विचार

काठमाडौंले समयअनुसार पाइला चाल्न सकेन

– पूर्ण ओली

काठमाडौंले समयअनुसार पाइला चाल्न सकेन

    गौचरनलाई एयरपोर्ट बनाएर डकोटाबाट शुरु गरेको हवाइमैदान अहिले वाइडबडी विमान आइसकेर लाखौं यात्रु आउने जाने गर्दा पनि यात्रुको बृद्धिअनुसार यसको व्यबस्थापन हुनसकेको छैन । सँंगै शुरु भएका अन्य देशका एअरलाइन्सहरु र हवाइमैदानको स्तरोन्नति हेर्दा हाम्रो शीर झुकेर आउँछ । अब यसको बिकल्पमा आएको निजगढ एयरपोर्टको कहानी धेरै अघि शुरु भइसकेता पनि बातावरणको कुरा झिकेर बाधा व्यबधान आइरहेका छन् । यसको कारबाही शीघ्र अघि बढाउन मेघा सिटीको कन्सेप्ट हटाएर स्तरीय हवाइमैदानको लागि कमसेकम मात्र रुख कटाएर भए पनि यस कार्यलाई ढिला नगरी समयमै अघि बढाउनु पर्छ ।

 

    कुनै समयमा सुन्दरीजलको पानीले काठमाडांै उपत्यकालाई पर्याप्त पुगेको थियो । राजधानीमा सबै सुबिधा थपिंदै जाँदा यहाँ बढेको जनघनत्व बढेअनुसार पानीको अभाव बढ्न थालेको लामो समयसम्म पानीको थप ब्यबस्थापन गरिएन । मेलम्चीको पानीको कुरा लामो समयसम्म चलेपनि यस योजनालाई  अघि बढाउन थालेको धेरै भएता पनि यो योजना समयमा सम्पन्न भएन । त्यसैले अहिले उपत्यकामा  खानेपानीको हाहाकार भएको छ ।

 

खानेपानी संस्थानका कर्मचारीको लापरबाही तथा धारामात्र बितरण गर्दे जाने तर पानी नदिए पनि मिनिमम शुल्क लिने गलत नीतिको कारणले पछिल्ला अवस्थामा ग्राहकहरु पीडित छन् । मेलेम्ची योजनाको अन्तिम अवस्थामा ठेकेदारले आफ्नो सर्तअनुसारको भुक्तानी नपाएर फर्केको छ । निज ठेकेदारको भनाइअनुसार यस योजनाका प्रमुख तथा सचिबसमेतले धेरै कमिसन माग गरेपछि थेग्न नसकेर ठेक्कानै रद्द गरेर स्वदेश फर्कन बाध्य पारिएको भनिएको छ । अब कहिलेसम्म मेलेम्चीको पानीको आशमा उपत्यकाका जनता काकाकुलको अबस्थामा रहनुपर्ने हो थाहा छैन ।

 

    राणाकालीन सयममा फर्पिङबाट ल्याइएको जलबिद्युतले उज्यालो पारेको काठमाडाै‌‌ उपत्यकामा अहिले भारतबाट बिजुली खरिद गरी लोडसेडिङ हटाइएको छ । जलविद्युतमा संसारको दोश्रो ठूलो सम्भावना बोकेको नेपालमा बिजुली भारतलाई बेचेर पैसा कमाउने हल्ला अहिले हल्लामात्र साबित भएको छ । नेपालको बिजुली बेच्ने कल्पना अझ पनि धेरै समयसम्म कल्पनामात्रै हुने देखिन्छ । यो पनि  नेता तथा कर्मचारी भित्रको कमिसन, भ्रष्टाचार तथा सरकारको गलत नीतिको कारणले जनताले आफूले चाहेअनुसार बिद्युतबाट बत्ती बाल्न र खान पकाउन पाएका छैनन् । कमसेकम भारतबाट बिजुली खरिद गर्न नपरेमा र खाना पकाउन ग्यांसलाई बिस्थापन गरी बिद्युतबाट खाना पकाउन पाइएमा देशले धेरै बजेट घाटा बेहोर्नुपर्ने थिएन ।

