विचार

वर्गसंघर्षले देखाएको बाटो

- प्रदीप सुनुवार

वर्गसंघर्षले देखाएको बाटो

मानव जातिको इतिहासमा वर्गसंघर्षको उत्पति

आदिम साम्यवादपछि शुरूवात भएको थियो । आदिम साम्यवादमा मानव जाति जंगली अवस्थामा नै थिए । यही मानव समाज मानव सभ्यताको शुरूवात मानिन्छ । उनीहरू समूह बस्थे र सामुहिक श्रममा आधारित थिए । उत्पादक शक्तिको रूपमामा त्यो मानव समाज प्रकृतिमा निर्भर थियो।

 

आदिम साम्यवादका दुई चरणमध्ये पहिलो जंगली युग र दोस्रो बर्बर युग । जब बर्बर युगको अन्तिम चरणको अवस्थामा मानव जातिले आफ्नो आवश्यकताका वस्तुहरूको उत्पादन आफैँ गर्न थाले । उनीहरूले आफ्नो आवश्यकताका वस्तुहरूको आफैँ उत्पादन गर्ने क्रममा आफूलाई बढी भएको वस्तुहरू एक अर्का बीच बिक्री गर्न थाले ।

 

यहीँ उत्पादित वस्तुहरू बिक्री गर्ने क्रममा धन लाभ हुन थाल्यो । त्यसपश्चात् निजी स्वामित्वको विकास हुन पुग्यो । यसैअनुरूप वर्गहरूको पनि निर्माण हुन पुग्यो । बर्बर युग विकाशीत हुदै दास युगमा प्रवेश गर्‍यो । यहीँ दास युगबाट वर्गसंघर्ष को शुरूवात भयो ।

 

आजसम्मको मानव समाजको सम्पूर्ण इतिहास वर्गसंघर्षको इतिहास हो भन्ने मान्यता कार्ल माक्र्सले राखेका थिए । माक्र्स अघि पनि फ्रान्सका तीन(गिजो, मेन्ने,अगस्तिन थोरे) विद्वानहरूले वर्गसंघर्षको बारेमा आफ्नो धारणा राखेका थिए, तर यो पूँजीपती वर्गहरूले परिभाषित गर्ने खालको वर्गसंघर्ष थियो । यसको वास्तविक परिभाषा माक्र्स द्वारा नै भएको थियो । वास्तवमा वर्गसंघर्ष भन्नाले जब सम्म एउटा वर्गको अधिनायकत्व पुग्ने लक्ष्य हुन्छ तब मात्र त्यो वर्गसंघर्ष मानिन्छ ।

 

कुनैपनि वस्तुमा एक वर्गले आफ्नो स्वामित्व लिने र अर्को वर्ग त्यो वस्तुको स्वामित्व बाट बन्चित हुने, त्यहीँबाट वर्गसंघर्षको शुरूवात हुनथाल्यो। हरेक युगमा व्यवस्थाहरू परिवर्तन भए उत्पादक शक्तिको स्वरुपहरू पनि बदलिए ,क्रान्तिको बिधिहरू पनि बदलिएको छ, तर वर्गसंघर्ष निरन्तर जारी छ। यो क्रम तबसम्म चल्नेछ जबसम्म प्रचुर उत्पादन र समान वितरण हुँदैन ।

 

वर्गसंघर्ष सधै दुई पक्षको बीचमा एउटा वस्तु प्राप्त गर्नकै निम्ति हुने गदर्छ । दास युगमा दास र मालिक ,सामन्त युगमा सामन्त र किसान वा भुदास,पुजीवादी युगमा पुजीपती र श्रमिक बीच निरन्तर वर्गसंघर्ष हुँदै आएको छ। पहिलो वर्ग शोषक अर्को वर्ग शोषित हुन्छन्। यी दुई वर्ग एक अर्काका लागि आवश्यक भएकोले एकै ठाउँमा रहन्छन् । यी दुई बीचमा परस्पर विरोधी उद्देश्य हुन्छ ।

 

सधैं मालिकले मजदुरलाई कम ज्याला दिएर नाफा कमाउने प्रयत्नमा रहन्छ भने यता मजदुर अलि बढी ज्याला पाउने कोसिसमा हुन्छ । यता भूमिपति अरुको जमिन खोस्ने तयारीमा रहन्छ भने उता किसानहरू जमिन खोस्नु बाट जोगाउने प्रयासमा हुन्छन । व्यवस्था परिवर्तन संगै उत्पादक शक्ति पनि फेरिएको छ । सामन्तवादमा जमिन उत्पादक शक्तिको रूपमा थियो, भने पुजीवादी व्यवस्थामा पुजी मुख्य उत्पादक शक्ति बन्यो ।

 

पुँजीवादी व्यवस्थाको चार चरण छन्:

१ संरक्षणवादी पूँजीवाद

२ प्रतिस्पर्धी पूँजीवाद

३ एकाधिकार पूँजीवाद

४ एकीकृत (भूमंडलीकृत) पूजीवाद ।

 

