाले आ–आफनो देश भित्र मोदी र खान दुवैलाई राजनीतिक लाभ मिल्ने केसीको तर्क छ । 
भारतमा आउँदो चुनावमा मोदी र उनको पार्टीलाई यसको प्रत्यक्ष फाइदा देखिनसक्ने केसीको आंकलन छ । 

 


चीन, ईयू, अमेरिका तटस्थ


दुवै मुुलुकको तनावमा चीन, ईयू तथा अमेरिका प्रत्यक्षरुपमा कहिल्यै छिर्न नसक्ने केसी बताउँछन् । आ–आफनो ब्यापारिक अवस्था राम्रो भएसम्म कसैले पनि पक्ष बिपक्षको निर्णय नगर्ने उनको बुझाइ छ । 

 


 

नेपालसंग भारत अप्रसन्न


काश्मिरको बिषयलाई लिएर नेपाल सरकारले निकालेको बिज्ञप्तीप्रति भारत खुशी नभएको केसीको दाबी छ । भारतले खुलेर नेपालको समर्थन खोजेको तर नेपाल सरकारले औपचारिकताको लागि मात्र बिज्ञप्ती निकालेर झाराटारेकाले भारत सरकार खुशी नभएको उनी बताउँछन् । योक्रम बढ्दै गए यसका दुष्परिणामहरु भोलिको दिनमा देखिदै जाने उनको अनुमान छ । 

 


केसीका अनुसार पाकिस्तान भन्दा भारतसंगको राजनीतिक, आर्थिक तथा सामाजिक सम्बन्ध नेपालको बलियो भएकाले भारतको पक्षमा नेपाल उभिदा पनि पाकिस्तानसंग सम्बन्ध बिग्रिने छैन । 

 


सार्कको भविश्य देखिएन


भारत र पाकिस्तानको तनावका कारण सार्क एम्बुसमा परेकाले यसलाई सहि ढंगल अघि बढाउन कठिन भएको छ । भारतको चाहना नभएसम्म वा भारत पाकिस्तान सम्बन्धमा सुधार नआएसम्म सार्क मरेतुल्य नै रहनसक्ने केसीको विश्लेषण छ । 

 


भारतीय प्रधानमन्त्री मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खान दुवै शान्तिप्रिय र विकासवादी नेता भएकाले आपसी सम्बन्ध सुधार गर्दै अघि बढे त्यो दक्षिण एशियाली मुलुककै समृद्धिका लागि कोशेढंगा हुने र त्यो दिन निकट भविश्यमै देखापर्ने केसीको दाबी छ । 

डा. दीपेश केसी