 


    तात्कालीन उपत्यकाको थोरै जनसंख्याबाट निस्केको फोहोर बालेर र बारीमा हालेर सकिन्थ्यो । मानिसको मलसमेत बारीमा हालेर त्यसबाट सप्रेका काउली र मुला निकै स्वादिष्टसँंग सबैले खाइरहेकै हुन् । अहिलेसम्म फोहोर फाल्ने प्रबृति नबदलिएकोले शहरको फोहोर ब्यबस्थापन हुनसकेको छैन । कमसेकम बिकसित देशको सिको गरेर भएपनि फोहोरलाई रिसाइक्लीङ नगरेसम्म फोहोरको स्थायी व्यबस्थापन हुनसक्तैन । अहिले केही नगरपालिकाहरुले फोहोरबाट मोहर बनाउने नीति बनाउन थालेपनि उपत्यकाका मेयरहरुले यस कार्यलाई किन ढिला गरिरहेको छन् जनताले बुझ्न सकेका छैनन् । 

 


    सर्बसाधरणदेखि बिशिष्ट व्यक्तिको उपचार गर्ने बीर अस्पताल अहिले महत्वहीन बनाइएको छ । च्याउजस्तै बनेका अत्यन्तै खर्चिला नर्सिङ होम र निजी अस्पतालबाट केहि हुने खानेलाई सुबिधा भएपनि सर्बसाधरण जनता ऋण लिएर भए पनि भारतका अस्पताल धाउने प्रबृति बढेको छ । कमसेकम सरकारी अस्पतालको स्तरोन्नति गरि कमसेकम बीर अस्पताललाई सबै किसिमका उपचार गर्नेगरी यस्को गुणात्मक विस्तार गर्न सरकारले शीघ्र पहल लिइयोस । जसले गर्दा बर्सेनि करोडौं रुपैयाँ उपचारको लागिमात्र भारतलगायतका अस्पतालमा खर्च गर्नु पर्ने थिएन ।

 


    सहरको जनसंख्या बढेअनुसार चोरी, तस्करी, प्रदूषण अत्याधिक बढीरहेको छ । यस्को निराकरणको लागि इमान्दार, नैतिकवान, अनुशासित प्रशासन प्रहरीको आबश्यकता छ । शहरको प्रदुषण हटाउन शहरभित्रबाट फ्याक्ट्री  पुराना सवारी साधन हटाउनको साथै सबै सडक गल्लीहरुमा पीच लाउन अत्याबश्यक छ ।  सडक छेउहरुमा रुख बिरुवा लगाई हरियाली बनाउन सके प्रदूषण धेरै मात्रमा घट्ने छ । पंचायती व्यबस्थामा  भएका रुखबिरुवाहरु मासिए तर त्यसठाउँमा नयाँ बिरुवा लगाइएन । त्यस्तै गरेर सरकारी जग्गाहरुमा पार्कहरु बनाइ कमसेकम बिहान बेलुका स्वच्छ हावा लिने ठाउँहरुको संख्या बढाउन पनि महानगरपालिकाले पहल लिओस । पंचायती व्यबस्थासम्ममा भएका गौचरणहरु मासिएर छाडा गाईबस्तुहरु सडकमा थुप्रिएर बसेका भेटिन्छन् यसले गर्दा पनि ट्राफिक व्यबस्थापनमा ज्यादै बाधा पुगिरहेको छ ।

 

 

त्यसैले महानगरपालिका तथा नगरपालिकाहरुले यस्ता छाडा गाईबस्तुको ब्यबस्थापन गर्नु अहिलेको समयमा अत्यन्त आबश्यक छ । समयअनुसार व्यबस्थापन नगर्दाको हालत हामी सबैले भोगिरहेका छौ ं। अब संघीय सरकार तथा महनगरपालिकाले जनताका यी आधारभूत कुराहरु महशुस गरी समयअनुसार कारबाही अघि बढेमा देशले सहि बाटो लिन खोजेको भान जनतामा अनुभूति हुनसक्छ । 

 

चाबहिल सरस्वतीनगर काठमाण्डौ

[email protected]