पूँजीवादी व्यवस्थामा दुई वर्ग हुन्छन् पहिलो उत्पादक साधनहरूका मालिक र अर्को चाहिँ श्रमिक मानव (मजदुर ,किसान, कर्मचारी । विश्वभरको अर्थतन्त्र मुठीभर व्यक्तिको हातमा छ र ती व्यक्तिहरूनै पुँजीवादी दुनियाँका वास्तविक मालिक भएका छन् ।

 

आधुनिक पुँजीवादी विश्वका कुबेरहरूको फजुलको खर्च गर्ने बानी अतितका सम्राटहरू र राजा महाराजाहरूको लहडलाई पनि मात गर्ने भएको छ । संरक्षणवादी पुँजीवाददेखि एकाधिकारी पुजीवादसम्म मानव श्रम उत्पादक शक्तिको रूपमा मुख्य भुमिकामा थियो ।

 

जब भूमंडलीकृत पुजीवादको शुरूवातसँगै मानव श्रम सहायक हुनपुगेको छ । पुँजीवादको विकाससँगै विज्ञान प्रविधिको पनि विकास भयो । आज मानव श्रमको स्थानमा धेरैभन्दा धेरै प्रविधिहरूको प्रयोगमा आएको छ । हजारौं मजदुरको काम आज एउटा मेसिनले गर्दछ ।

 

यस्ता मेसिन मात्र नभएर स्वचालित मेसिनहरूको पनि विकास भएको छ । आजका पुँजीपति वर्गलाई मानव श्रमको आवश्यकता कम भएको कारण श्रमिकहरू श्रमबाट बन्चित भएका छन् । पुँजीपति वर्गलाई शारीरिक श्रमभन्दा मानसिक श्रम गर्ने केही श्रमिकहरू आवश्यक पर्दछ ।

 

उसले त्यो केही श्रमिकहरूलाई शोषण गर्नुपर्ने जरुरी हुँदैन । किनकि उसले केही श्रमिकहरूलाई प्रयाप्त पारिश्रमिक दिएर राखेको हुन्छ । त्यसकारण ती श्रमिकहरूले विद्रोह गर्दैनन् । त्यसैले अबको वर्गसंघर्ष श्रम बाट विस्थापित श्रमिक वर्ग र प्रविधिलाई निजी स्वामित्व बनाउने पुँजीपति वर्ग बीच हुनेछ । निजी स्वामित्वको अस्तित्व जबसम्म हुन्छ तबसम्म त्यसको उत्पादनमा प्रचुरता हुँदैन ।

 

जब उत्पादक शक्ति उच्च विकासको क्रममा हुन्छ । त्यस समयमा निजी स्वामित्वको अस्तित्व पनि कम हुँदै जान्छ । वर्गसंघर्षको पनि आफ्नो ऐतिहासिक महत्त्व छ । किनकि आजको यो अवस्थासम्म आइपुग्नुमा वर्गसंघर्षको आवश्यकता थियो । मानव सभ्यताको शुरूवातसँगै आएको वर्गसंघर्षको पनि अन्त्य निश्चित छ ।

 

इतिहासका हरेक घटनालाई विचार गर्दा कुनै नयाँ युगको शुरूवातको लागि आवश्यकताले मात्र नभएर भौतिक परिवेश पनि तयार हुनुपर्छ । फेरि त्यो व्यवस्थाले केही समयसम्म समाधान दिए पनि, त्यसले नयाँ व्यवस्थाको माग गर्दछ । वर्गसंघर्षको क्रम अन्त्यसँगै समाज वर्गविहीन हुन्छ । त्यो अवस्थामा नै समाजवादको स्थापना हुन्छ ।

 

पुजीवादले भन्ने गरेको स्वतन्त्रता ,समानता, भातृत्वको नारालाई समाजवादले मुर्तरुपमा प्रस्तुत गर्दछ। हरेक व्यवस्थाले आफ्नो विकाससँगै आफ्नो विनाशको भ्रुण पनि गर्भमा लिएर आएको हुन्छ । जब पूँजीवाद संकटमा पर्छ तब त्यसको विकल्पमा समाजवादको विकास हुन्छ ।

 

समाजवाद निर्माणको लागि पूँजीवादले सम्पूर्ण आधार विकास गरेको हुन्छ । पुँजीवादले विज्ञान प्रविधिको पूर्ण रुपले विकास गरेको हुँदा, श्रमिकको स्थान मेसिनले लिन्छ, श्रममा निर्भर श्रमिक वर्ग विस्थापित हुन्छन् । सीमित वर्गले प्रविधि प्रयोग गरेर धन आर्जन गर्छन् भने यता लाखौं श्रमिक श्रमबाट बन्चित हुन्छ ।

 

उत्पादक शक्ति उत्पादन सम्बन्ध बीचको ठोस अन्तर

 

