कभर स्टोरी मेरो परिवार मेरो कथा

जनयुद्धमा पति बेपत्ता भए, अहिले जीवनको भर खेतीपाती (भिडियोसहित)

  • कञ्चन न्याैपाने/सुमन काेइराला

काठमाडौं । दशवर्षे माओवादी जनयुद्धमा आधारित धेरै फिल्म बने । समाचार छापिए ।  कथा बुनिए । डकुमेन्ट्रीहरू पनि बने । यतिमात्र होइन माओवादी सशस्त्र युद्धको जगमा आयोग, एनजिओ, आइएनजिओ खडा भए । तर, अधिकांश पीडितहरू द्वन्द्वको व्यथा जस्ताको तस्तै भएको बताउँछन् । आयोगका कर्मचारीले तलब पकाउने, पत्रकारले विषय पाउने र आइएनजिओले आँशुको नाममा डलरको खेती गर्नेबाहेक केही राहत नभएको उनीहरूको बुझाइ छ । शहीदको काँध चढेर सत्तामा पुगेकाहरूले पीडित परिवारलाई न्याय गर्न नसकेको गुनासो अधिकांश पूर्वलडाकुको छ । 

 

बेपत्ता र द्वन्द्वपीडितका कथा गल्लीगल्लीमा भेटिन्छन् । सबैका व्यथा उही तर कथा फरक । तर, यहाँ एकजनाको मात्रै कथा छ, बेपत्ता श्रीमान् कुर्दै पछिल्लो १५ वर्षसम्म एकल जीवन काटिरहेकी रेखा बास्तोलाको । उनको वास्तविक नाम टीका बास्तोला हो । ‘रेखा’ पार्टीले दिएको नाम । उनको खुशी यही नाममा छ । किनकि जवानीका दिनहरू यहि ‘रेखा’ उपनामसँग गाँसिएका छन् । 

 

२०३८ सालमा सोलुखुुम्बुमा जन्मिएकी बास्तोलाले एसएलसीसम्म त्यहाँ अध्ययन गरेर काठमाडौं आइन् । बुबा नेपाल आर्मीमा थिए । कक्षा ६ देखि नै राजनीतिक विद्यार्थी संगठनमा थिइन्, उनी । विस २०५१ सालमा नै बुबाको आर्मीबाट पेन्सन भइसकेको थियो । बुबा कम्युनिस्ट विचारधारा राख्ने हुँदा त्यसको प्रभाव उनमा पनि पर्‍यो । छोराछोरीको 'क्यारियर' बनाउने शिलशिलामा लाग्दा बुबा राजनीतिमा लाग्न नसकेको उनले बताइन् । पढाइले मात्र भविष्यमा केही हुँदैन, राजनीतिमा सहभागी हुनु राम्रो हो भनेर बुबाले उनलाई प्रेरणा दिन्थे ।

 

एसएलसीपश्चात् उनी काठमाडौं आइन् । त्यतिबेला नेकपा एमाले फुटेर नेकपा माले भएको थियो । नेकपा मालेसँग सम्बन्धित रहेर उनी पार्टी कमिटीमा थिइन् । महेन्द्र रत्न कलेज, ताहाचलमा आइए  पढ्ने क्रममा कलेजको माहोल नै राजनीति गर्ने थियो । कम्युनिस्ट भनेको देशको लागि गर्नुपर्छ भन्ने छाप भएको हुनाले सच्चा कम्युनिस्ट हुनुपर्छ भन्ने मान्यता थियो उनमा । त्यही शिलशिलामा उनी सिफ्ट इकाइ समितिमा संलग्न भइन् ।

 

उनले ठीक त्यही बेलामा माओवादी विचारधाराबारे अध्ययन गरेकी थिइन् । त्यसको प्रभाव बढी मात्रामा पर्न थाल्यो । यसरी प्रारम्भिक कमिटीबाट नै उनले राजनीति सुरु गरिन् । विस २०५५ सालदेखि कुनै न कुनै रूपबाट माओवादीलाई समर्थन गर्दै आएकी उनी ०५६ सालदेखि औपचारिक रूपमा माओवादी आन्दोलनमा लागिन् । त्यहाँदेखि  २०७० सालसम्म पार्टीको जिम्मेवारीबाट आफू एकदिन पनि अलग नबसेको उनको जिकिर छ ।

 

अधिकांश द्वन्द्वपीडितलाई विगतमा माओवादीमा लागेकोमा प्रश्चताप छ । कतिपय लहैलहैमा लागेर पनि माओवादीमा पसे । कतिलाई बालअवस्थामा फकाई  फुलाई पनि पारियो । तर बास्तोला तीमध्ये फरक छन् । उनी न कसैको भनाइमा माओवादीमा लागिन न कसैको प्रलोभनमा । उनी त आफ्नो इच्छाले पार्टीमा होमिएकी थिइन् । 

