समाचार अर्थ

अर्थमन्त्री खतिवडाले साउदीलाई भने, नेपाल राम्रो अवसर छ, लगानी गर्नुहोस्

अर्थमन्त्री खतिवडाले साउदीलाई भने, नेपाल राम्रो अवसर छ, लगानी गर्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले साउदी अरेबियालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । आफूसँग शिष्टाचार भेटका लागि आएका साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानलाई मन्त्री डा. खतिवडाले नेपालमा लगानीको उचित अवसर भएको बताएका हुन् । 

 

अर्थमन्त्री खतिवडाले पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरे । नेपालको सिँचाइ, ऊर्जा, भौतिक संरचना विकासका लागि साउदी कोषले सहयोग गरेकोमा साउदी सरकारलाई मन्त्री खतिवडाले धन्यवाद दिए ।  करीब चार लाख नेपाली कामदार साउदी अरेबियामा कार्यरत भएको भन्दै उनले साउदी सरकारले नेपालीलाई रोजगारी दिएर केही हदसम्म नेपालको गरीबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य र जनजीवनको सुधारमा महत्वपूर्ण भूमिका खेल्नुका साथै नेपालको अर्थतन्त्रमा समेत सहयोग पुर्‍याएको बताए । 

 

मन्त्री खतिवडाले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनमा साउदी अरेबियाका लगानीकर्तालाई बढीभन्दा बढी सहभागी गराउन दूतावासमार्फत सन्देश प्रवाह गर्नुपर्ने बताए ।नेपालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउन लागेकाले साउदी नागरिकलाई पर्यटकको रुपमा नेपाल भित्र्याउने र नेपाली कामदारलाई सिधै आवतजावत गर्न सहज हुने उल्लेख गरे । 

 

भेटमा साउदी अरेबियाका राजदूतले साउदी फण्डमार्फत नेपालमा भूकम्पपछिको पुनःनिर्माण, शिक्षा, स्वास्थ्य र निजी आवास निर्माणमा सहयोग गर्न विभिन्न चरणका छलफल र वार्ता अघि बढेको बताएका थिए । नेपालमा लगानी र सहयोग गर्न साउदी अरेबिया तयार रहेको भन्दै राजदूतले दुवै देशबीच उच्चस्तरीय भ्रमण गरी सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री डा. युवराज खतिवडा साउदी अरब

विशेष