उत्पादक शक्ति र उत्पादन सम्बन्ध बीचको ठोस अन्तरविरोधले आर्थिक संकटहरू र वेरोजगारी पैदा गर्दछ। बुर्जुवा वर्ग र श्रमिकवर्गको बीचमा एक त्यस्तो जीवन (मरणको वर्गसंघर्ष पैदा गर्दछ,जसको समापन समाजवदी क्रान्ति) पुजीवादको स्थानमा समाजवादको स्थापना हुन जान्छ । यहीँ प्रक्रियाबाट समाजवादी क्रान्ति एक ऎतिहासिक आवश्यकताको रुपमा देखा पदर्छ ।

 

यसको एक निश्चिति आर्थिक आधार हुन्छ । पूँजीवादी उत्पादक व्यवस्थामा रहेको अन्तरविरोध नै यो आधर हो । उत्पादक शक्तिहरूको सामाजिक चरित्रले नै निजि पुजीवादी स्वामित्वको अन्त्य र सार्वजनिक, सामुहिक स्वामित्वको स्थापना आवश्यक बनाइदिएको हुन्छ । समाजवादी क्रान्तिले मानिसद्वारा मानिसको सबै प्रकारको शोषणको अन्त्य गर्दछ र शोषक वर्गलाई नै निर्मुल पार्दछ ।

 

यसअघि भएको कुनैपनि क्रान्तिले सामाजिक उत्पादनको अराजकतावादी चरीत्रलाई बदलेको थिएन तर समाजवादी क्रान्तिले उत्पादनको अराजकतालाई समाप्त गर्दछ र सामाजिक उत्पादनको योजनाबद्व संगठनतर्फ अघि बढाउँछ । समाजवादको लक्ष्यतर्फ जाने विधि पनि वर्तमानमा रहेको भौतिक परिवेशका मुख्य आधारहरूको विश्लेषण गरेर तयार पार्नुपदर्छ । किनकि इतिहासले प्रमाणिात गरेको छ, समाजवादी क्रान्तिबाट स्थपित सोभियत संघको पनि ७४ वर्षपश्चात् पतन हुन पुग्यो ।

 

यसको कारण त्यो समाजवाद जुन भौतिक परिवेशमा निर्माण भएको थियो, त्यसले नयाँ बदलिएको परिवेश शीत असहज हुँदा त्यो समाजवादको पतन भयो । अर्को कारण समाजवादको मुख्य आधार प्रचुर उत्पादनमा र वितरणमा समानता हो त्यो समयमा विज्ञान प्राविधिको पूर्ण रूपमा विकास नहुँदा प्रचुर उत्पादनको कार्य पनि असम्भव थियो ।

 

विगतमा समाजवादी क्रान्ति धेरै मुलुकमा सफल भएता पनि त्यसपछिको समाजवादी क्रान्ति सफलता प्राप्त हुन सकेको छैन । मुख्य उत्पादन शक्तिको रुपमा मानव श्रममा आधारित समयमा निर्माण गरिएको समाजवादी क्रान्तिको विधिलाई आजको परिवेशमा प्रयोग गरिनु नै असफलता को एक कारण हो । त्यसैले आज उत्पादन शक्तिको रुपमा विज्ञान प्रविधि र भूमंडलीकृत पुजीवादी व्यवस्था अनुरुप को नयाँ समाजवादी क्रान्ति को बिधि अवलम्बन गर्नुपर्ने देखिन्छ ।

 

क्रान्तिकारी वर्गले पनि के बुझ्न जरुरी छ, भने अबको लडाइँ भनेको विश्वको पुँजीपति वर्गसितको लडाइँ हो । किनकि एकीकृत पुजीवादी व्यवस्थामा विश्वका पुँजीपाती वर्ग एक ठाँउमा उभिएका छ्न । त्यसकारण विश्वका उत्पीडित ,श्रमिक वर्गहरू पनि एक भएर भूमंडलीकृत पुँजीवाद विरुद्धको लडाइँमा सहभागी हुन जरुरी छ ।

 

अब निर्माण हुने नयाँ समाजवाद समाजनियंत्रित हुनेछ। पुरानो समाजवाद राज्य नियंत्रित थियो र पुँजीवादमा वर्गद्वारा नियंत्रित हुन्छ । यसको विपरीत, नयाँ समाजवाद समाजको नियन्त्रणमा हुनेछ । विगतको समाजवाद राज्यको स्वामित्वमा आधारित थियो भने पुँजीवादमा निजी स्वामित्वमा आधारित हुन्छ । तर अबको नयाँ समाजवाद सामाजिक स्वामित्वमा आधारित हुनेछ ।

 

अब निर्माण हुने समाजवाद वास्तवमै वैज्ञानिक समाजवाद हुनेछ । किनभने आजको युग विज्ञान प्रविधिमा आधारित छ । समाजवाद काल्पनिक नभएर यथार्थमा आधारित छ। यस विचारधाराले सामाजिक विकासका नियमहरू र स्वयं मानवको सारतत्वलाई वैज्ञानिक दृष्टिकोणले हेर्दछ । त्यसकारण यसले अवश्य सफलता प्राप्त गर्ने छ ।

वर्गसंघर्ष पूँजीवाद