 

युद्धमा जन्मिएको प्रेम, मिलन र विछोड


विद्यार्थी राजनीतिमा लाग्दा विसं २०५६ सालमा उनको भीम गिरीसँग भेट भयो । कलेजमा विद्यार्थीको ग्रुपभित्र बसेर विद्यार्थी माझ विचार व्यक्त गरिरहेको क्रममा दुईको मिलन भएको थियो । गिरी ०५२ सालदेखि नै माओवादी राजनीतिमा लागेका थिए । पछिल्लो चरणमा आएर उनीहरूले एउटै कमिटीमा रहेर काम गरे । कामकै शिलशिलामा भेट हुन्थ्यो । पछि आत्मियता बढ्दै गयो र एक अर्कालाई मन पराए । चार वर्षको प्रेम सम्बन्धपछि ०५९ सालमा विवाह भयो । दुवैको कार्यक्षेत्र काठमाडौं नै थियो । स्कुलको होस्टलको कोठमाभित्र रहेर दुईवटा मैनबत्ती बालेर पाँच मिनेटमै उनीहरूको जनवादी विवाह भएको थियो । 

 

दुवैजना भूमिगत राजनीतिमा लागेको हुँदा व्यक्तिगत जीवन र भविष्यबारे केही योजना थिएन उनीहरूको । मृत्युलाई स्वीकार गरेर युद्धमा होमिएका उनीहरूको आफ्नै ज्यानको भर थिएन । विवाह गरेको दश महिनामै गिरीलाई सरकार पक्षले समात्यो । समातिनु अघिसम्म उनीहरूको भेटघाट औंलामा गनिन सकिने जति हुन्थ्यो । 

 

२०६० मंगसिर १७ गते दिउँसोको समयमा गिरी पक्राउ परेका थिए । त्यो समय अहिले सम्झिदा पनि उनको आङ सिरिंग हुन्छ । बास्तोलाका अनुसार गिरी स्वयंकै कारणले समातिने धेरै कम सम्भावना थियो । त्यो दिन ३ बजेतिर पत्रकार साथीको मोटरसाइकलमा क्षेत्रपाटीबाट नयाँ बजारतिर झर्ने बाटोमा पुगेपछि चारैतिरबाट घेरा हालेर उनलाई आर्मीले गिरफ्तार गर्‍यो । पत्रकार छुटेर आए तर उनलाई भैरवनाथगण लगिएको भनेर भनियो । आफूू भूमिगत राजनीतिमा हुँदा बास्तोला खुलेर बाहिर आएर खोजी गर्न सकिनन् । दुवैको जिम्मेवारीलाई  लिएर अघि बढ्नुपर्छ भनेर सम्हालिइन् । परिवारका सदस्यले विभिन्न ठाउँमा पत्र पठाउँदा परिवारलाई पनि धम्की दिइयो । आफूले सक्ने जति गरे र भेट्नु पर्ने जतिलाई भेट गर्दा पनि १५ वर्ष बितिसक्दा राज्य यसको जवाफदेही हुन सकेको छैन । 

अर्को विवाह कल्पनाबाहिर

उनीहरूबीच विचारले सिर्जना भएको माया थियो । आज र भोलिका दिनमा पनि उनलाई जीवन्त राख्ने श्रीमानकै यादहरू भएको उनी बताउँछिन् । अर्को विवाह गर्नेबारे आफ्नो कल्पना बाहिरको कुरा भएको उनले बताइन् । उनलाई अझैसम्म श्रीमान् फर्किन्छन् भन्ने आशा छ । अर्को विवाहबारे प्रश्न गर्दा उनले भनिन्, ‘श्रीमान् समातिएपछि धेरै पीडा र दुःख भोगें । मान्छेले केमा रमाउने भन्ने कुरा सबैभन्दा ठूलो रहेछ । मेरो जीवनमा उहाँ आउनुभयो, मसँग रहनुभयो ,जानुभयो तैपनि मसँगै हुनुहुुन्छ । उहाँभन्दा अरू कोही मेरो जीवनमा आउने कुरा नै मेरो लागि पीडादायी हुन्छ । अर्को विवाह गर्नेबारे म कल्पना पनि गर्न सक्दिनँ । आजसम्म कुनै दिन पनि उहाँ आउनुहुन्छ, फर्किनुहुन्छ भन्ने अझै आश छ । कतिले भूत हुन्छ भन्छन् । कहिलेकाहीं त्यसकै स्वरूपबाट आए पनि हुन्थ्यो जस्तो लाग्छ । एक्लोपन बूढेसकालका लागि पीडादायी हुन्छ भन्छन्, तर मलाई यसको केही डर छैन । अहिले ३८ वर्षको भएँ , साथ पाउनुपर्ने उमेरमा त कसैको साथ पाइन भने भोलि त शारीरिक पीडा त हो । त्यसकारण म भोलीको लागि त्यत्ति चिन्तित छैन ।’

 

गिरीको परिवारबारे कुनै जानकारीबिना नै उनले विवाह गरेकी थिइन् । गिरीका परिवार सुदूरपश्चिम बजाङमा भएको कारण पनि उनीसँग सहज रूपमा सम्पर्क हुने स्थिति थिएन । २०६४ सालमा उनकी साइली जेठानी उनलाई खोज्दै काठमाडौं आएपछि भेट भयो । सासूले छोरा बेपत्ता भए पनि बुहारीको अनुहार हेरेर मर्छु भनेका कारण उनी बास्तोलालाई खोज्दै आएकी थिइन् । बास्तोला बजाङ गएर सासूलाई भेटेको ५ दिनपछि सासूको पनि मृत्यु भयो । त्यसको ४ महिनामै जेठानीको पनि दुर्घटनामा परेर मृत्यु भयो । परिवारको आश्वासन र सान्तवना पाएको केही समय मात्र भएको थियो, उनले एकपछि अर्को पारिवारिक वियोग भोग्नुपर्‍यो । जेठानीको मृत्युपछि उनका चार सन्तानको जिम्मेवारी आफैँ उठाउने निधो गरिन् । अहिले दुई छोराहरू १२ कक्षामा पढ्छन् । दुई छोरीमा एकजनाको विवाह भयो र अर्को छोरी आफ्नो खुट्टामा उभिने स्थितिमा पुगिसकेकी छन् । 

 

बेपत्ता परिवारको नाममा सरकारबाट दश लाख राहत उनले पनि प्राप्त गरिन् । त्यसबाट श्रीमान्को नाममा उनले पढेको बजाङको विद्यालयमा  एक लाखको अक्षयकोष बनाइदिएकी छन् । बाँकी रकम कृषिमै लगानी भएको छ । 

किन छोडिन् राजनीति ?

बास्तोलाका अनुसार, राजनीतिमा उनी सचेत भएरै लागेकी थिइन् । राजनीतिका चुनौती र अप्ठ्याराको लेखाजोखा गरेरै उनी औपचारिक रूपमा राजनीतिमा लागिन् । पार्टीमा जनताका लागि राम्रो काम गरिन्छ भन्ने सोचले दिलोज्यान लगाएर काम गरिन् । पछि माओवादी शान्ति प्रक्रियामा आयो । पार्टी र देशको परिस्थितिले मागेको हुँदा यसमा उनको पूर्ण सहमति छ । संविधान सभाको दोस्रो निर्वाचनपछि उनी सक्रिय राजनीति छोड्ने निर्णय गर्न बाध्य भइन् ।

त्यसपछिको स्वार्थको राजनीतिमा आफूलाई ढाल्न नसकेको उनको कथन छ ।  विशुद्ध राजनीतिबाट राम्रो परिणाम नआउने भएपछि, अस्वस्थ, अपारदर्शी र जे गर्न पनि तयार हुनेतिर नेताहरू गएको देख्दा उनी त्यहाँ बस्न सकिनन् । सुविधाको माहोलमा पनि क्रान्तिकारी बन्ने आदर्श नेताहरूमा देखिन चाहिनन् । इमान्दार व्यक्तिले त्यहाँ  रहेर काम गर्दा त्यसको कुनै मूल्य नहुने र बेवास्ताको राजनीति गर्ने परिस्थिति आइसकेपछि फरक ढंगले समाजलाई केही दिन सक्छु भन्ने हेतुले राजनीतिक सक्रियता छोडिन् । 

 

अहिले कुनै पनि नेतालाई गाली गर्ने पक्षमा उनी छैनन् । जीवनका ऊर्जाशील समय युद्धमा खर्चिएकोमा उनमा गर्व छ । भन्छिन्, ‘युद्धमा मेरो मुटु(पति) नै गुमाएँ तै पनि ग्लानी छैन ।’

 

सक्रिय राजनीति छोडेपछि....
 

सक्रिय राजनीति छोडेपछि बास्तोला सर्वहारा अवस्थामा आइन् । सँगैकी साथी भगवती प्रधानसँग मिलेर उनले कृषिकर्म गर्ने निर्णय गरिन् । नजिकका साथीहरूसँग १५ लाख ऋण लिएर दश रोपनी जग्गा भाडामा लिएर काम सुरु भएको थियो । अहिले आधाभन्दा बढी ऋण तिरिसकेको उनले बताइन् । दश लाखको वार्षिक कारोबार हुन्छ जसबाट साढे ४ लाख फाइदा हुन्छ । अबको केही वर्षमा अझै व्यवसायिक रूपले कृषिमा लाग्ने उनको सोच छ । गोलभेडा र बकुल्लाको खेती गरिरहेकी उनी कृषिबाट सन्तुष्ट छिन् । राज्यले कृषिलाई अझै प्रोत्साहन गरिदिए झनै सजिलो हुने उनको मान्यता छ ।

 

सुरुवाती दिनमा उनीहरूलाई कृषिको परिवेशमा ढल्न नै निकै गाह्रो भयो । राजनीतिक पृष्ठभूमि बनाएर देशमा केही गर्ने भन्नेबारे ठूला उद्देश्य र सपना बोकेर हिँडेका उनीहरू गोबर सोहर्न थाले, माटोसँग खेल्न थाले, मैलो हुन थाले । आफूले उत्पादन गरेर बेच्न आफैँ जान थाले । यो सबै आफैँले आफ्नै मन खुशीले गर्दा त्यसमा ग्लानी केही पनि थिएन । तर, पनि जीवनतिर फर्किएर हेर्दा लाखौँ मानिसहरूको सपना पूरा गर्न हिँडेको मान्छे आज आफ्नै जीवनको संघर्षमा लाग्ने स्थिति देख्दा वास्ताविकता पत्याउन गाह्रो हुन्थयो उनीहरूलाई । तर, समय बित्दै जाँदा कृषिमै मन बस्यो ।  अहिले यही क्षेत्रमा टिक्न सक्छौं भन्ने स्थितिमा आफूहरू पुगेको उनले बताइन् । सभामुख कृष्ण बहादुर महराले सक्रिय राजनीतिमा नलागे पनि यसरी पार्टीलाई जीवित बनाएको भन्दै प्रसंशा गर्ने गरेको उनी सुनाउँछिन् । वर्षमान पुन, लेखनाथ भट्ट, नारायणकाजी श्रेष्ठ लगायतका नेता आफ्नो कृषि फार्ममा आएको उनले बताइन् । 

 

कृषि नै किन ?

चाहेको भए उनले अन्य व्यवसायमा पनि हात हाल्न सक्थिन् । तर कृषि नै किन भन्ने प्रश्नमा उनले भनिन्, ‘नेपालमा कृषिका थुप्रै सम्भावना छन्, यसलाई उजागर गर्नुपर्छ । कृर्षिलाई हेर्ने नजर र महिलाले सक्दैनन् भन्ने दृष्टिकोण तोड्ने पनि उद्देश्य थियो । 'सिप, पूँजीबिनाको प्रतिकूल अवस्थामा पनि अनुकूलता खोज्न कृषिमा लागेकी हुँ । सहज जीवन बाँच्नलाई नेपालमै धेरै गर्न सकिन्छ भन्ने नमुना पनि कृषिले देखाउँछ’, कृषि र श्रीमान्सँगको आकृति जोड्दै उनले थपिन्, ‘हरेक बिरुवा बढ्दा त्यसमाश्रीमानको आकृति देख्छु । त्यसले पनि मलाई दिनदिनै ऊर्जा दिन्छ । दुःखपीडा भुल्न पाइन्छ । आफ्नै हातले उत्पादन गरेर खाने स्वादको बेग्लै मजा हुन्छ भनेर यसमा आएकी हुँ ।’

 

उनीसँगै राजनीतिमा लागेका सहपाठी अहिले राजनीतिको उच्च स्थानमा पुगिसकेका छन् । उनको अवस्था अहिले उस्तै छ । स्वविवेकले राजनीतिमा लागेकी उनले त्यसैलाई निरन्तरता दिएको भए अहिले कुन स्थानमा हुन्थिन् होला ? यसमा उनको पनि सहमति छ । निरन्तर लागेको भए ठूलै स्थानमा पुग्थें जस्तो लाग्छ उनलाई । तर विभिन्न असन्तुष्टिका बीच पार्टी, संगठन सबैदेखि चित्त दुखाई भएपछि पार्टीमा सक्रिय नहुनु नै ठीक ठानिन् उनले । अहिले राजनीतिभन्दा उनलाई आफ्नै कृषि कर्म नै प्यारो छ ।

टीका बास्तोला माओवादी जनयुद्ध